‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ओली सरकार आएलगत्तै बङ्गलादेशलाई बिजुली बेच्ने तयारी

काठमाडौं । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएलगत्तै बंगलादेशलाई बेच्ने तयारी सुरु भएको छ । सरकारी स्रोतका अनुसार यही साउन महिना भित्र बगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्बन्धी त्रिपक्षीय सम्झौंता हुँदैछ ।  ऊर्जा मन्त्री दीपक खड्का, भारतका विद्युत मन्त्री मनोहर लाल र बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदको उपस्थितिमा उक्त त्रिपक्षीय सम्झौता गर्ने तयारी गरिएको हो । 

​​​​​​​ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले साउन १३ मा त्रिपक्षीय सम्झौता हुने मिति तय भएसँगै निमन्त्रणा पठाएको बताएका छन् । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) लाई नेपाल विद्युत प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युतको दरसहितको बोलपत्र सम्बन्धी कागजात पेश गरेको थियो । पेश गरिएको बोलपत्र सम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बिपिडिबीले बोलपत्र स्वीकार गर्ने सूचना प्राधिकरणलाई दिएको हो । 
प्राधिकरणले सात दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बिपिडिबीलाई दिएपछि प्रक्रिया अगाडि बढेको थियो । त्यसपछि बिपिडिबीले विद्युत बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराएको थियो । मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नु पर्ने व्यवस्था रहेको छ । 

बिपिडिबीले वर्षायामको ६ महिनामा ४० मेगावाट विद्युत बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणले पेश गरेको बोलपत्र स्वीकृत गरेकाले त्रिपक्षीय सम्झौताको मिति तय गरिको हो । २०८० पुस १६ मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत बिक्रीका लागि बंगलादेश, भारत र नेपालका निकायबीच त्रिपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र आह्वान गरिएको हो । 
साउन १३ मा सम्झौता भएपछि प्राधिकरणले वर्षा यामको ६ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँचवर्षको लागि ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेशलाई विद्युत बिक्री गरेबापत प्रतियुनिट अमेरिकी डलर ६.४० सेन्ट पाउने छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा मात्रै पाउने छ ।  बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट विद्युत प्राधिकरणले नै व्यहोर्ने भएको छ । मुजफ्फरपुरबाट भारतको प्रसारणलाइनमार्फत बहरामपुर (भारत) – भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनहुँदै बंगलादेश विद्युत पुग्नेछ ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएका तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । सरकारी तहमा बंगलादेशसँग सांकेतिक रूपमा पहिलो चरणमा हुन लागेको विद्युत व्यापारले आगामी दिनमा क्षेत्रीय रूपमा ठूलो परिमाणमा व्यापारलाई सहयोग र सहजीकरण गर्नेछ भने अर्कोतर्फ यसले विद्युत व्यापारका अरु धेरै बाटाहरु खुलाउने विश्वास लिइएको छ । बंगलादेशले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको पाँच सय मेगावाट विद्युत लैजाने बताउँदै आएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ११ : २७ बजे