सुनको मूल्यमा नयाँ कीर्तिमान

काग्रेंसमा किचलो : विधानविपरीत सदस्यता बाँडेर पार्टी कब्जा गर्न खोजिएको पौडेल पक्षको निष्कर्ष

काठमाडौं । महाधिवेशन नजिकिँदै जाँदा नेपाली काँग्रेसमा विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको भन्दै किचलो सुरु भएको छ ।

काग्रेंसका  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आज बसेको बैठकले संस्थापन पक्षले  समायोजनका नाममा पार्टी कब्जा गर्न लागेको निष्कर्ष निकालेको छ । बैठकले संस्थापन पक्षले पार्टी कब्जा गर्नैका लागि विभिन्न जिल्लामा अन्य पार्टीबाट प्रवेश गरेको भन्दै हजारौँ व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाएको हो ।

समायोजनका नाममा आएका क्रियाशील सदस्यताको विवादबारे समायोजन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग वरिष्ठ नेता पौडेल लगायतले आज छलफल गर्नुभएको थियो । 

अनुपम फुडल्याण्डमा भएको छलफलमा महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मिनेन्द रिजाललगायत थिए । समायोजन समितिका सदस्यहरू दिलेन्द्र बडु , दीपक गिरी, छानबिन समितिका सदस्यहरू प्रदीप पौडेल, जीवन परियार, कल्याण गुरुङ लगायतका नेताहरू बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा शीर्ष नेताहरूले विधानविपरीत आएका सदस्यताबारे कडा ढङ्गले प्रस्तुत हुन समितिका सदस्यहरूलाई निर्देशन दिनुभएको छ । 

विभिन्न पार्टीबाट प्रवेश गरेका भन्दै मनपरी ढङ्गले दिइएको क्रियाशील सदस्यताका कारण काँग्रेसभित्र काँग्रेस नै अल्पमतमा पर्ने देखिएको भन्दै नेताहरूले त्यस्ता सदस्यता कायम हुन नदिने विषयमा कडा ढङ्गले प्रस्तुत हुने निष्कर्ष निकालेको छ । 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ४ : २० बजे