सुनको मूल्यमा नयाँ कीर्तिमान

माओवादीका पुर्व नेता सर्वोच्चको फैसलापछि मात्रै निर्वाचन आयोग जाने

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा (एमाले) मा रहनुभएका नेताहरु सांसद पदबाट पदमुक्त हुनुभएपछि उजुरी दिन निर्वाचन आयोग जाने तयारी गर्नुभएको छ । माओवादी केन्द्र पार्टी नै अवैधानिक भएकोभन्दै उहाँहरुले अवैधानिक पार्टीले गरेको कारवाही फुकुवाको माग गर्दै आज आयोग जाने तयारी  गरेपनि अन्तिममा आएर अदालतको फैसलापछि जाने निर्णय गरेको नेताहरुले बताएका छन् ।

निर्वाचन आयोगमा जाने सबै प्रक्रिया र तयारी पूरा भएपनि सर्वोच्च अदालतको फैसला कुरेर मात्र आयोग जाने नेताहरुको तयारी रहेको पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव केशव रायमाझीले जानकारी दिनुभयो । 
 
“निर्वाचन आयोग जाने सबै तयारी र प्रक्रिया पूरा भएर नेताहरु बस्नुभएको छ, सर्वोच्च अदालतको फैसला के आउँछ त्यो हेरेर मात्र उजुरी दिने–नदिने टुङ्गो लाग्छ” उहाँले भन्नुभयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाबारेको फैसला असार २८ गते सुनाउने भएको छ । “सर्वोच्च अदालतले निर्वाचनमा जाने फैसला गरेमा आयोग जानुको अर्थ रहँदैन, तर प्रतिनिधिसभा पुनस्र्थापना भएमा सर्वोच्च अदालत र आयोग दुवै ठाउँमा उजुरी लिएर जाने तयारी भएको छ” रायमाझीले भन्नुभयो ।
 
माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणी थापा, गौरीशंकर चौधरीको सांसद पद गुमेको थियो । माओवादी केन्द्र लामो समयसम्म महाधिवेशन नगरेको, दल ऐनअनुसार कुनै प्रक्रिया पूरा नगरेको अवैधानिक दल भएकाले त्यस्तो दलले गरेको कारवाही पनि अवैधानिक हुने भन्दै आफूहरु अदालत र आयोग दुवै ठाउँमा उजुरी गर्न जाने तयारी गरेको प्रमुख स्वकीय सचिव रायमाझीले जानकारी दिनुभयो ।
 
निर्वाचन आयोग जाने विषयमा सामान्य छलफल भएपनि कहिले जानेबारे आफूलाई जानकारी नभएको पूर्वमन्त्री गौरीशंकर चौधरीले बताउनुभयो । आफू चार दिनदेखि गृहजिल्ला कैलालीमा रहेकाले त्यसबारे खासै जानकारी नपाएको चौधरीले बताउनुभयो । 
 
सोहीअनुसार पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस सल्लाहकार किरण भट्टराईले पनि निर्वाचन आयोग जाने समाचार मिडियामा सुनिए पनि आजै निर्वाचन आयोग जाने नजाने बारेमा कुनै तयारी नभएको बताउनुभयो । 
 
 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १ : ४७ बजे