सुनको मूल्यमा नयाँ कीर्तिमान

सहमति खोज्दै एमाले कार्यदल, आज पुनः बैठक बसेर थप छलफल हुँदै 

काठमाडौँ । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले मंगलबार पनि छलफल गरी सहमतिका आधार तय गर्न परामर्श लिएको छ । 

कार्यदलको बैठक आजबिहान पुनः बसेर थप छलफल हुने जनाइएको छ । 

कार्यदलका सदस्य एमालेका सचिव गोकर्णराज विष्टले छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदलको बैठक शुरु भएको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न मंगलबार साँझ ५ बजेसम्म समय दिइएको थियो त्यसै सन्दर्भलाई लिएर  कार्यदल सक्रिय भएको हो । 

नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र  विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा.भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त हुनुहुन्छ । अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो ।
         

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : ४२ बजे