साफ यू–१७ च्याम्पियनसिप आजदेखि

हरिणको अवैध शिकार गरेको आरोपमा दुई पक्राउ

झापा – वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन्  । पक्राउ परेका दुबैसहित आठ जनाले सोमबार अभिमुक्तेश्वर सामुदायिक वनमा रहेको हरिण मारेर खाएको प्रहरीले जनाएको छ । 

    हरिण मारेर घरमा छाला सुकाइरहेको खबर पाएपछि पथरिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हास्दा र टुडुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिनुभयो । सो घटनामा संलग्न अन्य व्यक्ति फरार रहेको र उनीहरुको खोजतलास भइरहेकोे उहाँले बताउनुभयो । पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय झापामा बुझाइने प्रहरीले जनाएको छ ।

    झापाको जलथल र निचाझोडा जङ्गलमा हरिण, बँदेललगायत वन्यजन्तुको अवैध शिकार हुने गरेको स्थानीयवासी बताउँछन् । वन्यजन्तुको मासु शहरका होटल र उच्च घरानाका व्यक्तिले महँगो मूल्यमा खरिद गर्ने भएकाले चोरी शिकारीमा लागेकाहरु सक्रिय हुने गरेका छन् ।

रासस

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १० : ४७ बजे