साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोभिडविरुद्धको लडाइँमा खटिन पार्टीपंक्तिलाई प्रधानमन्त्री एवं अध्यक्ष ओलीको निर्देशन 

 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न सिंगो पार्टी पंक्ति सक्रिय हुन निर्देशन दिनुभएको हो   ।

अध्यक्ष ओलीले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड–१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको बैठकपछि एमाले प्रवक्तासमेत रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  जानकारी दिनुभयो ।

बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने , नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका  सरकारले गरिरहेको कामको बारेमा जानकारी दिइएको थियो ।  स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाईका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेकोबारे पनि बैठकमा जानकारी दिइएको बताइन्छ ।

‘लकडाउन आफैंमा अन्तिम समाधान होइन । त्यसैले सकेसम्म मुलुकभर लकडाउन नगरी कोभिड महामारीको सामना गर्ने तयारी छ’, ज्ञवालीले भन्नुभयो ।

भर्खरभर्खर अर्थतन्त्र तंग्रिन थालेको हुनाले सकभर अर्थतन्त्रमा, मानिसको जीविकामा प्रतिकूल प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको ज्ञवालीले बताउनुभयो।

हटस्पटहरुमा आंशिक लकडाउन हुनसक्ने सम्भावना भने रहेको उहाँले बताउनुभयो । आफूहरुको आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने रहेको ज्ञवालीले बताउनुभयो।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : २८ बजे