सुनको मूल्यमा नयाँ कीर्तिमान

कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्छ : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताउनुभएको छ ।    

नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित ‘कांग्रेस महाधिवेशन र श्रमजीवी’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले लोकतन्त्र स्थापनमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । 

पूर्व उपप्रधानमन्त्री कोइरालाले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि हरेक आन्दोलनमा श्रमजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्ने बताउनुभयो । 

वर्तमान सरकारले श्रमिकको समस्या समाधान गर्न नसकेको उहाँको भनाइ थियो । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको रुपान्तरणका लागि श्रमिकको महन्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । पार्टी र श्रमिक सँगसँगै गएमात्र पार्टी बलियो हुने उहाँको भनाइ थियो । प्रवक्ता शर्माले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले दुई तिहाइ बहुमतसाथ स्थापना भएको वर्तमान सरकारले जनताको संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताउनुभयो । 

केन्द्रीय सदस्य सीता गुरुङले श्रमिकसँग कांग्रेसलाई जोड्न सकेमात्र पार्टी र लोकतन्त्र बलियो हुने बताउनुभयो । ट्रेड युनियनका पुस्कर आचार्यले कांग्रेसले श्रमिक पक्षीय नीति निर्माण गरी वडा तहदेखि केन्द्रसम्म श्रमिक प्रतिनिधित्व गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष अजयकुमार राई, केन्द्रीय सदस्य बलदेव तामाङ, प्रदेश २ का अध्यक्ष लक्ष्मण कुर्मीलगायतले श्रमजीवीको मुद्दा  र उपस्थिति गराउने विषयमा कांग्रेस नेतृत्व उदासिन रहेको बताउनुभएको थियो । रासस

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ७ : २५ बजे