सुनको मूल्यमा नयाँ कीर्तिमान

एमालेको केन्द्रिय कमिटी बैठक आज बस्दै, नेपाल समूह नजाने

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक आज बस्दैछ । बुधबार बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो। बैठक आज विहान ११ बजे बस्ने तय भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो।  बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको हो ।

तर एमालेका नेता माधव नेपाल समूहले भने आजको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने स्पष्ट पारेको छ । हिजो बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो । महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै २० जना सदस्य थपिएकोमा नेपाल खनाल समूहले असन्तुष्टि जनाउदै आएका थिए । बैठकले केन्द्रीय कमिटीमा सदस्य थप्ने संस्थापनको निर्णय अवैध भन्दै पुरानै संरचनामा फर्कनुपर्ने अडान राखेको छ। बुधबार एमाले संस्थापनको बैठकले माओवादी केन्द्र छाडेर एमालेमै बसेकासहित ८ जनालाई स्थायी कमिटीमा र २० जनालाई केन्द्रीय कमिटीमा थपेको थियो।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : ०४ बजे