मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । 

केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ ।

बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ । 

यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिनुभयो । “खोलाको बहाव बढिरहेको छ । 

अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भन्नुभयो ।रासस

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ९ : ३१ बजे