‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अत्यधिक गर्मीका कारण क्यानडामा ज्यान गुमाउनेको सङ्ख्या ६० नाघ्यो

काठमाडौँ । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृत्यु भएको छ।

ब्रिटिस कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ र त्यसमा ज्येष्ठ नागरिकहरू धेरै छन्।

बिबिसीका अनुसार उक्त क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको बताइएको छ। ब्रिटिस कोलम्बियास्थित लीटनमा तापक्रम आइतबार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो।

यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन।

भ्यानकुभरको बाहिरी बस्ती रहेको बर्नेबीमा रहेका रोयल क्यानेडियन माउन्टेड प्रहरी माइक कलान्जले भने, ''आफ्ना छिमेकी, परिवारका सदस्य, ज्येष्ठ नागरिकको के भइरहेको छ, खोज्नुहोस्।''

''यो मौसम हाम्रो समुदायका जोखिममा रहेका सदस्यहरूलाई घातक हुनसक्ने हामीले देखिरहेका छौँ, खास गरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा छन्। यस्तो अति गर्मीका बेला हामीले एक अर्काबारे बुझ्नु अति आवश्यक छ।''

बर्नेबीमा मात्रै प्रहरीले एक्कासि मृत्यु भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको बताएको छ र त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिसहरू छन्।

ग्लोब र मेल पत्रिकाले जनाए अनुसार ब्रिटिस कोलम्बियाका प्यारामेडिकहरूले आइतबार तापक्रम बढ्दा समस्या भएको भन्दै एक सयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेका बताएका थिए।

इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिस कोलम्बिया र अल्बेर्टालाई चेतावनी सहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तर पश्चिमी भू-भागलाई पनि सूचना जारी गरिएको छ।

त्यस्तै अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा तापक्रम बढी छ। सन् १९४० यता तथ्याङ्क राख्न थालेयता अहिले त्यहाँ सबैभन्दा बढी तापक्रम पुगेको छ।

अमेरिकाको न्याश्नल वेदर सर्भिसका अनुसार ओरेगनको पोर्टल्याण्डमा तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ भने सियाटलमा ४२.२ पुगेको छ।

गर्मी यति बढी छ कि तारहरू पग्लिएका छन् र त्यसै कारण आइतबार पोर्टल्याण्ड स्ट्रीटकार सेवा बन्द गरिएको थियो। सियाटलका एक बासिन्दाले समाचार संस्था एएफपीसँग बोल्दै वासिङ्टनस्थित सहरको मौसम मरुभूमिजस्तो महसुस भएको बताएका छन्।

विज्ञहरूले जलवायु परिवर्तनका कारण अति गर्मी वा अति जाडो जस्ता मौसमहरूको क्रम बढ्ने ठानिएको बताएका छन्। यद्यपि कुनै एउटा घटनालाई विश्वव्यापी तापमानवृद्धिसँग जोड्न भने जटिल रहेको उनीहरू बताउँछन्।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : ५८ बजे