साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

जातीय बिग्रहको परिणाम भोग्दै म्यानमार

चुनावमा शानदार जित हासिल गरेर सत्ता सम्हाल्ने तैयारीमा रहेको आङ साङ सुकी नेतृत्वको नेशनल लीग फर डेमोक्रेसी (एनएलडी)लाई गत १ फरवरीमा पाखा लगाउँदै संकटकाल लगाएर म्यान्मारमा सेनाले शासन आफ्नो हातमा लिएपछिको पीडा त्यो देशले अहिले झेलिरहेको छ । सत्ताको हर्ताकर्ता सैनिक कमाण्डर इन चीफ मीन आङ हलिङ बनेका छन् । 

सेनाले एनएलडी नेतृ सुकीले  चुनावमा व्यापक धाँधली गरेको, सुरक्षा सम्बन्धी गोप्यता भंग गरेको, अनाधिकृत रूपमा सञ्चार उपकरण प्रयोग गरेको जस्ता अभियोग लगाएको छ । यद्यपि, सेनाले मिति नतोकीकन उपयुक्त समयमा स्वच्छ चुनाव गर्ने कुरा दोहोर्‍याउँदै आएको छ । तर, विगतमा लामो समयसम्म शासन गरेको सेनाप्रति आममानिसहरु विश्वस्त देखिँदैनन् ।  सेनाको दमनको विरुद्ध जनआक्रोश तीव्र देखिइरहेको छ । लगभग १ हजार मानिसले ज्यान गुमाइसकेका छन् भने हज्जारौं मानिसहरू सैनिक दमनबाट बच्न छिमेकी देशतिर पलायन गरिरहेका छन् । यसरी अहिले म्यानमार अशान्त छ ।

सेनाको बढ्दो हिंसाका विरुद्ध प्रतिरोधी गतिविधिहरू पनि देशव्यापी रूपमा तीव्र हुँदै आएका छन् । विभिन्न जातिका नाममा सक्रिय सशस्त्र समूहहरूले पनि सेनाका विरुद्ध चलेको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्न थालेपछि त्यहाँ गृहयुद्ध झन् जटिल मोडतिर अगाडि बढेको देखिंदैछ । 

मार्च २७ देखि १८जुनसम्म सेनाका विरुद्ध यंगुन क्षेत्रमा मात्रै ३० भन्दा बढी स्थानहरूमा सशस्त्र छापामार हमलाहरू भकाएछन् । म्यानमारको हिंस्रक अवस्थाबारे अन्तर्राष्ट्रियस्तरमा चासो व्यक्त गरिएको छ । अमेरिका लगायतका केही देशहरू सैनिक शासकप्रति कठोर रूपमा प्रस्तुत हुन खोजेको देखिन्छ । तर, आशियानका सदस्य देशहरू भने तत्काल हिंसालाई रोक्न प्रयत्न गरिरहेका देखिन्छन् । चीन, रुस जस्ता देशहरू हिंसाको विरोधमा रहे पनि बाहिरी  हस्तक्षेपको विपक्षमा छन् । यसले म्यानमारको समस्यामा भूराजनीतिक छाँया पनि परेको छ ।          

विगत केही दशकदेखि म्यानमारको चीनँंसग व्यापार र विकासको साझेदारी बढ्दो छ । सेना र राजनीतिक पार्टीहरूको चीनसँग नजिकको सम्बन्ध रहँदै आएको देखिन्छ । सुकी लोकतान्त्रिक नेताका रूपमा परिचित भएको हुनाले भारत लगायत पश्चिमाहरूको सहानुभूति उनीप्रति रहँदै आएको थियो, तर रोहिंगिया मुसलमानहरूमाथि भएको दमनमा सुकीले सेनाको बचाउ गरेकी हुनाले उनको आलोचना भएको थियो । म्यान्मारमा आफ्नो प्रभावमाथि कतैबाट जोखिम आइलाग्ने हो कि भन्ने आशङ्का चीनको छ । यसले चीनको प्रभावलाई रोक्न यो क्षेत्रमा क्वाड, इण्डो प्यासिफिक रणनीति, बिमेष्टिक जस्ता समूहहरू सक्रिय गराइरहेको अमेरिका र उसका सहयोगी भारत, जापान जस्ता देशहरू म्यानमारको अस्थिरताले चीनलाई कुनै पनि अर्थमा फाइदा नपुगोस् भनेर सतर्क देखिन्छन् । सामुद्रिक आवागमनका दृष्टिले हिन्दमहासागरको यो क्षेत्र निक्कै नै महत्त्वपूर्ण मानिन्छ । यो जलक्षेत्र पश्चिम एसियासँग पश्चिमेली मुलुकहरूको व्यापारको मुख्य मार्ग हो । उनीहरू यो मार्गलाई सुरक्षित राख्न चाहन्छन् । चीन सागरमा आफ्नो गतिविधि तीव्र पारेको चीनले भारतको अण्डमान निकोबार द्वीप समूहभन्दा २० किलोमिटर उत्तरमा अवस्थित ७.९ वर्गमील क्षेत्रमा फैलिएको म्यानमारको  कोको द्वीप समूहमा चीनले सन् १९९४देखि नै लीजमा लिएर हवाई आधार र अत्याधुनिक राडर प्रणाली जडान गरेकोले पनि चीनप्रति सशंकित छन् । त्यसैले, म्यानमारको समस्यालाई सावधानीपूर्वक नसुल्झाउने हो भने जोखिम बढ्नेतर्फ उनीहरू सतर्क देखिन्छन् । लोकतन्त्रको मुद्दालाई सबै भन्दामाथि राख्दा कठोर शासन भएको चीनलाई म्यान्मारमा अलोकप्रिय बनाउन सकिने उनीहरूको बुझाइ रहेको देखिन्छ । रुसी प्रतिनिधिको आतिथ्यमा भारत, चीन र आशियानका सदस्य देशहरूका प्रतिनिधिहरूको सेनाले पारिम्परिक रूपमा हरेक वर्ष २७मार्चमा मनाउँदै आएको समारोहमा यसपालि पनि सहभागिता जनाइनुले म्यानमारबारे छिमेकी देशहरूको दुबिधालाई स्पष्ट पार्दछ । उक्त समारोहकै दिन झन्डै १ सय जना मानिसहरू सेनाको कारबाहीमा राजधानी बाहिर मारिएका थिए ।            

 

 धेरैलाई लाग्दो हो, अहिले म्यान्मारमा सेनाले शासन हत्याउने काम गरेर नै समस्या उत्पन्न भएको हो । वास्तवमा यो समस्याको जरो जातीय विग्रह नै हो भन्न सकिन्छ । सन् १९६२देखि २०११सम्म एकछत्र शासन चलाएको तात्माड अथवा जुन्ता भनिने सेना र अब फेरि सत्ता हातमा लिएको यो तागतले जातीय विग्रहको खतराको बहानामा सत्ता चलाउँदै आएको हो । यस अघि सैन्य शासनप्रति जनआक्रोशको लहर उठ्ने गरेको भए पनि सेनाले दमन गर्दै आएको छ ।  कुनै समयमा धानको उत्पादनमा विश्वमा कहलिएको यो देश प्राकृतिक सम्पदाहरूले सम्पन्न छ । यस्तै खिचातानीका कारण विकासमा यो क्षेत्रमा सबैभन्दा पछाडि छ ।

त्यहाँ १ सय ३५ भन्दा बढी विभिन्न खालका जातिहरू बसोबास गर्दछन् । बामार जाति बर्माको सबैभन्दा धेरै जनसङ्ख्या भएको जाति हो । कुल जनसङ्ख्यामा बामारहरु ६८ प्रतिशत छन् । राज्यमा यिनीहरूकै वर्चस्व देखिन्छ । बामार, चीन, काचिन, कायिन, काया, मोन, आरकानी र सान म्यानमारका प्रमुख जातिहरू हुन् ।  विभिन्न मुख्य जातिहरूभित्र पनि कैयन् भाषिक उपजातिहरू छन् । अङ्ग्रेजी शासनताका त्यस बेलाको बर्मामा नेपालीहरूको बसोबास थियो । अङ्ग्रेजहरूले नेपालीहरूलाई सेना र पुलिसमा भर्ना गर्न प्रोत्साहन गर्थे । सन् १८२४ मार्च ५ देखि सुरु भएको पहिलो अङ्ग्रेज–बर्मा युद्धमा नेपालीहरू अङ्ग्रेजी सेनाका रूपमा लडेका थिए । दुई वर्ष चलेको लडाई २४ फरवरी १८२६मा बर्माको याण्डाबुमा अङ्ग्रेजहरूको जितपछि भएको सन्धिमा टुङ्गिएको थियो । त्यसपछि १८५२ र १८८६मा पनि युद्धहरू भए । अन्ततः समग्र बर्मामाथि नै अङ्ग्रेजहरूले अधिकार गरे र सन् १९४८ जनवरी ३ सम्म  शासन गरे । ४ जनवरीका दिन बर्मा उपनिवेश शासनबाट स्वतन्त्र भयो ।  यो अवधिदेखि नै नेपालीहरू यहाँ आएको देखिन्छ । यतिबेला नेपाली वा गोरखा भनेर चिनिने समुदायको आधिकारिक तथ्याङ्क देखिँदैन, तर २ देखि ३ लाखसम्म भएको अनुमान गरिन्छ । सन् १९४२ तिरै २ लाख नेपालीहरू बर्मामा रहेको अनुमान थियो । त्यस वरपर मच्चिएको अशान्तिमा धेरै नेपालीहरू भारत र नेपालतिर विस्थापित भएका थिए । त्यहाँबाट थाईलैण्डतिर पनि नेपालीहरू विस्थापित भएका छन् ।        

सन् १९३७ मा अङ्ग्रेजहरूले त्यसबेला बर्माको नामबाट चिनिने म्यानमारलाई भारतबाट अलग बनाएर शासन गर्न थाले । यो भूमि दोस्रो विश्वयुद्धको रणमैदान बन्यो । भारत उपनिवेश शासनबाट मुक्त भएको अर्को वर्ष अर्थात् सन् १९४८मा बर्मा पनि अङ्ग्रेजी शासनबाट मुक्त भयो । सन् १९६२सम्म बर्मामा लोकतान्त्रिक अभ्यास भयो । तर, २मार्च १९६२मा जनरल ने विनको नेतृत्वमा सेनाले सत्ता आफ्नो हातमा लियो । त्यसपछि आज पर्यन्त सेना म्यानमारको सत्तामा हालीमुहाली गर्दै आएको छ ।     

स्वतन्त्रताको लहर चलेको यस समयमा त्यहाँका विविध जातिहरूमा आफै स्वायत्त बन्ने चाहना मुखरित हुनु स्वाभाविक नै थियो । त्यसैले, विभिन्न जातिहरूले आफ्ना सशस्त्र लडाकु दस्ता बनाएर सङ्घर्ष चलाउन थाले । बर्मा संसारमा सबैभन्दा लामो समयसम्म गृहयुद्धको सामना गर्दै आएको देश हो । यो विग्रहले बर्मालाई आन्तरिक रूपमा कहिल्यै सबल हुने मौका दिएन । यो अस्थिरताको बहानामा सेनाले सधैँ शासनमा रहने अभ्यास गर्दै आएको छ । सेनाले नै बर्माको नाम परिवर्तन गरी म्यानमार बनाएको हो । समग्रतामा सेनामाथि चौतर्फी दबाब बढ्दै गएको छ । सेनाले समयमा नै समन्वयको बाटो लिन नसके आउँदा दिनहरू म्यान्मारकालागि सुखद नहुने देखिन्छ ।     

स्वतन्त्र लेखक   

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ३ : ३० बजे