साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मदन भण्डारीसँग हल्लिएका फ्रान्सिस फुकुयामाहरु  

नेपालमा जनताको बहुदलीय जनवाद (जवज)को विकासक्रमको भ्रुण तत्कालिन नेकपा मालेको २०४६ साल भाद्र ९ देखि १४ सम्म सिराहा जिल्लाको बिष्णुपुरक्टीमा भुमिगतरुपमा सम्पन्न भएको महाधिवेशनदेखि नै भएको थियो । यो महाधिवेशनले जननेता मदन भण्डारीलाई महासचिवमा निर्वाचित गर्नुकासाथै आफना नीति सिद्धान्त र कार्यक्रममा बहुलवादको नयाँ दृष्टिकोण अगाडी सारेको थियो । यो महाधिवेशनले अगाडी सारेको लोकतान्त्रिक अभ्यास, प्रतिस्पर्धात्मक पहलकदमी र संयुक्त जनआन्दोलन मार्फत प्रजातन्त्रको पुर्नस्थापनाको सुस्पष्ट नीति अगाडी सारेका कारण नै नेपाली काग्रेस र बाममोर्चा सहितको संयुक्त आन्दोलन मार्फत २०४६ साल चैत्र २६ गते नेपालमा प्रजातन्त्रको पुर्नस्थापना भएको थियो । 

प्रजातन्त्रको पुर्नस्थापनापछि बनेको अन्तरीम सरकारले २०४७ साल कार्तिक २३ गते नयाँ संविधान जारी गरयो । यो संविधानलाई तत्कालिन नेकपा मालेले आलोचनात्मक समर्थन गरयो । त्यतिवेला यो पार्टीका महासचिव कमरेड मदन भण्डारीले संविधानकाप्रति आलोचनाका २७ बुँदा प्रस्तुत गर्नु भएको थियो । राजनीतिक आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रका, जसमा राजतन्त्र उतराधिकारीको प्रश्नदेखि जातीय, भाषिक र लैङिगक क्षेत्रका महत्वपुर्ण परिवर्तनका सवालहरु समेटिएका थिए । तर  २०६२÷६३ को आन्दोलनको बलमा पुर्नस्थापित संसदको पहिलो बैठकले २०४७ सालको संविधानकावारेमा जननेता मदन भण्डारीबाट प्रस्तुत गरिएका असहमतिका २७ बुँदाहरुको सम्वोधन गरेको थियो । हामीले इतिहासलाई तथ्यगत र बस्तुवादी हिसावले ब्याख्या र पुष्टि गर्ने हो भने, पुर्नस्थापित संसदले नेपाली म्याग्नाकार्टा घोषणा गरेको दिनमै नेपालीमा माओवादी दर्शन मान्नेहरुले समेत मदन भण्डारी वा जवजलाई स्वीकार गरीसकेको थिए ।  
   
चौथो महाधिवेशनबाट विकास भएको तर २०४९, माघ १४ देखि २० सम्म काठमाण्डौमा सम्पन्न भएको पाँचौ महाधिवेशले जवजलाई नेपाली क्रान्तिको कार्यक्रमकोरुपमा पारित गरेको थियो । १४ वटा बिशेषता ( संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष, कानूनी शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, नेतृत्व र अधिनायकत्व, जनताको बहुदलीय जनवाद, क्रान्तिका शत्रु र मित्रहरू र क्रान्तिको बाटो ) समेटिएको यो कार्यक्रमलाई निर्देशक सिद्धान्त हुदै हाल मार्गदर्शक सिद्धान्तकोरुपमा स्वीकार गरिएको छ । विश्वको कम्युनिष्ट आन्दोलन ओरालो लागिरहेको बेला, सोभियत युनियन र पुर्वी योरोपबाट समाजवादी विचार र झण्डाहरु ढलिरहेको बेला र नवउदारवादी विचारलाई अर्थराजनीतिक दर्शन मान्ने अमेरीकी राजनीतिकशास्त्री फ्रान्सिस फुकुयामाहरुले यो विचारलाई सत्तोसराप गर्दै इण्ड अफ द हिस्ट्री एण्ड लाष्ट मेन भनेर कितावहरु लेखिरहेको बेला नेपाली मौलिकता र बिशेषता सहितको माक्र्सवादको सीर्जनशील प्रयोगकोरुपमा विकास गरिएको जवज विश्व कम्युनिष्ट आन्दोलनको नवीन प्रयोग थियो । यो विचारले संसारभरका विस्तारवादी, पुँजीवादी, साम्राज्यवादी कित्ताहरुमाथि र समाजवादका विरोधी मोर्चाहरुमाथि एकसाथ हमला गरेको थियो भने फ्रान्सिस फुकुयामाहरुको विचार र मुटु समेत तर्साएको थियो । त्यसैले त बाध्य भएर साम्राज्यवादी देश भनेर किटान गरिएको अमेरीकी पत्रिका न्युजवीकले मदन भण्डारीलाई कार्लमाक्र्स अलिभ इन नेपाल भनेर उहाँको अन्र्तर्वार्ता प्रकाशन गर्न बाध्य भएको थियो ।  

विश्वका कम्युनिष्टहरुको अन्तिम लक्ष्य भनेको समाजवाद हुदै साम्यवाद नै हो । यो लक्ष्यमा पुग्न संसारभरका माक्र्सवादीहरुले अथक त्याग, वलिदान र योगदान गरेका छन । यो यात्रामा माक्र्सवादका थुप्रै प्रयोगहरु पनि भएका छन । नेपालमा पनि माक्र्सवादको प्रयोगका नाममा धेरै अभ्यासहरु भए तर जवजकै जगमा कम्युष्टिहरु अहिले यो अवस्थामा किन आइपुगे होला ? माक्र्सवादका नाममा देखिने दाहिने र देव्रे भडकावहरु किन माक्र्सवादीहरुकावीचमा टिक्न सकेनन ? यसको गहिरो समीक्षा गर्ने हो भने पनि नेपालमा जवज आवश्यकताका आधारमा प्रयोग गरिएको नयाँ सिद्धान्त थियो र त्यो सही थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । हामी कम्युनिष्टहरु जहिले पनि समाजवादकै गन्तव्यमा पुग्न यात्रा गरिरहेका छौ ।

समाजवाद जड होइन, यसको पनि मौलिकता र सीर्जनशीलता हुन्छ । बैज्ञानिक समाजवाद भन्दा अगाडी रोवर्ट ओमन, सेण्ट साइमन र चाल्र्स फुरियहरुले युटोपियन अर्थात काल्पनिक समाजवादको विकास गरेको थिए । त्यो पनि त्यतिवेलाको नयाँ प्रयोग नै थियो होला । बैज्ञानिक समाजवादको विकास पछि संसारभर पुँजीवादी वा समाजवादी धु्रवमा यसलाई बुझने र प्रयोग गर्ने सन्दर्भहरु अलग अलग छन । चीनको समाजवाद, क्युवाको समाजवाददेखि वंगलादेशले पनि आफुलाई समाजवादी देश भनेर परिचित गराउने, उतर अमेरीकन देशहरुमा र फिनल्याण्ड, नर्वे र डेनमार्कमा भएका अभ्यासहरु हेर्दा समाजवाद पनि आँखा नदेख्ने मान्छेले हाती छामेजस्तो भएको छ । नेपालमा हामीले पनि उन्मुख समाजवाद देशकोरुपमा संवैधानिक व्याख्या गरेका छौ । तर हामीले यो समाजवादको विश्लेषण जडतामा होइन, बैज्ञानिक समाजवादको आफनो मौलिकता र सीर्जनशीलतामा खोज्नु पर्दछ । बैज्ञानिक समाजबादका जड शुत्रहरु घोकेकाहरुले जवजलाई समाजवादी कार्यक्रमकोरुपमा नबुझन पनि सक्दछन, तर जवज आफैमा समाजवादी कार्यक्रम हो, र यही विचारबाट मात्रै नेपाली मौलिकता र विशेषता सहितको समाजवाद निर्माण गर्न सकिन्छ । तर बुझनु पर्ने कुरा के हो भने विचार आफैले काम गर्दैन । यसको प्रभावकारी र परिणाममुखी कार्यान्वयन अहिलेको आवश्यकता हो । आधार र उपरी संरचनाका परिवर्तनका तगाराहरु फेर्ने जिम्मा पाएकाहरुले जवजलाई अछुत दर्शनजस्तो व्यवहार गर्ने, योजना, नीति, कार्यक्रम मार्फतनै त आर्थिक सामाजिक रुपान्तरण गर्ने हो, यसका जिम्मा पाएकाहरुले उत्पादनका साधनहरुको स्वामित्व फेर्ने, उत्पादक शक्तिहरुको परिचालन गर्ने, र समग्रमा उत्पादन सम्वन्ध कसरी फेरिन्छ भन्ने कुरा थाहा नपाउने हो र नवउदारवादकै मतियार बनिरहने होे भने हामी समाजवाद, समृद्धि र सुखको बाटो कसरी हिडन सक्दछौ ? राज्य संरचनामा आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवाद निर्माणसम्मको लक्ष्य समेटिएको जवजको कार्यान्वयनमा वडादेखि केन्द्रसम्म जिम्मेवारीमा रहेका हामी सवैले एकपल्ट छातीमा हात राखेर सोचौँ त ? 

हामीले हाम्रो जिम्मेवारी मार्फत जवजले आत्मसात गरेको अर्थराजनीतिक ढाँचा निर्माण गर्न सक्यौ वा सकेनौ ? यदि सकेका छैनौ भने किन सकेनौ ? नजानेर, नबुझेर वा सिद्धान्त र व्यवहारको साङगोपाङगो मिलाउन नजानेर ? यही सिद्धान्तकाकारण अहिलेसम्म थुप्रै संख्यामा मन्त्री, माननीय, मेयर, उपमेयर, वडा अध्यक्षदेखि, योजना निर्माण, कार्यान्वयन, र राज्यका अन्य धेरै संरचनामा हामीले जिम्मेवारी पाएका छौ, तर हाम्रो दिमाग र काम गर्ने व्यवहारमा  जवज छैन भने तपाईले विद्यमान परिवर्तनका अवरोधकहरुको अवशेष नष्ट कसरी गर्न सक्नुहोला र ? हामीले आर्थिक सामाजिक रुपान्तरण गर्दे समाजवाद निर्माणको मार्गचित्र कसरी तयार गर्न सकौँला र ? एकपल्ट हामी सवैले म, म मात्र भन्यौ भने हामीले हाम्रो जननेता मदन भण्डारीप्रति र उहाँले प्रतिपादन गरेको सिद्धान्त प्रति न्याय र सम्मान गर्न सक्छौ ।          

आज विश्वभरीका राजनीतिका विश्लेषकहरु एक्काइशौँ सताव्दीमा माक्र्सवादको सान्दर्भिकता वा एक्काइशौ सताव्दीको माक्र्सवादकाबारेमा बहस गरिरहेका छन । माक्र्सवादको नयाँ संस्करणमा नेपाली माटोको मौलिकतामा हुर्र्किएको जनताको बहुदलीय जनवाद विश्व कम्युनिष्ट आन्दोलनकै एउटा नयाँ प्रयोग हो । नेपालमा हुर्किएको जवज विश्व कम्युनिष्ट आन्दोलनमा जुनरुपमा बहस र छलफल हुनु पर्ने हो, त्योरुपमा हुन सकिरहेको छैन । यदी नेपालको कम्युनिष्ट आन्दोलनमा जवज नभएको भए अहिले कम्युनिष्ट पार्टीहरुको आयतन यो रुपमा बढने थिएन । त्यस्तै विश्वका थुप्रै कम्युनिष्ट पार्टीहरु जडतामा अल्झिएर आफनो आयतन खुम्च्याइरहेको वेला हामीले जवजलाई अन्तराष्टियकरण गर्न सकेको खण्डमा यो सिद्धान्तले विश्व कम्युनिष्ट आन्दोलनलाई नै योगदान गर्न सक्दछ । त्यसैले हामीले अव त्यो दिशामा समेत काम गर्न आवश्यक छ । 

    
 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : ५९ बजे