साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

जबज : जीवनका लागि सिद्धान्तको खोजी !

समाज, राष्ट्र र सिंगो मानवजातिको लागि योगदान गरेका व्यक्तित्वहरूलाई सम्झने, पछ्याउने र सम्मान गर्ने हाम्रो संस्कृति रहँदैआएको छ । यस्ता व्यक्तित्वहरूलाई सम्झना र सम्मान गर्न खास, तिथि, वार चाहिने त होइन; तर विशेष महत्वका साथ सम्झना र सम्मानका लागि विशेष दिनको विशेष अर्थ र महत्व हुन्छ । कसलाई कहिले सम्झने भन्दा पनि कसरी र किन सम्झने भन्ने विषय महत्वपूर्ण हुन्छ । 

यस सन्दर्भमा असार १४ नेपाली जनताले, नेपाली क्रान्तिकारीहरूले सम्झने पर्ने दिनको सूचीमा पर्दछ । यो दिन जननेता मदन भण्डारीको जन्म दिन हो । हरेक वर्ष कुनै महिनाको कुनै दिन सम्झनैपर्ने केले बनाउँछ ? केले बनायो ? अरुका लागि सोच्ने, अरुका लागि गर्ने, अरुका लागि बाँच्ने र त्यही कारणले मर्नेहरूले यो सम्मान पाउँछन् र पाउनुपर्दछ । जननेता मदन भण्डारी यस्तो सम्झना र सम्मानका हकदार हुनुहुन्छ ।  

जननेता मदन भण्डारीको जन्म पूर्वी नेपालको विकट पहाडी जिल्ला ताप्लेजुङको ढुंगेसाँघुमा वि.स. २००९ साल असार १४ गते भएको हो । जन्म स्थानको विकटताले प्रतिभालाई खुम्च्याउन सक्दो रहेनछ । वहाँ जमिन्दार, व्यापारी वा उद्योगपतिको धनाढ्य परिवारमा जन्मनु भएन । आर्थिक सीमितताले पनि कर्म, कीर्ति र ख्यातिलाई सीमित पार्न सक्दो रहेनछ । वहाँ ब्राह्मण परिवारमा जन्मनु भयो । सबै जातिका लागि मार्गदर्शक बन्नु भयो । कुनै जातिविशेषमा जन्मनु पनि वाधक हुँदोरहेनछ । पुरुष हुनुहुन्थ्यो । अन्य लिंगका मानिसहरूको अधिकार र सम्मानका लागि समर्पित हुनुभयो । पहाडे समुदायमा जन्मनु भयो । तराई बसाइँ सर्नुभयो र यहाँको मर्म, दर्द र योगदान ठम्याउनु भयो । भारतमा पढ्नुभयो । नेपालको अब्बल राष्ट्रभक्त प्रमाणित हुनुभयो । औपचारिक शिक्षामा संस्कृत भाषा र धर्मशास्त्रहरू पढ्नुभयो । रूढी र अन्धविश्वास विरुद्धको खम्बा साबित हुनुभयो । नेपाली भएर जन्मनु भयो, संसारका कम्युनिष्टहरूका लागि प्रेरक चिन्तक सिद्धान्तकारका रूपमा स्वीकारिनु भयो । जननेता मदन भण्डारीको जीवन हामी नेपालीहरूका लागि, राजनीतिक क्षेत्रका लागि आशा, विश्वास र उत्साहको जीवन थियो । वहाँलाई सम्झ्mन र सम्मान गर्न सकिने अनेकौँ आयाम छन् । 

वहाँका वैयक्तिक विशेषता त स्मरणीय छँदैछन्, वहाँले मुलुक र संसारलाई दिनुभएको योगदानको क्षेत्र त्योभन्दा महत्वपूर्ण पक्ष हो । कुनै व्यक्तिको योगदान कस्तो अवस्थामा कसरी भयो भन्ने विषय महत्वपूर्ण हुन्छ । विषयलाई महत्वपूर्ण त्यतिबेलाको परिस्थितिले बनाउँछ । जननेता मदन भण्डारीका योगदानको सन्दर्भमा पनि यो विषय लागू हुन्छ । जननेताको सबैभन्दा ठूलो योगदान वहाँले प्रतिपादन गर्नुभएको विचार— ‘जनताको बहुदलीय जनवाद(जबज)’ हो ।  आजभन्दा २९ वर्षअघि प्रतिपादन भएको यो विचारलाई वहाँले विगतमा नेतृत्व दिइसक्नुभएको पाटी, नेकपा(एमाले)ले मार्गदर्शक सिद्धान्त मानेको छ । अहिले कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूका लागि सामान्य लागेको हुनसक्छ र वास्तवमा सामान्यीकरण भइसकेको छ । यो सकारात्मक कुरा हो । तर, उतिबेला एउटा कम्युनिष्ट पार्टीले बहुदलीयता स्वीकार गर्नु, अझ क्रान्तिको विचारको रूपमा स्वीकार गर्ने कुरा त्यति सहज थिएन । आजको नयाँ पुस्ताले अर्थात् २९ वर्षपछि हुर्केको पुस्ताले यस विषयमा गहिरो अध्ययन गर्न आवश्यक छ । 

बहुदल, प्रतिस्पर्धा भन्ने विषय हाम्रो नजिकैको, खुला सीमानाले अझै नजिक्याएको भारत तथा संसारका धेरै देशहरूमा बहुदलीय लोकतान्त्रिक व्यवस्था रहेको देखिजानिरहेको राजनीतिक अवस्थामा कम्युनिष्ट पार्टीभित्र बहुदलीयताको विषय सुपाच्य विषय थिएन भने एकदलीय अभ्यासका कम्युनिष्ट शासन व्यवस्था भत्किँदै थियो । प्रतिस्पर्धाको राजनीतिलाई गैरक्रान्तिकारी ठान्ने जडता एकातिर थियो भने प्रतिस्पर्धा विहिन राजनीतिक व्यवस्थाको अवसान भइरहेको थियो । सोभियत संघ (अहिले त्यो संघ छैन)लगायत पूर्वी युरोपदेखि हाम्रो नजिकैको अफगानिस्तानसम्म विस्तार भएको कम्युनिष्ट राजनीति र त्यसको नेतृत्वको समाजवादी व्यवस्था एकपछि अर्को गर्दै गल्र्याम गुर्लुम ढलिरहेका थिए । अमेरिका र अन्य पश्चिमी मुलुकहरू कम्युनिष्ट सिद्धान्त सिद्धियो, माक्र्सवादको औचित्य समाप्त भयो, संसरको कम्युनिष्ट आन्दोलन इतिहासमा थन्किए भनेर खुसी मनाउँदै थिए । त्यस खण्डका यहाँका राजनीतिक शक्तिहरू पनि त्यही लहैलहैमा थपरी बजाइरहेका थिए । कतिपय कम्युनिष्टहरू पनि नाम फेर्ने प्रस्ताव गर्दै थिए । कम्युनिष्ट दर्शन, सिद्धान्त र त्यसको आलोकमा हुने वर्गसंघर्षका पक्षपाती न्यायप्रेमीहरू निराश बन्दै थिए । अलमल्लमा थिए । अर्कोतिर, मुलुकभित्र दलविहिन पञ्चायती व्यवस्था विरुद्ध लोकतन्त्रका पक्षमा आन्दोलन अघि बढाउनुपर्ने, बढाइँदै गरेको अवस्था थियो । निर्दलीय शासनबाट आजित भएको नेपाली समाज लोकतन्त्रको उज्यालो चाहन्थ्यो । त्यसको अगुवाई गर्ने राजनीतिक शक्ति आफै निर्दलीय वा एकदलीय हुन सक्दैनथ्यो । अन्य देशका कम्युनिष्ट पार्टीहरूले यस्तो अभ्यास गर्नुपरेको थिएन र यो विषय नेपालको सन्दर्भमा नौलो थियो । यस्तो अवस्थामा क्रान्तिकारी कम्युनिष्ट सिद्धान्तमा नेपालको आन्दोलनको सार सुहाउँदो गरी १४ विशेषता थपेर जबजको कार्यक्रम अघि सार्नु भएको थियो । यी विषय पनि त्यस यता हुर्केको पुस्ताले अध्ययन गर्नुपर्ने छ । 

राजाको प्रत्यक्ष नेतृत्व रहेको पञ्चायती व्यवस्थाले प्रतिबन्ध लगाएका पार्टीहरू (नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी समूहहरू)का बीचमा आन्दोलनको स्वरूप, यसको गन्तव्यका विषयमा मत मिलिरहेको थिएन, मतभेद थियो । कतिपय कम्युनिष्टहरू राजा र पञ्चायत फालेर सोझै कम्युनिष्ट शासन ल्याउनुपर्छ भन्ने र निरंकुश व्यवस्था अन्त्य गरी विचार अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक खुलापनको लागि पञ्चायत ढाल्नुपर्ने विवादमा देखिन्थे । नेपाली काँग्रेस पनि सकेसम्म कम्युनिष्टहरूसँग मिल्न खासै रूची राख्दैन थियो । 

यस्तो अवस्थामा नेकपा(एमाले)को एउटा सशक्त घटक नेकपा(माले)मा कमरेड मदन भण्डारी नेतृत्वमा आउनु भयो र वहाँले नेपालको लोकतान्त्रिक (त्यतिबेला प्रजातान्त्रिक भनिन्थ्यो) आन्दोलन, कम्युनिष्ट पार्टीभित्रका मतभेद र प्रवृत्तिहरू, नेपाली समाजको विशेषता, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका उतार चढाउहरू, नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको पञ्चायती निरंकुशताको विरुद्धमा नेपाली काँग्रेस समेतसँग मिलेर संयुक्त आन्दोलनको गर्नुपर्छ भन्ने विचार, नेपाली काँग्रेसका नेता बी.पी. कोइरालाको मेलमिलापको नीति आदि विषयको अध्ययन र विश्लेषण गरी पञ्चायतको नाममा रहेको राजाको निरंकुश शासन विरुद्ध काँग्रेस–कम्युनिष्ट मिलेर अघि बढ्नपर्ने विचारमा आफ्नो पार्टीका नेताहरूलाई सहमत बनाउनु भयो । अन्य कम्युनिष्ट समूहहरूलाई पनि मिलाएर ‘वाममोर्चा’(कम्युनिष्ट पार्टीहरूको साझा संगठन) बनाउने निष्कर्ष पु¥याउनु भयो । त्यस मोर्चामा सात वटा कम्युनिष्ट पार्टीहरू सम्मिलित थिए । 

त्यतिबेला त्यस वाममोर्चामा रहेका कम्युनिष्ट पार्टीहरूमध्ये कमरेड मदन भण्डारी महासचिव रहनुभएको(त्यतिबेला कम्युनिष्ट पार्टीमा अध्यक्ष राख्ने चलन थिएन) नेकपा(माले) नै ठूलो, देशव्यापी जनाधार र भूमिगत संगठन भएको, शक्तिशाली पार्टी थियो । तर पनि यस वाममोर्चाको नेतृत्व अरुलाई(कमरेड साहना प्रधान) दिएर पञ्चायत व्यवस्था ढाल्न नेपाली काँग्रेस पार्टीसँग मिलेर अघि बढाउनु भयो । फल स्वरूप वि.स.२०४६ साल फागुन ७ का दिन पञ्चायती निर्ददलीय निरंकुश व्यवस्था विरुद्ध संयुक्त जनआन्दोलन सुरु भयो र चैत २४ गते ३० वर्ष (२०१७ पुस १ देखि २०४६ चैत २४ सम्म) देश र जनतालाई अन्धकारमा राखेको पञ्चायती व्यवस्था ढल्यो, बहुदलीय व्यवस्था पुनस्र्थापित भयो । देशमा संविधान मातहत राजा रहने गरी बहुदलीय व्यवस्था आयो । 

त्यसपछि २०४७ कात्तिक २३ गते बहुदलीय व्यवस्थाको संविधान जारी भयो । त्यसप्रति नेकपा(माले)ले २७ बुँदे असहमति राख्दै संविधान स्वीकार ग¥यो । अन्य कम्युनिष्ट पार्टीहरूसँग एकता भयो र नेकपा (एमाले) बन्यो । नेपाली समाज र नेपाल कम्युनिष्ट पार्टीको लोकतान्त्रिकीकरणका लागि पार्टीको कार्यक्रमको रूपमा जनताको बहुदलीय जनवाद पारित गर्ने काम भयो । जनताको बहुदलीय जनवादले यस अघिका सबै जडसूत्रभन्दा माथि उठेर कम्युनिष्ट आन्दोलनलाई सिर्जनात्मक ढंगले अगाडि बढ्ने बाटो देखायो । (यस विषयमा अन्यत्र चर्चा हुनेछ ।) यी सबैमा कमरेड मदन भण्डारीको नेतृत्वकारी योगदान रहेको छ । पछिल्ला महाधिवेशनहरूमा नेकपा(एमाले)ले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक विचार र मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गरेको हो । अनेकौँ समूह समूहमा रही बुद्धिविलासमा सीमित रहेको नेपालको कम्युनिष्ट पार्टीलाई एकीकृत, सशक्त र शासन सत्तासम्म पु¥याउन मदन भण्डारीको अतुलनीय योगदान रहेको छ । 

क्रान्तिपूर्व शासन सत्तामा सहभागी नहुने प्रचलनमा अभ्यस्तताको क्रमभंग गर्दै अन्तरिम सरकारमा सहभागी भयो । वि.स. २०४८ सालमा सम्पन्न आमनिर्वाचनमा सहभागी भई संसदको कुल २०५ सिटमध्ये ६९ सिटप्राप्त गर्न सफल भयो । त्यसपछि  २०५० सालमा सम्पन्न मध्यावधि निर्वाचनमा सिट ८९ मा विजय प्राप्त गरेर देशको इतिहासमा लोकप्रिय जनमत(निर्वाचन)मा एक्लै सरकार बनाउन सक्ने बहुमत ल्याउन नसकेको भए तापनि सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित भयो र अल्पमतको सरकार बनाउने अवसर पायो । आफ्नो गाउँ आफै बनाऔँ जस्तो सहभागितामूलक कार्यक्रम, सुकुम्बासी समस्या समाधान, जेष्ठनागरिक, एकल महिलाहरूलाई भत्ता दिने लगायतका धेरै लोकप्रिय र कल्याणकारी काम अघि बढायो । यसबाट कम्युनिष्टहरू प्रचलित लोकतान्त्रिक व्यवस्थामा पनि प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने पुष्टि गर्न सम्भव भयो वहाँको बुद्धिमत्ता, प्रखरता, समन्वयकारी नेतृत्व क्षमताको व्यक्तित्व वि.स.२०५० जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा परी वहाँको अवसान भएपछि हामीबाट खोसिएको हो । मरणोपरान्त वहाँलाई ‘जननेता’को औपचारिक शब्दसम्मान दिइएकोले हामी वहाँलाई जननेता मदन भण्डारी भन्दछौँ । 

अहिले नेकपा (एमाले)ले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त स्वीकार गरेको  जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारीले अघि सार्नुभएको हो । यस विषयमा अन्यत्र बृहत् चर्चा भएको छ, र हुनेछ । यहाँ वहाँको एउटा कालजयी भनाइ राखौँ । त्यो हो, ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्छ ।’ यो अभिव्यक्ति आफैमा बहुआयामिक अभिव्यक्ति हो । यो अभिव्यक्तिको क्षेत्रविस्तार धर्म, संस्कृति, साहित्य, चिकित्सा, शिक्षा आदि अन्यत्र पनि राखेर हेर्न र बुझ्न सकिन्छ र सक्नुपर्दछ । अहिले कतिपय मानिसहरू विभिन्न आन्दोलनका नाममा ज्यानकै कसम खाएर लागेको देख्दा लाग्छ— कठै, मदन भण्डारीको यो अभिव्यक्तिको अन्तर्य बुझ्न र बुझ्mाउन सकिएको भए !?

झ्mापा विद्रोहको शिक्षा त यस अभिव्यक्तिको स्रोत सन्दर्भ नै हुन सक्दछ ।  मदन भण्डारीको यस अभिव्यक्तिपछि धेरै मानिसको प्राणपखेरू तथा जनसुविधाका धेरै भौतिक संरचना ध्वस्त हुने गरी रोल्पाबाट उठाइएको ‘जनयुद्ध’ होस्, तराई मधेसको क्षेत्रीय पहिचानको निम्ति भएको गौरको घटना होस् या थरूवानका लागि भएको टीकापुरको घटना होस्, यति धेरै क्षति व्यहोनुपर्ने थिएन कि ? युद्ध, आन्दोलन, पहिचान त जीवनका लागि होला नि, न कि तिनीहरूका नाममा जीवनको आहुति दिन । 

आन्दोलनमा जनधनको क्षति हुँदै हुँदैन भन्ने त हुँदैन, तर हरेक आन्दोलन मानिस मर्नका लागि हुनुहुँदैन । कुनै पार्टी—शक्तिविशेषको सत्तारोहणका लागि हुने आन्दोलन र मानिसको हताहति किमार्थ राम्रो होइन । तर, सत्ताका लागि मानिसहरूलाई आन्दोलनमा उरालिएकै छ । 

सत्ता त जनसुविधाको साधन वा माध्यम हुनुपर्ने, सत्ताधारीहरूमा त्यस्तो उदाहरणीय र अनुकरणीय चरित्र देख्न कहाँ पाइएको छ त ? सत्ताका प्राप्ति, सत्ता लम्बाउने, आफ्नै लागि नभई नहुने सत्तालिप्सा र लोलुपतामा जननेताको त्यस्तो कालजयी अभिव्यक्तिको कहाँनेर के सम्मान भयो र ? सिद्धान्त, संगठन, संघर्ष र सिर्जनशीलताको ठाउँ सत्ता, स्वार्थ, सुविधा र संकीर्णताले लिएको अवस्था छ । सिद्धान्त र जीवनको द्वन्द्वात्मकता गुटगत झगडामा झाँगिएको छ । कुनै नेताको मुखबाट शब्द झर्न नभ्याउँदै   जिन्दाबाद, मुर्दावाद सुरु भइरहेको छ । मनपर्नुलाई सही र मन नपर्नुलाई गलत ठान्ने प्रवृत्तिमा वैचारिक लगाम लगाउने प्रयत्नहरू देखिँदैनन् । यसरी जननेताले अघि सार्नुभएको सिंगो जबजको त कुरै छोडौँ, सिद्धान्तका लागि जीवन होइन, ‘जीवनका लागि सिद्धान्त होइन, सिद्धान्तका लागि जीवन हुनुपछर्’ यत्ति एक पंक्ति मात्र सही ढंगले बुझाउन सक्दा धेरै मानिस सिद्धान्तनिष्ठ हुन सक्ने थिए । तर, बिडम्बना नै भन्नुपर्छ, आज पार्टीलाई यस दिशामा देख्न पाइएको छैन । 

राजनीतिक पार्टी सडकमा नारा उराल्न होइन, सत्ता सञ्चालनको नेतृत्व गर्नको लागि हो । तर, के सत्ता सञ्चालन गरिरहँदा सिद्धान्त, संगठन, संघर्ष र सिर्जशीलताका विषय स्थगित गर्नुपर्ने हो र ? सत्ता सञ्चालनको जिम्मेवारीमा रहेकाहरू सत्ता र सत्तामा आपूmलाई जोगाइराख्न र त्यसबाहिर भएकाहरू सत्तामा जानकै लागि सिद्धान्त र विचारलाई माया मारेरै लाग्नपर्ने हो र ? सत्ताका सामु विचार र अनुशासन बाख्राको घाँटीको लुर्काजस्तै हो ? कानुनी रूपमा जे, जसो होला; सैद्धान्तिक, वैचारिक, व्यावहारिक दृष्टिले पार्टी पार्टीजस्तो, कम्युनिष्ट पार्टीजस्तो, जननेताका विचारले निर्दिष्ट गरेजस्तो छ त ? कम्युनिष्ट पार्टीलाई विचार, विधान र विवेकको सन्तुलनमा चलाउनुपर्नेमा सधै विधानका पाना पल्टाउनपर्ने अवस्था नै ओह्रालो लाग्न पर्याप्त थियो । तर, अब त अवस्था कम्युनिष्ट पार्टीको निर्णय निरुपण पनि राज्यको अदालतले गर्नुपर्ने भयो । एउटै कम्युनिष्ट पार्टीका नेता वादी र प्रतिवादीका रूपमा कानुन व्यवसायीलाई मुद्दाको फाइल बोकाएर अदालत धाउनपर्ने दिन आएको छ । राज्य सञ्चालनका सिद्धान्त नै पार्टी सञ्चालनमा प्रयोग गरिएकोजस्तो अवस्था छ । वास्तविक अर्थमा जननेताले भन्नुभएको जीवन मानिसको जीवन मात्र होइन, राजनीतिको जीवन, समाजको जीवन, क्रान्तिको जीवन र जीवनको पनि जीवन हो । अहिले त्यसलाई मानिसको निजी र स्वार्थपूर्ण जीवनको अर्थ लाग्ने अवस्था दुःखद छ । यसबाट निराश भयौँ र भाग्यौँ भने जननेताको अपमान हुनेछ । बरु, यसबाट माथि उठ्ने—उठाउने अवसर जिम्मेवारी आइलागेको स्वीकार्नु र त्यसका लागि अग्रसर हुनु जननेताप्रति साँचो सम्मान हुनेछ । 

विगत सशस्त्र द्वन्दको राजनीतिक व्यवस्थापन गर्न जनताको बहुदलीय जनवादकै जगमा उभिएर सम्भव भएको हो । समग्रमा भन्दा जनताको बहुदलीय जनवाद नेपालको प्रजातान्त्रिक—लोकतान्त्रिक, कम्युनिष्ट आन्दोलनको सार हो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलका सफलता तथा असफलताबाट प्राप्त शिक्षा र अनुभवको सार हो ।  एकदलीय कम्युनिष्ट सत्ताको पक्षधर तत्कालीन नेकपा (माओवादी) र संवैधानिक राजतन्त्र नछोड्ने काँग्रेसलाई सन्तुलनमा ल्याउने नेतृत्वकारी विचार जबज नै हो । यसको रक्षा र विकास हामी सबैको दायित्व हो । 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : ०९ बजे