महान्यायाधिवक्ताले तोकेको समय सभामुख पक्षद्वारा अस्वीकार

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा विपक्षी बनाइएको सरकार र सभामुख पक्षबीचको विवाद संवैधानिक इजलासमा प्रवेश गरेको छ ।आजको सुनुवाइको अन्तिममा महान्यायाधिवक्ता रमेश बडालले इजलासले व्यवस्थापन गरेको समयमा बहस गर्नेबारे सभामुख पक्षसँग भएको असहमति जानकारी गराउनुभयो । 

महान्यायाधिवक्ता बडालले सभामुख पक्षलाई १ घण्टाको समय दिन तयार भएपनि सभामुख पक्षले अस्वीकार गरेको इजलासमा बताउनुभयो  । ‘सभामुख पक्षले रिट निवेदन जारी गर्नुपर्छ भन्नुहुन्छ हामी खारेज गर्नुपर्छ भन्छौं । उहाँहरूलाई बहसको छुट्टै समय तोकिएको छैन । हामीले १ घण्टा दिएको हो उहाँहरू मान्नुभएन’, महान्यायाधिवक्ता बडालले भन्नुभयो ।
महान्यायाधिवक्ताको भनाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सभामुख पक्षलाई १ घण्टाकै समय दिएको मानेर बाँकी १४ घण्टामा बहस सक्न महान्यायाधिवक्तालाई आदेश दिनुभयो । 

बडाललाई उत्तर दिँदै प्रधानन्यायाशीध राणाले भने, ‘ल ठीक छ । अहिलेलाई त्यहीँ १ घण्टा गरौँ, अब तपाईंहरूको १४ घण्टा भयो । अहिलेलाई यत्ति गरौँ ।’

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ४ : ५२ बजे