सुनको मूल्यमा नयाँ कीर्तिमान

माथिल्लो तामाकोशीको बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने काम आजदेखि थालिँदै

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम आजदेखि सुरु हुँदैछ ।

माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली न्यु खिम्ती सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोड्ने काम आजदेखि असार १९ सम्म सकिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २ सय २० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोड्न लागिएको हो ।

माथिल्लो तामाकोशीलाई राष्ट्रिय विद्युत् प्रणालीसँग जोड्ने क्रममा आजदेखि असार १९ गतेससम्म खिम्ती–लामोसाँघु १सय ३२ केभी प्रसारण लाइन बन्द हुने प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइन बन्द हुँदा प्रणालीमा विद्युत् अपुग हुने भन्दै प्राधिकरणले औद्योगिक ग्राहकका लागि केही समय विद्युत् कटौती हुन सक्ने जनाएको छ । यद्यपि यो अवधिमा कुलेखानी जलाशयको पानी प्रयोग गरेर जति सक्दो छिटो विद्युत कटौतीको समय कम गर्ने प्रयास गरिने पनि प्राधिकरणले सूचनामार्फत जानकारी दिइसकेको छ । 

तामाकोशीको विद्युत यसअघि सिधै ढल्केबर सबस्टेशनमा जोड्ने तयारी भए पनि अब खिम्तीमा जोडेर त्यहाँबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । आयोजनाको सुरुङ, जलाशय, बाँध लगायत भौतिक तथा अन्य प्राविधिक संरचनाको परीक्षण यसअघि नै भइसकेको छ । ४ सय ५६ मेगावाट क्षमताका ६ वटा युनिटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिनेछ ।

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १ सय ५२ मेगावाट बिजुली उत्पादन गर्नेछ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ४ : ३८ बजे