साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

मदनको त्यो बोली

कविता के हो ? कविताको शक्ति के हो ? बिम्ब के हो ? प्रतीक के हो ? सम्प्रेषणीय हुनुपर्छ भनेको के हो ? कलात्मक हुनुपर्छ भनेको के हो ? कलाभित्र विचार पानीमा चिनी घुलेझैँ घुल्नुपर्छ भनेको के हो ? 
यस्ता कुनै ‘के हो’ को पनि जवाफ नजानी म कविता भट्याउँथेँ–

पोसिएका होलान् यहाँ सुँगुरे सेठहरु 
सोसिएका होलान् यहाँ गरिबको पटेहरु….

भुँडी लागेको मान्छे देख्नै नहुने । सुटेड बुटेट मान्छे देख्नै नहुने । उपनामे न्वारान गरेर घृणा ओकली हाल्ने शोषक, सामन्ती, घुस्याहाको कित्तामा उभ्यार शब्दवाण प्रहार गरिहाल्ने । जस्तो– 
भुँडे जति घुस्याहा हुन् सामन्तका खाल 
उठ किसान उठ मजदुर आर्यघाटमा फाल । 

२०२७ सालतिर हुनुपर्छ, म भानु साझा पुस्तकालयमा काम गर्थेँ । काम ठूलो हैन, झाडु बडाएको थियो । गुरु पोखरेलका भान्जा पनि आउँथे । बनारसमा पढ्थे अरे । “यी भान्जा त आगो छन् नानी, तिमी पनि यसो सङ्गत गर ।” गुरुजीले भनेपछि म गुरुकुलको विद्यार्थी भएर पछि लागे । केही सिकाइदेलान्, भन्देलान् भन्ने ठुलो लोभ थियो । 

अँ, सिकाए त उनले एक दिन । मसिनो गरी सिकाए । सजिलो गरी सिकाए । आफू छन्दमा लेख्दा रहेछन् । तर म छन्द भन्न जान्दिनथेँ । छन्दालाई सिलोक भन्थेँ । गाउँमा सबै सिलोकै भन्थेँ । 
म केटाकेटीलाई जल्ले माया ग¥यो उही प्यारो हुन्थ्यो । म उनका मायाजालमा पर्दै रहेछु, उनी प्यारो हुँदै जाँदै रहेछन् । 

केही वर्षपछि हराए भान्जा मदन । भएन भेटघाट । बनारसमा बस्ने मान्छे बनारसी नै भए होलान् भनौं, खोजी गरिनँ । 

२०३७ सालतिर मालेले मोरङमा साहित्य संस्कृति कर्मीलाई समेटेर ‘मोरङ फुलबारी सांस्कृतिक समूह’ बनायो । इलाकाको सचिव क राजेश भए । पार्टी इन्चार्ज विश्व थिए । अनिलको नाम राजेश, गुरु बरालको नाम विश्व । अधिकांश बैठक लीला पोख्रेलकोमा हुन्थ्यो । मध्यरातपछि झ्यालढोका थुन्यो, बाहिर रेडगार्ड राख्यो, शत्रुले आक्रमण गरे  प्रतिकार गर्ने, गोपनीयता नखोल्ने प्रतिज्ञा गरो । भित्तामा लहरै पाँच प्राधिकरणका फोटा राख्यो । तनक्क छाती तन्कायो । मुट्ठी कस्यो अनि हात उचाल्यो । अझ अन्तर्राष्ट्रिय गीत गायो– 
‘उठ जाग ए भोका नाङ्गा
जाग संसारका दुःखी
सुन्दर संसार रचना गर्न
न्यायको निम्ति गर्जी…’

गीतको अन्तिम लाइन भन्द कोठै भत्काइदिऊँ कि जस्तो जोस भरिन्थ्यो–
‘अब मानिसको अन्तर्राष्ट्रिय जाति हुने छ ।’
ख्यालमजा लाग्दैनथ्यो यो कुरा, अन्तर्राष्ट्रिय जाति हुने कुरा । 

वि.सं. २०४३ मा हुने राष्ट्रिय पञ्चायतको चुनावमा पार्टीले उपयोगको नीति लिएछ । चुनावमा भाग लिने उम्मेद्वारलाई जनपक्षीय उम्मेद्वार भन्ने, जिते पञ्चायतको विरोध गर्दै जनमुखी काम गर्ने, चुनावी सभालाई पञ्च र पञ्चायतको झन्डाफोर गर्ने मञ्चको रुपमा प्रयोग गर्ने योजना रहेछ । पार्टीको यही नीति स्पष्ट पार्न मोरङको पथरी उत्तरको घना जङ्गलमा हामीलाई लगियो । 

लोटाङबाट राम भुजेल, घनश्याम खतिवडासहितको टोली, दुलारीबाट गोपाल नेपाल, श्याम राई, हरि अधिकारी, भावना गुरागाईँ, भोला बराल, ज्ञानेन्द्र ओझा, प्रदीप लम्साल र अविकेशर ओलीसहितको टोली, हरैँचाबाट पवन मुखिया, विराटनगरबाट अमर श्रेष्ठ, महेश रेग्मी, खेम नेपाली, वीरध्वज शिवासहितको टोली आपट्टेको जङगलमा भेला भयो । जङ्गलको मध्यभागमा फाँडफुँड गरेर बस्ने, खाने, कार्यक्रम गर्ने स्थान बनाइएको रहेछ । सय जनाभन्दा बढी साहित्यकार, संस्कृतिकर्मीको भेलामा नाटक देखाउने, नाटक देखाउँदा पञ्चको सुन्निएको पेटबाट अपरेसन गरेर छड, सिमेन्ट, जस्तापाता निकाल्ने, नीजलाई जनकारबाही गर्ने, इलाका–इलाका बिच प्रतियोगितात्मक नृत्य गर्ने, कविता भन्ने, गीत गाउने कार्यक्रम राखियो । 

 मइन्टोलको झलल उज्यालोमा ख्याल स्वादको कार्यक्रम भएन । सबैभन्दा बढी गुरु बराल खटे । मैले उहिल्यै चिनेको मदन भण्डारी त सागरमा पो रुपान्तरित भएका रहेछन् । चिनेँ पनि, चिनिनँ पनि । अन्तिम दिन सागरले विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरे । पुरस्कारमा अरु बेला जस्तो पेन्सिल, कलम, कापी थिएन, जुन हामीलाई विद्यालयमा दिइन्थ्यो । त्यहाँ त कसैले सारङ्गी पाए । कसैले बाँसुरी पाए । कसैले बच्छेबाजा पाए । 

तिन दसकअघि पार्टीले कति राम्रो सम्मान दिएको । कार्यक्रमको समापन सागरको मन्तव्यबाट भयो । जनताको साहित्य भनेको के हो, हामीले गाउने गीत कस्तो हुनुपर्छ, साहित्यले कसरी समाजको परिवर्तन गर्छ, पार्टी किन आगामी चुनावमा हस्तक्षेपको नीति लिएर अगाडि बढ्दै छ, चुनाव बहिष्कार गर्दा के हुन्छ, उपयोग गर्दा के हुन्छ, चुनावी सभालाई कसरी उपयोग गर्नुपर्छ, हाम्रा उम्मेद्वारलाई किन जनपक्षीय भनेको, विजयी उम्मेद्वारको दायित्व के हो, आचारसहिंता कस्तो छ, राजा वीरेन्द्र के चाहन्छन्, शान्ति क्षेत्रको प्रस्ताव किन ल्याए, बाहिर चुनावलाई उपयोग गर्दै भित्र पार्टीले कसरी काम गर्छ जस्ता विषयमा आफैँ प्रश्न गर्दै आफैँ जवाफ दिँदै गरे । पहिले एउटा प्रश्नको जवाफ दिइसक्छन्, अनि अर्को प्रश्न गरेर व्याख्या गर्छन् । भन्दाभन्दै पञ्चहरु कति फटाहा छन् भन्ने उदाहरण दिँदै भने– आदरणीय कमरेडहरु, एउटी महिला छिन् ५० वर्ष पुगेकी, पचासौँपल्ट कुमारीत्व फ्याँकेकी, मन्त्री पनि हुन्छिन् र नामका अगाडि सवर्ग सुश्री लेख्छिन् । हाम्रो नीति त्यस्तो सुश्री लेखाउने खालको होइन । 

 हाँस्यौ हामी । खुब मजाले हाँस्यौ । म वक्ताको छेउमा मुढे कुर्सीमा बसेको थिएँ । झन्डै पल्टिएँ पछाडि । 

 मोरङका सारा बुद्धिजीवीहरु थिए । हेड मास्टर थिए । प्रस्तावित उम्मेद्वारहरु थिए । जिल्लाका भूमिगत नेताहरु थिए । ए, हामीलाई त साहित्य संस्कृतिका कुरामा भुलाएर, प्रतियोगिता गराएर सागरले पार्टीको तत्कालीन कार्यक्रमको बारेमा प्रशिक्षण पो दिएका रहेछन् । कति बोलेको ? कति चाख लाग्ने गरी बोलेको ? कति विषयमा बोलेको ? खलाँतीजस्ता थियौँ जङ्गल पस्दा, भुक्क फुलेका बेलुन जस्ता भएर फर्कियौँ । विचारले, आँटले, हिम्मतले । 
अहिले पनि पथरीको बाटोमा झल्याकझुलक पुग्दा सागरको त्यो वाणी ध्वनित हुन्छ । 

 अर्को घटना छ पार्टीकै विवाहको जहाँ मदनको सन्दर्भ आउँछ । रम्भिका पौडेलको घर गाछियामा थियो । शिव माझीको घर मुर्गाटोलमा थियो । शिवजी पार्टीका कार्यकर्ता, रम्भिका समर्थक । भूमिगत भेला, बैठकमा भेट हुँदा माया बसेछ । माया झाँगिँदै गएपछि घरजम गर्ने सम्ममा  पुगेछन् । पार्टीले थाहा पायो । दुवैलाई सम्झायो तर फर्कन्नौ भनेपछि ‘ल, विवाह गरिदिऊँ न त’ भनेछन् । 

 वि.सं. २०३९ को फागुन उनन्तिस गते विवाहको टुङ्गो लाग्यो । बाँसबारीमा राधा सिक्देलको घर थियो, त्यहीँबाट पार्टी विवाह गर्ने योजना बन्यो । सामान्य भोजका लागि र अन्य अत्यावश्यक सामग्री किनियो । बेलुका कतैबाट हल्ला आयो सेल्टर असुरक्षित भयो भन्ने । हतार हतार स्थान परिवर्तन गरियो । तिनपैनीमा लीला पोख्रेलको घर थियो । उनका श्रीमान् श्रीमती नै सक्रिय कार्यकर्ता थिए । उनकै घरबाट विवाहको कार्यक्रम सारियो । विवाह स्थलमा भेला हुँदा रात छिप्पिसकेको थियो । बेहुला बेहुली, पार्टी कार्यकर्ता र घरवाला पश्चिमको कोठामा भेला भयौँ । सधैँ झैं पाँच प्राधिरणका फोटा झुन्डायौँ । बेहुला बेहुलीलाई सिन्दुर, पोते र हाते रुमाल दियौँ । पहिले भोज खायौँ मासु चिउरा । जम्मा १५ जना थियौँ । रातको २ः३० देखि कार्यक्रम सुरु भयो । प्रमुख अतिथि सागर । उनले अँध्यारोको सन्नाटा चिर्दै भने प्रिय कमरेडहरु, कम्युनिष्टलाई सबैभन्दा रुखो विचार भएको भनिन्छ । कम्युनिष्टको हृदय हुँदैन भनिन्छ, माया हुँदैन भनिन्छ । आज चारैतिरबाट कम्युनिष्टमाथि हमला बढेकोछ तर तपाईहरुले थाहा पाउनुपर्छ सबैभन्दा राष्ट्रवादी कम्युनिष्ट हुन्छ । वस्तुवादी र व्यवहारवादी कम्युनिष्ट हुन्छ । उसले जति अरु कसैले प्रेम गर्न जान्दैन तर कम्युनिष्टको प्रेम अरुको जस्तो अश्लील हुँदैन । गोरुले गाईलाई चाटेर आकाशतिर हेरे जस्तो हुँदैन । श्लील हुन्छ, शालीन हुन्छ र मर्यादित हुन्छ । यो विवाह प्रेमको प्रतीक हो । 

प्रेम शब्दसँग भागी हिँड्थेँ म त्यसपछि त प्रेमको परिभाषै बदलियो । प्रेमलाई जताततै छरिएको, मौलाएको र हुर्किएको रुपमा देख्न थालेँ । मेरो अन्तःस्करणमा सागरले सिकाएको प्रेमको खोल्सो महासागर भएर फैलिँदै गयो । 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  २ : ३३ बजे