विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

संसद विघटन मुद्दा : बारका अध्यक्ष शाक्यले बहस नगर्ने

काठमाडौं ।  सर्वोच्च बार एशोसियशनका अध्यक्ष समेत रहेका प्राध्यापक वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन मुद्दामा बहस नगर्ने हुनुभएको छ ।

शाक्यले यस अघि गत पुसमा गरिएको संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च बार एशोसियनका तर्फबाट एमिकस क्यूरीका रुपमा बहस गर्नुभएको थियो ।  यसपटक शाक्यले पक्ष, विपक्ष वा एमिकस क्यूरी कतैबाट पनि बहस नगर्ने हुनुभएको हो ।  
अघिल्लोपटक प्रतिनिधिसभा पुनःस्थापना हुनुमा शाक्यले गरेको बहस मुख्य आधार रहेको विश्लेषण कानूनी वृत्तमा गरिन्छ। त्यो बेला चार घण्टाभन्दा बढी एमिकस क्यूरीका रुपमा इजलासलाई सुझाव दिनुभएका शाक्यले धेरै प्रश्नको चित्तबुझ्दो जवाफ दिनुभएको थियो । 

अहिले सर्वोच्वमा दोस्रोपटक जेठ ८ गते गरिएको संसद विघटनविरुद्ध १४६ जना सांसदले दायर गरेको रिट निवेदनमा बहस चलिरहेको छ।

यो पटक शाक्यलाई निवेदक पक्षबाट  बहस गरिदिन आग्रह गरे पनि उहाँले अस्वीकार गर्नुभएको हो । अहिलेको इजलास गठनमा आफ्नो प्रत्यक्ष भूमिका रहेकाले बहसबाट टाढा रहन चाहेको शाक्यको भनाई छ ।

अहिलेको मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीशले पिक एण्ड चुजका आधारमा  इजलास गठन गरेपछि विवाद भएको थियो। इजलासमा राखिएका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठप्रति निवेदक पक्षले असहमति जाहेर गरेपछि दुई हप्ता सुनुवाइ नै रोकिन पुगेको थियो।

इजलास गठनको विवाद चर्किएर सुनुवाइ नै नहुने स्थिति बनेपछि शाक्यले वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजालस गठन गर्न भूमिका खेल्नुभएको थियो ।

उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेटेर वरिष्ठताका आधारमा इजलास गठन गर्न सर्वोच्च बारका तर्फबाट सुझाव दिनुभएको थियो ।

सर्वोच्च बारले यसपटक पाएको एमिकस क्यूरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ। उहाँहरुले जम्मा आधा आधा घण्टाको समय पाउनुभएको छ । 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १ : ५७ बजे