साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

जबजका तीनदशकः बहुदलीय नयाँ जनवाददेखि सिद्धान्तसम्म

तत्कालीन नेकपा (माले) र पछि नेकपा (एमाले) का महासचिव, कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नवीनविचारक एवम् सिद्धान्तकार जननेता मदन भण्डारीको अगुवाईमा जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादित भएको थियो । यतिबेला यो विचार बहुदलीय नयाँजनवादबाट नेपालीक्रान्तिको कार्यक्रम, मार्गनिर्देशक विचार र सिद्धान्तको रूपमा विकसित भएको छ । यो विचारको रक्षा, प्रयोग र विकास गर्ने सन्दर्भमा यसबीचमा थुप्रै समृद्ध अनुभवहरू आर्जन भएका छन् । तत्कालीन नेकपा (माले) को वि.स. २०४६ मा सम्पन्न चौथो राष्ट्रियमहाधिवेशनले पार्टीले लिँदै आएको नयाँजनवादको कार्यक्रमलाई परिमार्जित गरी बहुदलीय नयाँजनवाद कार्यक्रमको रूपमा पारित ग¥यो । त्यसयता तत्कालीन नेकपा (एमाले) को वि. स. २०४९ सालमा आयोजना गरिएको पाँचौँ राष्ट्रियमहाधिवेशनले नेपालीक्रान्तिको कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादलाई स्वीकार ग¥यो । त्यसैगरी वि. स. २०५४, वि. स. २०५९, वि. स. २०६५ वि. स. २०७१ म क्रमशः छैठौँ, सातौँ र आठौँ राष्ट्रियमहाधिवेशनहरूले जबजलाई मार्गदर्शक विचार र सिद्धान्तको रूपमा स्वीकार गरिसकेका छन् । पार्टीको नवौँ राष्ट्रियमहाधिवेशनले उक्त विचारलाई अघिल्ला महाधिवेशनहरूले सिद्धान्तकै रूपमा स्वीकार गरेको अवस्थामा यो विचारमार्फत ०६२÷६३ सालको जनक्रान्तिका उपलब्धिलाई संस्थागत गर्दै यही विचारमार्फत समाजवादमा सङ्क्रमण गर्न सकिने र समृद्धसमाजवाद निर्माण गर्दासम्म यसले मार्गनिर्देशन गर्नसक्ने निष्कर्ष निकाल्यो । जुन ज्यादै महत्त्वको विषय हो । जनताको बहुदलीय जनवादको रक्षा, प्रयोग र विकास गर्ने सन्दर्भमा यहाँसम्म आइपुग्दा यो विचार बहुदलीय नयँजनवादबाट शुरुहुँदै नेपाल क्रान्तिको सिद्धान्त बन्नेको छ । 

जबजको आलोकमा तत्कालीन नेकपा (माले)ले ०४६ सालको जनआन्दोलनमा सहभागी भई त्यसलाई सफल बनाउन निर्णायक भूमिका खेलेको थियो । आन्दोलनको सफलतासँगै संविधान निर्माणमा सहभागी भई संविधानलाई सक्दो जनपक्षीय बनाउन सफल भयो । संविधानमा जननेता मदन भण्डारीले विभिन्न २७ बंँदामा असहमति रहेको विषय उठाउनु भएको थियो । जननेता मदन भण्डारीका साेंच र विचारहरू महत्त्वपूर्ण थिए । जुन विचारहरू दोस्रोजनआन्दोलनका विषय बने र अन्त्यतः वर्तमानसंविधानमा समेत सामेल भए । 

उक्त संविधानले राज्यले अवलम्वन गर्ने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणालीहरू समाजवाद—उन्मुख हुने भन्ने व्यवस्था गरेसँगै अब समाजवादतर्फको यात्रा स्पष्ट भएको छ । राजनीतिक अधिकारप्राप्तिको चरण आधारभूत रूपमा पूरा भएको अवस्था छ । अब आर्थिकक्रान्ति र समृद्धिको यात्रालाई पूरा गर्नुपर्ने अभिभारा कम्युनिष्टक्रान्तिकारीको काँधमा आएको छ । समृद्धिको यो यात्रामार्फत जनताको जनवादी व्यवस्थाको सुदृढीकरण गर्न जरूरी छ । वर्तमान संविधानलाई कार्यान्वयन गर्दै मुलुकलाई समाजवादसम्म पु¥याउन सकिने अवस्था सिर्जना हुनु कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको सर्वथा महत्त्पूर्ण उपलब्धि हो । यो उपलब्धि जबजको आलोकमा प्राप्तभएको हो । 

यतिमात्र हैन संविधानमा राज्यका निर्देशक सिद्धान्त र नीतिहरू तथा अन्य विभिन्न प्रावधानमार्फत मुलुकको समाजवादतर्फका हाम्रा हरेक कदमहरूमा मार्गनिर्देशन गर्न सक्ने अवस्थामा रहेका छन् । राज्यले अवलम्वन गर्ने ऐन, कानुन, नीति, रणनीति र कार्यक्रमहरू पनि संविधानले मार्गनिर्देशन गरेअनुसार हुँदै जानेछन् । त्यसैगरी वर्तमानसंविधानले राज्यले अवलम्वन गर्ने मार्गनिर्देशक सिद्धान्त तथा नीतिहरू तय गरेको छ ।  यी मार्गनिर्देशन र नीति समग्रतामा र विभिन्न क्षेत्रगत तथा विषयगत रहेका छन् । राष्ट्रियजीवनका विभिन्न क्षेत्रमा न्यायपूर्ण व्यवस्था अवलम्वन गर्ने, लोककल्याणकारी राज्यव्यवस्था निर्माणमा ध्यान दिने, समानुपातिक समावेशीकरण, स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको माध्यमबाट शासनव्यवस्था सञ्चालन गर्ने, राष्ट्रिय एकता र सुरक्षासम्बन्धी नीति, राजनीतिक तथा शासनव्यवस्थासम्बन्धी नीति, आर्थिक तथा सामाजिक रूपान्तरणसम्बन्धी नीति, अर्थ, उद्योग, सेवा, श्रम, रोजगार, वातावरण, पर्यटन, कृषिसमेत विभिन्न क्षेत्रगत तथा विषयगत नीतिहरूमार्फत राज्यलाई नीतिगत मार्गनिर्देशन गरेको छ ।     
 
जबजले सिद्धान्तलाई जडको रूपमा हैन गतिको रूपमा बुझ्न सिकाएको छ । माक्र्सवादलाई आफ्नो मुलुकको वस्तुगत धरातलीय यथार्थमा बुझ्न, विश्लेषण र लागू गर्न सिकाएको छ । जननेताले सिद्धान्तका लागि जीवन हैन, जीवनका लागि सिद्धान्त भने जस्तै जीवनको आवश्यकताअनुसार सिद्धान्त प्रतिपादन गर्नु पर्ने विषयमा जोड दिइएको छ । जीवनका निम्ति आवश्यक नपर्ने, नहुने सिद्धान्त फेर्नु पर्दछ र जीवनका लागि आवश्यक पर्ने सिद्धान्तको प्रतिपादन गर्नु पर्दछ । जबजको प्रयोग र विकास गर्नेक्रममा यसको सारलाई राज्यसत्ता र रूप शासनप्रणालीको रूपमा बुझ्ने काम भएको छ । जबजको प्रयोगमार्फत जनताका मौलिकअधिकारहरूको प्रत्याभूति भएको अवस्था छ । 

कम्युनिष्टआन्दोलनमा विगतमा प्रतिस्पर्धाविहीन राजनीति, संविधानविहीन राज्य र कानुनविहीनशासन सञ्चालनको अभ्यासलाई उल्टाई प्रतिस्पर्धात्मक राजनीति, संविधानको सर्वोच्चता र कानुनीशासन सञ्चालनको अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ । जनवादी व्यवस्थाको सुदृढीकरणका तीनचरणहरूको कार्यान्वयन गरेरमात्र जनसमर्थनसहित समाजवादमा सङ्क्रमण गर्ने स्पष्ट दृष्टिकोणको निर्माण भएको छ । जबजका कारण राजनीतिमा विचारको नेतृत्वदायी भूमिका स्थापित भएको छ । जसले कम्युनिस्टआन्दोलनलाई जडसूत्रवादबाट मुक्त गरिदिएको छ । 

त्यसैगरी कम्युनिष्टआन्दोलनमा एक दलीय अधिनायकवादको अन्त्य भएको छ । उत्पादकशक्तिको हितको पक्षपोषण र यसको पर्याप्त विकास र सशक्तीकरणमा जोड दिई समाजवादमा पु¥याउने सङ्कल्प जबजले गरेको छ । जननेताले भने जस्तै मुलुकको मूलधारको कम्युनिस्टआन्दोलन शास्त्र र सूत्रका निम्ति जीवनको बलिदान दिने होईन, जीवनका निम्ति सूत्र र शास्त्रको रचना गर्ने पार्टीको रूपमा विकसित भएको छ ।   

जबज प्रयोग गर्दै यहाँसम्म आईपुग्दा कम्युनिष्ट आन्दोलनले समानता र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक प्रणालीमा जोड दिन पुगेको छ । परम्परागत कम्युनिष्ट पार्टीहरू समानता र सामाजिकन्यायका पक्षमा मात्र केन्द्रित हुन्थ्ये । अर्कोतर्फ पुँजीवादी पक्षधरहरू बुर्जुवा प्रजातन्त्रमा । तर, जबजको प्रयोगमार्फत तत्कालीन नेकपा (एमाले) ले यी दबैैलाई आत्मसात गरी परम्परागत लोकतान्त्रिक मूल्यमान्यतामा आधारित पूर्ण लोकतन्त्र र सामाजिक न्याय र समानताका नीतिहरू अंगिकार गरिरहेको छ । “समृद्धनेपाल, सुखीनेपाली”को राष्ट्रियआकाँक्षा पूरा गर्न लागिरहेको छ । 

कम्युनिष्ट पार्टीहरूले विगतमा र कतिपय देशहरूमा हाल पनि एकतन्त्रीय गणतन्त्रको अभ्यास गरिरहको परिस्थिति थियो र छ । संसदीय राजनीतिमा सहभागी भएका कम्युनिष्टहरूले परम्परागत बुर्जुवा गणतन्त्रकै सेरोफेरोमा रूपलिएका छन् । नेपालमा अपनाइएको र अवलम्वन गर्न खोजेको गणतन्त्र परम्परागत लोकतान्त्रिक मूल्यमान्यतामा आधारित लोकतान्त्रिक गणतन्त्र हो । जनताको बहुदलीय जनवादले जनताको प्रतिष्पर्धात्मक लोकतान्त्रिक शासनप्रणालीमा विश्वास गर्ने भएकोले यसलाई आत्मसात गर्दै गणतन्त्रको यो प्रणालीमा विश्वास गरेको हो । जबजको प्रादुर्भाव हुँदा मुलुक एकतन्त्रीय निरङ्कुश राजतन्त्रको छत्रछायाँमा पञ्चायतीव्यवस्था कायम थियो । त्यसयताका करिब तीनदशकमा गणतन्त्र स्थापना र यसको स्वरूप निर्धारणमा जबजले मार्गदर्शन गरेको छ । 

नेकपा एमाले)ले जनताको बहुदलीय जनवाद अवलम्वन गरेपश्चात मुलुकमा दुई ठूला जनआन्दोलनहरू सम्पन्न भए । यी दुबै आन्दोलनहरू शान्तिपूर्ण ढङ्गले सञ्चालित थिए । ०४६ सालको जनआन्दोलनमा एउटा कार्यनीतिक सम्झौताको रूपमा संवैधानिक राजतन्त्रलाई स्वीकार गरिएको अवस्था थियो । तर त्यो राजतन्त्रकै महत्वकांक्षाले शान्तिपूर्ण ‘कु’ को माध्यमबाट भङ्ग भयो । परिणाम दोस्रोजनआन्दोलनको प्रादुर्भाव भयो । राजतन्त्रका विरूद्धमा युगान्तकारी शान्तिपूर्ण आन्दोलन भयो । यसले राजतन्त्रको अन्त्य गरी मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यो । यही आन्दोलनकाक्रममा सशस्त्र सङ्घर्ष गरिरहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र आन्दोलनरत दलहरूबीच १२ बुंदे सहमति भई जनआन्दोलनलाई सफलतामा प¥याउने काम भएको थियो । यही जनआन्दोलनमार्फत तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिको मूलप्रवाहमा ल्याउन सफल भएको अवस्था थियो । 

त्यसैगरी यस्तै प्रकृतिका सशस्त्र संघर्षमा लागेका अन्य पार्टीहरुलाई पनि जबजको मान्यता शान्तिपूर्ण आन्दोलनबाट समाजको रूपान्तरण सम्भव छ भन्ने कुराको बोध भएको छ । यस हिसाबले यी आन्दोलनहरूमा जबजको वैैचारिक नेतृत्व थियो । त्यसैगरी कम्युनिष्टआन्दोलनमा रहेको उग्रवामपन्थी विचार जसले क्रान्ति भन्नु नै सशस्त्र युद्धद्वारा राज्यसत्ता कब्जा गरी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नु हो भन्ने मान्यता राख्छ उक्त प्रवृतिलाई पनि कमजोर बनाएको छ । जनताको बहुदलीय जनवादले मुलुकको कम्युनिष्टआन्दोलनलाई हिंसात्मकराजनीतिबाट शान्तिपूर्णराजनीतिमा अवतरण गराएको छ ।   

जबजले समाजका सबै पक्षहरूको लोकतान्त्रीकरणमा जोड दिन्छ । यसले नेतृत्व पहलकदमीबाट स्थापना गर्ने विचारअगाडि सारेको छ । राज्यसत्ताको नेतृत्व गर्दा पनि निर्वाचनमा प्रतिष्पर्धा र पहलकदमीको माध्यमबाट जनताको मन जितेर मात्र विजय हाँसिल गर्न सकिन्छ भन्ने मान्यतामा आधारित छ । पार्टी जीवनको लोकतान्त्रीकरणको सार भनेको पार्टीमा आमसदस्यहरूको सार्वभौतिकताको स्थापना हुनु हो । पार्टी नीतिनिर्माण र निर्णय प्रक्रियामा पार्टी सदस्यहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चिता हो । पार्टी कार्यकर्ताहरूको स्वेच्छिक चयनका आधारमा नेतृत्वको निर्माण हुनु हो । पार्टीभित्र हुने राजनीतिक, सैद्धान्तिक र नीतिगत बहसमा नेता कार्यकर्ताहरूले आफूलाई लागेको विषयमा स्वतन्त्रतापूर्वक विचार दिने विषयमा कुनै बन्देज नहुनु हो । अर्थात विचारकै आधारमा कसैलाई विभेद नहुने विषयको प्रत्याभूति हो । जबजमार्फत कम्युनिष्ट पार्टी एकदलीय व्यवस्थाको अन्त्य गर्दै बहुदलीय व्यवस्था र बहुलवाद लागू गर्न पुगेको छ । यस्तो पार्टी सैनिक वा राजकीय पार्टी हैन, जनपार्टी निर्माण गरिनुपर्ने विषयमा जोड दिईएको मात्र हैन यसलाई आत्मसाथ पनि गरिएको छ । 

जबजका विभिन्न विशेषताहरूमध्ये कम्युनिष्ट पार्टीमा नीति निर्धारण गर्दा र नेतृत्व निर्माणमा कार्यकर्ताको भूमिका महत्वपूर्ण रहेको छ । यसक्रममा नेकपा (एमाले)का सबै राष्ट्रियमहाधिवेशनमा यो अभ्यास गरिएको छ । यो प्रक्रियाले पार्टीलाई वैचारिक सङ्गठनात्मक हिसाबले उन्नत र विकसित बनाएको छ । चाहे कम्युनिष्ट पार्टी होस् वा अन्य बुर्जुवापार्टी नै किन नहुन जसले जनताको सेवा निष्ठापूर्वक गर्दछ त्यसैले निर्वाचनमा विजय हाँसिल गर्दछ भन्ने मान्यताका आधारमा जबजले जनसेवालाई आत्मसाथ गर्दछ । अझ आजको दुनियाँमा जनताको चेतनास्तर अत्यन्त उन्नत अवस्थामा रहेको र नेपालको सन्दर्भमा उनीहरूको राजनीतिमा देखिएको सक्रियताको कसीमा कम्युनिष्टआन्दोलनले पटक–पटक परीक्षित हुन अतिआवश्यक छ । यी काम पार्टी, राज्य र समाजको लोकतान्त्रीकरणको प्रक्रियामार्फत पूरा गर्न सकिन्छ । 

विगतमा जबजप्रति असहमत कम्युनिष्टआन्दोलनका कतिपय नेता–कार्यकर्ताहरू समयक्रममा यसको सच्चाईलाई आत्मसात गर्नुभएको छ । सबै कम्युनिष्टक्रान्तिकारीहरू यो विचारको पक्षमा उभ्याउनु आजको आवश्यकता हो । यो विचार र सिद्धान्तले मुलुकको कम्युनिष्टआन्दोलनलाई यो उचाईमा पु¥याएको छ, कम्युनिष्टआन्दोलनले अनेक उपलब्धि र सफलताहरू प्राप्त गरेको छ । यो विचारलाई सर्वस्वीकार्य सिद्धान्तको रूपमा लिई यसलाई अझ उन्नत, विकसित र सुदृढ बनाउनु आजको आवश्यकता हो । 

जबज प्रतिपादनपश्चात अत्यन्त छोटो समयमा जननेता मदन भण्डारीको रहस्यमय ढङ्गबाट हत्या भयो । उहाँले जबजको मूलपक्ष कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिको प्रवाहमा ल्याउनु भयो । जबजमार्फत तीन चरणमा जनताको जनवादी व्यवस्थाको सुदृढीकरण गरेर समाजवादमा सङ्क्रमण र समृद्धसमाजवाद निर्माण गर्ने सम्वन्धमा व्याख्या विश्लेषणहरू छन् । तर कतिपय विषयहरूप्रति जननेताले सङ्केतमात्र गर्नुभएको थियो । आज हामीले तिनलाई आजको परिवेशमा बुझ्न जरूरी छ । अर्थात जबजका सबैपक्षमा विषद् व्याख्या गर्न जननेताले भ्याउनु भएन । उहाँले जबजको आरम्भमात्र गर्नुभएको थियो । यसको कार्यदिशा निर्धारण गर्नुभएको थियो । तर विगत तीनदशकमा मुलुकभित्र र बाहिर परिस्थितिमा व्यापक फेरबदल आएको छ । यसलाई समयक्रमसँगै विकसित राष्ट्रिय÷अन्तराष्ट्रिय परिवेशमा थप व्याख्या, विश्लेषण र प्रयोगमा जोड दिन जरूरी छ ।

हाम्रो पार्टीपंक्तिभित्र वैचारिक राजनीतिक प्रशिक्षणमा कमजोरीहरू देखिन्छन् । विचार, सिद्धान्त, दर्शन, राजनीति र दैन्नदिन घटेका घटनाहरूको गहिरो अध्ययन नगरी प्रतिक्रियामुखी हुने प्रवृत्ति देखिन्छ । यस्ता विषयमा एक त अध्ययन नै नगर्ने गरेपनि सतही अध्ययनको आधारमा कुनै विषयप्रतिको धारणा बनाउने प्रवृत्ति देखिन्छ । त्यसैगरी सिद्धान्त र व्यवहारमा तालमेल हुनुपर्दछ । कम्युनिष्ट पार्टीभित्र वर्गीय पक्षधरता कमजोर हुँदै गएको छ । कम्युनिष्ट पार्टीलाई आम सर्वहारा श्रमजीवी वर्गको पार्टीको रूपमा विकास गर्न जरूरी छ । त्यसैले पार्टीभित्र नीतिनिर्माणमा र निर्णय गर्ने थलोमा श्रमिक, किसान र सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व र सहभागितमा सुनिश्चित गर्न जरूरी छ । जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन । 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १२ : ३९ बजे