दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मदन भण्डारी फाउण्डेशन र त्रिभुवन विश्वविद्यालय बीच अनुसन्धानका लागि छात्रवृत्ति दिने सहमति

काठमाडौँ – मदन भण्डारी फाउण्डेशन र त्रिभुवन विश्वविद्यालयका विभागहरू बीच विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मदन भण्डारी फाउण्डेशनद्वारा आज (शनिबार) आयोजित ‘जनताको बहुदलीय जनवाद र शिक्षामा अनुसन्धानको महत्त्व’  विषयक अन्तरक्रिया कार्यक्रममा फाउण्डेशनकी सचिव पेम्बा लामा तथा त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागका प्रमुखहरू बीच अध्ययन/अनुसन्धानका लागि विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयका उप–कुलपति डा. धर्म कान्त बास्कोटा लगायतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
​​​​​​​

कार्यक्रममा मदन भण्डारी फाउण्डेशनका सामाजिक अभियान विभागका संयोजक सुशील प्याकुरेलले मदन भण्डारीको विचार जनताको बहुदलीय जनवाद र वामपन्थी प्रति आकर्षण बढ्दै गएको बताउनु भयो । संयोजक प्याकुरेलले नेपालमा उत्पत्ति भएका बिचारहरू, आन्दोलन र राजनैतिक व्यक्तित्वहरूले ल्याउनुभएका बिचारहरू अनुसन्धान गरी बौद्धिक भण्डारण बढाउँदै लैजानु पर्ने बताउनु भयो । विद्यार्थी तथा बौद्धिक समुदायले जबजका बारेमा थप छलफल, सोध, अनुसन्धान र परिष्कृत बनाउँदै लैजानु पर्नेमा प्याकुरेलले जोड दिनु भयो ।

कार्यक्रममा बोल्नुहुँदै त्रिभुवन विश्वविद्यालयका भौतिक शास्त्रका प्राध्यापक डाक्टर बिनिल अर्यालले नेपालको पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विश्वमै रहेका विश्वविद्यालयमध्ये ८००–१००० श्रेणी भित्र पर्न सफल भएको बताउनुभयो । उहाँले त्रिवि एसियामा २५१–३०० भित्र रहेको समेत जानकारी दिनुभयो । गत बर्ष भन्दा त्रिवि १०० स्थान माथि उक्लिन सफल रहेको बताउनु हुँदै अर्यालले एसियाकै ढाका विश्वविद्यालय र कोलम्बो विश्वविद्यालय भन्दा त्रिभुवन विश्वविद्यालय उत्कृष्ट रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । डाक्टर अर्यालले राष्ट्रलाई उत्कृष्ट बनाउन विश्वविद्यालयलाई बलियो बनाउनुका साथै उच्च कौशलको बनाउनु पर्नेमा जोड दिनुभयो । राष्ट्रलाई समृद्ध बनाउन अनुसन्धान तथा विकासमा जोड दिनु पर्ने भन्दै अर्याले अनुसन्धान तथा विकासमा बढी लगानी गर्ने मुलुक मध्ये अमेरिका पहिलो, दोस्रोमा चीन र तेस्रोमा जापान रहेको बताउनुभयो । नेपालमा समेत खोज अनुसन्धान बढाउन शिक्षणको गुणस्तर बढाउन जरुरी रहेको अर्यालले औँल्याउनु भयो । उहाँले जननेता मदन भण्डारीले पूर्वाधार विना समाजवाद असम्भव भएको र पूर्वाधार विकासका लागि राष्ट्रिय पुँजी र औद्योगीकरण आवश्यक रहेको र यसको निम्ति नवीनतम अनुसन्धानको आवश्यक हरेक क्षेत्रमा रहेको औँल्याउनुभएको स्मरण गराउनुभयो ।

कार्यक्रममा त्रिभुवन बिश्वबिध्यालयका प्रा.डा. खड्ग केसीले खोज अनुसन्धान शैक्षिक पाठ्यक्रम जोड्न सकिने बताउनु भयो ।
​​​​​​​​​​​​​

कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले खोज अनुसन्धानसँग सम्बन्धित विषयमा छात्रवृत्तिको व्यवस्था मिलाउने कार्यलाई अगाडी बढाएकोमा मदनभण्डारी फाउण्डेशनलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा सहजता प्रदान गर्दै मदन भण्डारी फाउण्डेशनकी सचिव पेम्बा लामाले कार्यक्रम मञ्चमुखी नभई विषयमुखी हुनु पर्नेमा जोड दिनु भयो । सचिव लामाले कोरोना महामारीको समयमा खट्नु भएका सुनिता सहकरी र बोमबहादुर गुरूङ्गलाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्न लागिएको बताउनुभयो । फाउण्डेशनले यसअघि महजोडी, महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेशनलाई समेत यो पुरस्कारबाट पुरस्कृत गरिसकेको उहाँले बताउनु भयो । उहाँले मदन भण्डारी फाउन्डेसनले आयोजनामा भएको निबन्ध प्रतियोगिताका बिजेतालाई असार १४ गते पुरस्कार वितरण गरिने जानकारी दिनु भयो ।

-आशिष पौडेल

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : ५७ बजे