दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुँदै सहकरी र गुरुङ

काठमाडौं । मदन भण्डारी फाउण्डेशनले २०७७ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट दुई जनालाई सम्मान गर्ने भएको छ । यो वर्ष फाउण्डेशनले भेरी अस्पतालको आइसियुमा कार्यरत, नरहरिनाथ गा.पा.४ कालिकोटकी स्टाफ नर्स  सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस, किर्तिपुरमा कार्यरत, इच्छाकामना गा.पा. ३ का एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई पुरस्कृत गने निर्णय गरेको हो । 
 
पुरस्कार यही असार १४ गते अर्थात् जननेता मदन भण्डारीको ७०औँ जन्मजयन्तीका सन्दर्भमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । 

फाउण्डेशनले जनस्वास्थ्यको क्षेत्र, विशेष गरी कोभिड १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपङ्क्तिमा रही कोभिडबाट सङ्क्रमित बिरामीहरूको सेवामा दिनरात खटेर सेवा गरेको भन्दै यो वर्ष 
नर्स सहकरी र चालक गुरुङलाई सम्मान गर्न लागेको हो । 

महामारीको समयमा दिलो ज्यान दिएर सेवा दिने स्टाफ नर्स सुनिता सहकरी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङको योगदानको उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेशनकी सचिव पेम्बा लामाले बताउनुभयो । 
समाजमा सकारात्मक योगदान प्रदान गर्नुहुने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यस अघि हाँस्य कलाकार महजोडी, शहिद पार्क–हेटौँडा, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेशन’, प्रा.डा. सुवोध शर्मालाई प्रदान गरिएको थियो ।  

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ४१ बजे