ललितपुरको नगरसभा बहुमत सदस्यद्वारा बहिष्कार

काठमाडौं । ललितपुर महानगरपालिकाको आजको नगरसभा बहुमत सदस्यहरुले बहिष्कार गर्नुभएको छ ।

पालिकाको नीति तथा कार्यक्रम अध्ययन नै नगरी अनुमोदन गराउन खोजेपछि बहुमत सदस्यले सभा बहिष्कार गर्ने निर्णय गर्नुभएको हो ।

कार्यपालिकाका कूल ३९ सदस्य मध्ये २६ जना र नगरसभाका ९२ सदस्य मध्ये ६६ जनाले सभा बहिष्कार गर्ने निर्णय गरेको वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले ९२ जनाको तर्फबाट विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

बैठक नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यले बहिष्कार गर्ने निर्णय गर्नुभएको हो । हिजो भएको नगर कार्यपालिका बैठकमा पेश गरेको नीति तथा कार्यक्रम अध्ययनको लागि बैठकका सदस्यले समय माग गर्नुभएको थियो । महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गिता सत्यालले जबरजस्ती पेलेर आजै कार्यक्रम पास गराउन खोजेपछि नगरसभा बैठक बहिष्कार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 
ललितपुरमा प्रमुख र उपप्रमुख नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ । तर सभामा कांग्रेसको बहुमत छैन । ‘सबैसँग संवाद समन्वय गरी कानुनी प्रक्रिया अनुरुप आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्ने गरी जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ५ : ४७ बजे