आज निर्जला एकादशीः घरघरमा तुलसीको दल राखिँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । तुलसी हुर्काई बढाई मंसिरमा दामोदरसँग विवाह गरिने चलन छ । यो चार महीनालाई चतुर्मास भनिन्छ ।

स्नान, पूजन र दान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । आज पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रमा लेखिएको छ ।

आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । नयाँ रुप परिवर्तनसहितको कोरोना महामारी चलेका बेला घरघरमा तुलसीको दल राख्दा र रोपण गर्दा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग पुग्ने आयुर्वेद चिकित्सकहरुले बताउँदै आएका छन् । 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : २० बजे