मेगा बैंकले फोनबाटै २ लाखसम्मको कर्जा दिने

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।  

आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उदेश्यले मेगा बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रा.लि. सँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो । यस सुविधा मार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम रु. २ लाख उपभोग गर्न सक्नेछन् । 

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताउनुभयो । 

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकहरुले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पर्दैन । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ । 
 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ५६ बजे