बझाङ – सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरु गरेको छ ।
कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन् । नदीको बहाव बढी आएकाले भर्खरै निर्माण सम्पन्न गरिएको चैनपुर–पानकोट जोड्ने मोटरेबल पुलसहित पानकोटमा रहेका ओम शान्ति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन् । पुल र दुवै भवनको मुनिबाट नदीले कटान गरिसकेको छ । केही ठूला ढुङ्गाका कारण मात्रै भवनसम्म पहिरो फुट्न सकेको छैन ।
जिल्ला प्रशासन कार्यालयले नदीको बहाव बीचमा लगाउन मेशिन खोज्दा नभेटिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ ।
रासस
प्रकाशित मिति : ५ असार २०७८, शनिबार १२ : २३ बजे
प्रतिक्रिया