तरकारी खेतीले आत्मनिर्भर बनायो

केही वर्षअघिसम्म पैसा आवश्यक पर्दा आमा बुवासँग माग्ने उदयपुर त्रियुना नगरपालिका बगाहाकी सूजिता खन्या थारुलाई अहिले त्यस्तो समस्या छैन् । पढ्दै तरकारी खेती गदै आएकी उनलाई सानै उमेरदेखि केही गर्नुपर्छ भन्ने लाग्थ्यो । खेती किसानी गर्ने बुवाआमासँगै आफुले पनि कुनै उद्यम गर्न पाए हुन्थ्यो भन्ने उदेश्य बोकेकी सुजितालाई स्थानिय उदयपुर कल्याणी सहकारी संस्थाले ऋणदिने सूचना निकालेको थाहा भयो । सूचनामा व्यवसायीक तरकारी खेती गर्न चाहनेलाई सस्तो व्याजमा स्वरोजगार कोषको तर्फबाट ऋण उपलब्ध गर्ने लेखिएको थियो । 

कस्ले पैसा जुटाइदिन्छ भनेर भौतारिरहेको बेलामा स्वरोजगार कोषको सहयोगबाट ऋण पाउँदा आफु औधी खुसी भएको उनले सुनाईन । सूजिता भन्छिन,–‘सुरुमा पैसा थिएन, पैसा नै नभएपछि के व्यवसाय गर्नु ? स्वरोजगार कोषबाट दुईलाख ऋण लिएपछि तरकारी खेती गर्न सजिलो भयो ।’ उदयपुरको मोतिगडामा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पसमा ‘बिएस डब्लु’ बिषय लिएर बिए तेस्रो बर्षमा अध्ययनरत सूजितालाई पैसा पाएपछि बिउ, खाद्य मल किन्न सजिलो भयो अझ तरकारी बिक्रि हुन थालेपछि पढनका लागि कसैसँग हात थाप्न परेन । 

आफनै ६ कठ्ठा खेतमा बन्दा, काउली, गोलभेडा, मुला, साग, गाजर, धनीया, आलु लगायत मौसमी तरकारी खेती गदै आएकी उनको आम्दानीले घरखर्च चलाउन र आफनो खर्च पुरा गर्ने भएकी छिन । उमेरले भर्खरै २५ बर्षमात्रै पुगेकी सूजितालाई व्यवसायीक तरकारी खेतीबाट आम्दानी गर्न थालेपछि आत्मनिर्भर बनेको महसुस हुन्छ । स्थानीय बजार गाईघाट, देउरी, जलजलेमा उनीहरु आफुले फलाएका तरकारी बेच्छन् । दैनिक ५/६ हजारको तरकारी बिक्रि गर्ने गरेको सूजिताले सुनाईन । 

६ कठठा जमिनमा विगत तिन वर्षदेखि मौसमी तरकारी खेती गर्दै आएकी सूजिताले वार्षिक ४/५ लाख  रुपैया सम्म आम्दानी गर्छिन । यातायात साधनको पहुँचका कारणपनि उनले उत्पादन गरेका तरकारी अटोको सहायताले बजार पुरयाउने गरेकी छन् । आफैले तरकारी बोकेर बजार पुग्नुपर्दा धेरै समय लाग्ने, दुख हुने र भनेको मूल्य नपाउने समस्या थियो तर अहिले यो समस्या हटेको छ, सूजिताले भनिन् । आमाबुवा र भाईबहिनीले पनि तरकारी खेतीमा उनलाई सघाउँछन् । सस्तो ब्याजमा लिएको ऋणबाट आफनो परिवारको जीवन नै परिर्वतन भएको उनलाई लाग्छ । सूजिता भन्छिन, हामीजस्तो निम्न आय भएका हरुलाई सरकारबाट प्राप्त हुने ऋणले धेरै फाइदा पुगेको छ ।
 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ११ : ०५ बजे