स्वरोजगार कोषको सहयोगले व्यवसायी बन्न आँट दियो 

काठमाडौं ।  वैदेशिक रोजगारीमा आफ्नो अमुल्य समय विताएका ओम प्रसाद सुनुवार स्वरोजगार कोषको सहयोगले व्यवसायी बनेपछि यतिवेला दंग छन् ।  स्वरोजगार् कोषले युवालाई लक्षित गदै उद्यमी कर्जा दिएपछि सुनुवारलाई व्यवसाय गर्न सजिलो भएको हो ।

२००६ सालमा दुवईमा मजदुरीगर्न गएका उनलाई परिवार नेपालमा आफु विदेशमा हुँदा सधै चिन्तामात्रै लाग्थ्यो । परिवार छोराछोरीसँगै बस्ने रहर हुँदाहुदै उनी बाध्यताले विदेशीएका थिए । रामेछापको उमाकुण्डमा उनको परिवार सामान्य खेती किसानी गर्दथ्यो । परिवारबाट टाढा भएर विदेशमा बस्दा काम गर्न गाहे लाग्न थाल्यो र आफ्नै देशमा केही गर्ने उदेश्यले उनी नेपाल फर्किए । ओम प्रसाद भन्छन, ‘विदेशमा दुःख गरेपनि खासै पैसा बच्दैनथ्यो त्यही भएर नेपालमै फर्किएर व्यवसाय गर्ने योजना बनाएपनि पैसा थिएन तर छिमेकीले स्वरोजगारबाट सस्तो व्याँजमा ऋण पाईन्छ भनेपछि म त्यहाँ गए ।’ 

स्वरोजगार कोषको सहयोगबाट उनले ऋण स्वरुप शुरुमा डेढलाख रकम झिके । त्यही रकममा आफुसँग भएको थोरै पैसा थपेर किराना पसल खोले । आफनै गाउँ रामेछापको तिर्तिडाँडामा उनको किराना पसल छ । गाउँमा आधा घण्टाको फरकमा अर्को पसल भेटिने भएकाले आफनो पसल राम्रो चल्ने गरेको उनले सुनाए । उनी भन्छन, ‘वरिपरि गाउँका सवै मेरो पसलमै हो आउने , पसल राम्रो चलेको छ त्यही भएर अहिले म आफनो परिवार पालेर बर्षमा ५० हजार बचत गछु ।’

स्वरोजगार कोषले ऋण अझै थपिदिए हुन्थ्यो भन्छन ओम । सस्तो व्याज त्यो पनि तीन तीन महिनामा बुझाउनुपर्दा निकै सजिलो भएको उनको अनुभव छ । पहिले लिएको ऋण सकाउन अव दुई किस्तामात्रै बाँकी छ, सुनुवारले भने । त्यो किस्ता तिरिसकेपछि लगतै बाख्रा र बङ्गगुर पालनका लागि स्वरोजगार कोषबाटैै ऋण लिने उनको तयारी छ । ओम भन्छन– ‘पाखोवारीमा टन्नै घाँस छ, बाख्रा र बङ्गुर पालेभने मेरो आम्दानी पनि बढ्छ ।’ 

स्वरोजगार कोषबाट ऋण लिएकैले आफुलाई उद्यमी बन्ने आँट आएको उनी सुनाउँछन् । सुनुवार भन्छन्, ‘अहिले मलाई धेरै सजिलो भएको छ । थोरै ऋणबाट पनि उद्यमी बनेर परिवार पाले ।’ अरुको देशमा मन नलागी नलागी बस्नुभन्दा आफनै घरमा छोराछोरी पढाउँदै परिवारसँग बस्दाको रमाइलो बेग्लै हुन्छ उनले थपे । अब अझै ऋण थपेर व्यापार बिस्तार गर्थे भन्ने योजना छ । स्वरोजगार कोषको सस्तो व्याजको पैसाले हामीजस्ता पैसा नहुनेहरुलाई व्यापारी बन्ने आँट र हौसला पलाउँछ उनी भन्छन् । हाम्रो जीवनमा राम्रो परिर्वतन ल्याउन सहयोग गरिदिने कोषलाई हामी धन्यवाद भन्छौ । कोषको सहयोगले न्युन आय भएका हामीजस्ता धेरैको जीवनमा आर्थिक उन्नति र स्वरोजगार बन्ने प्रेरणा दिने यस्ता संस्था अझै थप्दै लैजानुपर्छ उनले भने । 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ४३ बजे