खोटाङ । खोटाङ जिल्लाको नुनथलास्थित महुरे डाँडामा राँके बजारको रौनक छाएको छ । रुपाकोट मझुवागढी दिक्तेल नगरपालिकाको वडा नं. १४ महुरेगढीमा प्रत्येक वर्षको साउन २ गते राँके बजार लाग्ने गर्दछ । रोपाई सकिनै लाग्दा लाग्ने यो बजारमा स्थानीय लोक भाका प्रस्तुत गर्ने गरिन्छ । ऐतिहासिक महुरेगढीमा लाग्ने यो मेलाको मुख्य विशेषतामा आँपको बजार भएको स्थानीय अगुवा नागरिक सुरेश किराँतीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।
राँके मेला भर्न खोटाङको बुइपा, राजापानी, विजयखर्क, दिक्तेल, नुनथला,अर्खौले, हलेसी,लामिडाँडा, खार्पा, कुभिन्डे आसपासका स्थानीयहरू भेला हुने गर्दछन् ।
मध्यपहाडी लोकमार्ग खोटाङखण्डमा पर्ने महुरे पर्यटकीय गन्तव्यसमेत बन्दै गइरहेको छ । पर्यटन प्रवर्धनका लागि महुरेमा माछा आकारकाे पोखरीसमेत बनाइएको छ । पोखरीमा तस्बिर खिच्नेहरूको भिड लाग्ने गरेको छ ।
पूर्वको प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसी नजिकै रहेको महुरेलाई आसपासबाट सगरमाथाकोसमेत दृश्यावलोकन गर्न सकिने भएकाले यसको प्रवर्धनमा विशेष ध्यान दिनुपर्ने देखिएको छ ।
प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ४ : ४३ बजे
प्रतिक्रिया