दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री 

​​​​​​​काठमाडौँ । नेपालको ४५ औ  प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधार २ बमोजिम ओलीलाई आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उहाँको शपथ भने सोमाबार हुने भएको छ। सोमबार ११ बजेका लागि उहाँको शपथ तय भएको राष्ट्रपति कार्यालले जनाएको छ। उहाँको शपथसंगै   मान्त्री मण्डल गठन हुने छ। पहिलो चरणमा कांग्रेस र एमालेका तर्फका मन्त्रीहरु नियुक्त हुने बताइएको छ। कांग्रेस ले ९ र एमालेले आठ मन्त्रालय लिने सहमति भइसेको  छ। अरु मन्त्रालय भने बाँकी साना दललाई दिने सहमति भएको छ। 

संविधानको धारा ७६(२) मा प्रतिनिधिसभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ। यसअघि शुक्रबार नै निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुभएको थियो । सो क्रममा उहाँको पक्षमा ६३ मत प¥यो भने विपक्षमा एक सय ९४ मत आएको थियो । 

राष्ट्रपति पौडेलेले पनि यस लगत्तै कुन धारा मार्फत प्रधानमन्त्रीमा दाबी पेस गर्न उपयुक्त हुने भन्दै विज्ञहरूसँग सघन छलफल गरेर संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान   गर्नुभएको थियो । 

सोही आह्वान अनुसार एमाले अध्यक्ष समेत रहनुभएका ओली काँग्रेस सभापति शेरबहादुर देउवासहित प्रतिनिधिसभाको दुई तिहाई सांसदको समर्थन लिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न जानुभएको थियो  । 

यस्तो  छ ओलीको जीवनी 

काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली आइतबार चौथो पटक मुलुकको ४५ औँ  प्रधानमन्त्री बन्नु भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिसकेपछि चौथो पटक उहाँ प्रधानमन्त्री बन्नु भएको हो । 

ओली नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आज प्रधानमन्त्रीमा नियुक्ति हुनु भएको हो । 

पहिलो पटक नेकपा माओवादी केन्द्रको समर्थनमा उहाँ ०७२ असोज २४ गते प्रधानमन्त्रीमा नियुक्ति हुनु भएका थियो । उहाँको शपथ ग्रहण असोज २५ गते भएको थियो । पहिलो पटक प्रधानमन्त्री हुनु भएका ओली  २०७३ साउन ९ गते व्यवस्थापिका–संसदमा सम्बोधन,गर्दै  प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो  । 

यस्तै दोस्रो पटक अध्यक्ष ओली माओवादी केन्द्रकै समर्थनमा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औँ प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो  । त्यसबेला एमाले र माओवादी केन्द्रबीच बनेको सरकार झन्डै दुई तिहाइको रहेको र ओली शक्तिशाली प्रधानमन्त्रीका रूपमा रहनु भएको थियो ।  उहाँ २०७८ वैशाख ३० गतेसम्म प्रधानमन्त्रीमा हुनुभयो । त्यसपछि नेकपा फुटेपछि उहाँ तेस्रो पटक २०७८ वैशाख ३० देखि २०७८ असार २९ गतेसम्म ठुलो दलको नेताको  हैसियतमा  प्रधानमन्त्रीमा रहनु भएको थियो । 

२००८ फागुन ११ गते तेह्रथुम जिल्लामा बुबा मोहन प्रसाद ओली र मधुमाया ओलीबाट जन्मिनु भएका अध्यक्ष ओली यस पटक भने काँग्रेस र एमालेबीच सात बुँदे सहमति अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो । 

२०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएका प्रधानमन्त्री ओली एमालेको दुई पटक पार्टी अध्यक्ष र एक पटक  नेपाल कम्युनिष्ट पार्टी नेकपाको शक्तिशाली अध्यक्ष बन्नुभयो ।२०७५ जेठ ३ गते एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्षमा निर्वाचित हुनुभयो ।
यस्तै २०७९ मङ्सिर १० गते भएको एमालेको १० औ राष्ट्रिय अधिवेशनबाट ओली पुनः एमालेको अध्यक्षमा निर्वाचित हुनुभयो । नेकपा एकतापछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालबीच कुरा नमिलेपछि र सर्वोच्च अदालतले पार्टी एकतालाई मान्यता नदिएपछि एमाले अलग पार्टी बन्यो । 

अध्यक्ष ओलीले पार्टीमा १५ वर्ष कार्यकारी पद चलाएका पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै २०७१ साउन १ नवौँ राष्ट्रिय महाधिवेशनबाट  पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभयो । त्यसभन्दा अगाडि २०७० माघ २१ गते उहाँले एमालेकै अध्यक्ष रहेकै वेला झलनाथ खनाललाई हराउँदै संविधानसभा तथा व्यवस्थापिका संसद्को दलका नेतामा निर्वाचित हुनुभयो । 

छ पटक सांसदमा निर्वाचित र एकपटक हार

प्रधानमन्त्री ओली छ पटक संसदमा निर्वाचित हुनुभयो भने एक पटक निर्वाचन हार बेहोर्नुप¥यो । पहिलो पटक प्रधानमन्त्री ओली २०४८ सालमा बहुदलीय व्यवस्था स्थापना पछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभएको थियो  । 

यस्तै २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुन निर्वाचित हुनुभयो । प्रधानमन्त्री ओली २०५६ सालको निर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभामा पुन निर्वाचित हुनुभयो । 

२०७० सालमा मङ्सिर भएको संविधानसभा सदस्यमा झापा–७ बाट  निर्वाचित हुनुभयो । यस्तै २०७४ साल र २०७९ मा भएको संसद्को निर्वाचनमा उहाँ झापा–५ बाट निर्वाचित हुनुभयो । दोस्रो जनआन्दोलनपछि भएको २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा पराजित हुनुभयो । 

२०२० सालमा तेहथुमबाट झापामा बसाई सराइ गर्नु भएका प्रधानमन्त्री ओली २०२३ सालमा माक्र्सवादी अध्ययन दलमा संगठित भएर कम्युनिष्ट बन्नुभयो । २०२५ सालमा पूर्णकालीन राजनीतिक कार्यकर्ताको रूपमा गतिविधिमा संलग्न हुनु भएका प्रधानमन्त्री ओली २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएको र  सोही वर्ष झापामा पहिलो पटक गिरफ्तारी समेत पर्नुभयो । उहाँ  २०३० सालसम्म  १० पटक गिरफ्तार पर्दै  रिहा हुनुभयो । 

पूर्णकालीन नेताको रूपमा आन्दोलन परिचालनको लागि उहाँ २०२७ जेठ ९ गतेदेखि भूमिगत जीवन सुरु गर्नु भएका उहाँ २०२८ सालमा झापा आन्दोलन सङ्गठन कमिटीको प्रमुखमा मनोनीत हुनुभयो । 

प्रधानमन्त्री ओली २०३० असोज २३ गते राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुट्टा आरोपमा गिरफ्तार पर्नुभयो र उहाँ ४ वर्ष गोलघर सहित १४ वर्ष जेल सजाय भोग्नुभयो । 

२०३५ पुस ११ गते जेल मै रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी–लेनिनिवादीको संस्थापक नेताको हैसियत प्राप्त गर्नुभयो । 

२०४४ असार ११ जेलबाट रिहा हुनु भएका प्रधानमन्त्री ओली सोही वर्ष पुस २ गते बसेको नेकपा मालेको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन हुनु भयो र लगतै लुम्बिनी अञ्चलको इन्चार्जको जिम्मेवारी वहन गर्नुभयो । 

प्रधानमन्त्री ओली २०४७ जेठ १ गते पार्टीको युवा संस्था– प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष हुनुभयो । प्ररायुसंघलाई राष्ट्रिय अहिले  युवा संघ बनाइएको छ । 

प्रधानमन्त्री ओलीले २०४७ पुस २२ गते नेकपा माले र नेकपा माक्र्सवादीबीच एकीकरणपछि बनेको नेकपा एमालेको संस्थापक केन्द्रीय सदस्य बन्नुभयो । त्यसको दुई वर्षपछि २०४९ सालमा केन्द्रीय विदेश विभागको प्रमुखको जिम्मेवारी पाउनुभयो ।प्रधानमन्त्री ओली २०५० केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारी सहित पोलिटब्युरो सदस्य निर्वाचित हुनुभयो । 

२०५१ साल मङ्सिर १४ गते पहिलो कम्युनिष्ट पार्टीका प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा गठित  लोकप्रिय सरकारमा ओली गृहमन्त्रीको रूपमा २०५१ देखि २०५२ नौ महिना हुनुभयो । यस्तै २०५१ सालमा पार्टी संसदीय विभागको प्रमुखको जिम्मेवारी पाउनुभयो । 

२०५४ माघ नेपालगंजमा भएको पार्टीको छैटौँ राष्ट्रिय महाधिवेशनमा उहाँले प्रस्तुत गर्नु भएको कार्यनीतिक प्रस्ताव अत्यधिक मतद्वारा पारित भएको थियो र सोही महाधिवेशनमा उहाँ स्थायी समिति सदस्यमा निर्वाचित र विदेश विभाग प्रमुखको जिम्मेवारी पाउनुभयो । प्रधानमन्त्री ओली २०५६–२०५९ सालसम्म प्रमुख प्रतिपक्षी दलको उपनेताको रूपमा संसदमा भूमिका निर्वाह गर्नु भएको थियो ।  

आफ्रो–एसियन पिपुल्स सोलिडारिटी अर्गनाइजेसन एएपिएसओ नेपाल का अध्यक्ष २०५७ मा हुनु भएका ओली अहिलेसम्म पनि हुनुहुन्छ । 

एमालेको जनकपुरमा २०५९ माघमा भएको पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रीकरण र बहुपदीय प्रणाली सुरु गर्ने प्रस्ताव उहाँले प्रस्तुत गर्नुभएको थियो र उक्त प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थगित भयो । सोही महाधिवेशनबाट ओली स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुन निर्वाचित हुनुभयो ।  

दोस्रो जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पुनस्र्थापित सांसदद्वारा २०६३ वैशाखदेखि २०६३ चैतसम्म  बनेको सरकारमा उहाँ उपप्रधान मन्त्री तथा विदेश मन्त्रीमा नियुक्ति हुनु भएको थियो । पार्टीमा उहाँ २०६५–२०६६ केन्द्रीय पार्टी स्कुल विभाग प्रमुखको रूपमा काम गर्नुभयो । 

२०६५ साल फागुनमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनमा उहाँले प्रस्तुत गर्नु भएको आन्तरिक लोकतान्त्रीकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत भयो र सोही महाधिवेशनमा अध्यक्ष पदको प्रत्याशी, तत्कालीन अध्यक्ष झलनाथ खनालद्वारा पराजित हुनुभयो र उहाँ विदेश विभागको प्रमुखको जिम्मेवारी सहित स्थायी समितिमा निर्वाचित हुनुभयो ।  

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : ४५ बजे