दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लक्ष्यभन्दा ४ खर्ब ६ अर्ब कम राजस्व उठेपछि अर्थतन्त्र जोखिममा

काठमाडौैं । चालु आर्थिक वर्ष सकिन दुई दिन बाँकी रहँदा सरकारले १० खर्ब १६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको ७१ दशमलव ४३ प्रतिशत मात्रै हो । 
चालु आवमा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । उक्त आव सकिन दुई दिन बाँकी रहेको छ । असार २९ सम्म सरकारले १० खर्ब १६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्बको बजेट विनियोजन गरेको थियो । 
विगत चार वर्षमा सरकारले असार महिनामा मात्र संकलन गरेको राजस्वको तथ्यांकलाई हेर्दा १ खर्ब ४८ अर्बदेखि १ खर्ब १७ अर्ब रुपैयाँसम्म छ । यस हिसाबले सरकारले बढीमा असार महिनामा १ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गर्दा १० खर्ब ६९ अर्ब रुपैयाँ हाराहारीमा मात्र राजस्व संकलन हुने देखिन्छ । राजस्व संकलनको अवस्था हेर्दा सरकारले चालु आवमा लिएको राजस्व लक्ष्यको नजिक समेत पुग्ने देखिदैन् । 
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७–०७८ को असार महिनामा १ खर्ब ४८ अर्ब राजस्व संकलन भएको थियो । आव २०७८–०७९ को असारमा १ खर्ब २५ अर्ब र आव २०७९–०८० मा १ खर्ब १७ अर्ब राजस्व संकलन भएको थियो । गत आर्थिक वर्ष २०८०–०८१ मा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ९ खर्ब ५७ अर्ब रुपैयाँ प्राप्त गरेको थियो । वार्षिक राजस्व संकलन ९ खर्ब ५७ अर्ब रुपैयाँ उठाउँदा असार महिनामा मात्र १ खर्ब २० अर्ब रुपैयाँ राजस्व उठाएको थियो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत वर्ष सरकारले दुई दिनमा २८ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यस हिसाबले चालु आवको राजस्व करिब साढे १० खर्बको आसपास मात्र पुग्ने देखिन्छ । 
चालु आवमा सरकारले लिएको लक्ष्य पूरा गर्न नसके पनि गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले राजस्व संकलनमा सुधार देखिएको अर्थले दाबी गरेको छ । अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख धनिराम शर्माले विद्युतीय गाडीमा दिएको भन्सार छुटले राजस्व संकलनमा कमी आएको बताएका छन् । विद्युतीय गाडीमा भन्सार छुटले करिब ४० अर्ब भन्सार राजस्वमा कमी आएको अर्थले बताएको छ । 
आर्थिक वर्ष पूरा हुँदासम्ममा संशोधित लक्ष्य पुरा नभए पनि ११ खर्ब रुपैयाँ आसपास राजस्व संकलन हुने दाबी अर्थले गरेको छ । राजस्व आयात मुखी हुँदा पछिल्लो समय आयात र निर्यात दुवै घट्दै गएकाले राजस्व संकलनमा कमी आएको हो । 
भन्सारबाट बढी राजस्व संकलन हुने वस्तुको आयात पछिल्लो समय कम देखिएले त्यसको असार राजस्वमा परेको छ । बढी राजस्व आउने वस्तुको आयात कम रहेको अर्थले बताएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको आयात बढी छ । विद्युतीय सवारी साधनमा भन्सार दर कम छ । विद्युती सवारी साधनले गर्दा ४० अर्बमा कमी आएको अर्थका अधिकारीले बताएका छन् । 
महालेखाको तथ्यांक अनुसार असार २९ सम्मा पुँजीगत खर्च लक्ष्यको ६०.८६ प्रतिशत भएको छ । सरकारले चालु आवमा पुँजीगत खर्च गर्ने लक्ष्य ३ खर्ब २ अर्ब रुपैयाँ लिएको थियो । जसमध्येमा चालु आवको दुई दिन बाँकी हुँदा १ खर्ब ८३ अर्ब रुपैयाँ मात्र खर्च गरेको छ । यस्तै चालुतर्फ लक्ष्य अनुसार ८३.१९ प्रतिशत खर्च गरेको छ । ११ खर्ब ४१ अर्ब खर्च गर्ने लक्ष्य लिएकोमा ९ खर्ब ४९ अर्ब रुपैयाँ खर्च गरेको छ ।
 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : ५८ बजे