दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

 सत्ता परिवर्तन बन्दुकको नालबाट होइन जनताको मतबाट- पूर्व राष्ट्रपति भण्डारी (भिडियोसहित)

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सत्ता बन्दुकको नालबाट मात्रै आउने भाष्य फेरिइसकेको बताउनुभएको छ ।

शनिबार काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा अवस्थित जहरसिं पौवामा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले सत्ताको निर्धारक बन्दुक नभई जनता भएको विषयमा प्रष्ट मत राख्नुभएको हो । पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, 'हिजो सत्ता बन्दुकको नालबाट मात्र आउँछ भन्ने मान्यता थियो, तर आज त्यसको विकल्प आइसक्यो । वास्तवमा सत्ता जन्मिने भनेको जनताको मत र विश्वासबाट हो ।'

उहाँले जनतामा चेतनाको स्तरमा तीव्र विकास भैसकेकाले विगतको पुरातनवादी सोच फेरिएर शान्तिपूर्ण ढंगले नै परिवर्तनमा जानु पर्छ भन्ने मानसिकता विकास भएको यथार्थतामा जोड दिनुभयो । जनता नै मुलुकको हरेक विषयमा निर्णायक रहेको भन्दै उहाँले भन्नुभयो, 'वास्तवमा सत्ता जन्मिने भनेकै जनमतबाट हो । जसरी जीवन बचाउन रक्तदानको महत्व छ, त्यसैगरी राष्ट्रको जीवनको लागि मतदानको ठूलो महत्व हुन्छ ।'

विगतको तुलनामा अहिले लोकतन्त्र र मानवअधिकार जस्ता महत्वपूर्ण विषयमा मुलुकका सबै तप्काको चासो र अभिरूची भएकाले आशावादी हुने प्रशस्त ठाउँ रहेकोमा उहाँले जोड दिनुभयो । 

यस्तै पूर्व राष्ट्रपति भण्डारीले बढ्दो वातावरणीय चुनौती र त्यससँग लड्नका लागि वनजङ्गलको आवश्यकताबारे समेत महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो । उहाँले बढ्दो शहरीकरणका कारण पानीका मुहान सुक्दै गएकाले यसबारे सचेत हुन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले पर्यावरण परिवर्तनको चुनौती बढेको सन्दर्भलाई उप्काउँदै भन्नुभयो, 'पानीको मुहान सुक्दैछन्, हिमालका हिउँहरू बढी पग्लिइरहेको छ । यसमा ध्यान दिनु पर्ने भैसकेको छ ।'

पेट्रोलको विकल्प भए पनि पानी विकल्प नभएकाले यसबारे सबै जना सचेत हुनुपर्ने उहाँको भनाई छ ।

जहरसिं पौवामा पूर्व राष्ट्रपति भण्डारीको सहभागितामा करिब डेढ सयको हाराहारीमा वृक्षारोपण गरिएको छ । यसले त्यहाँको वातावरण, पानी मुहान संरक्षण र सडक सौन्दर्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । जहरसिं पौवा पूर्व राष्ट्रपति भण्डारीले  २०५० सालको उपनिर्वाचनमा निर्वाचित भएको क्षेत्रसमेत हो ।  तर, २०५१ सालको मध्यावधि निर्वाचनका बेला क्षेत्र परिवर्तन भएको समेत उहाँले स्मरण गर्नुभयो । 

कार्यक्रममा सहभागीहरूले नेपाली राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको आवश्यकता भएकाले सक्रिय राजनीतिमा आउन अनुरोध गरेका छन् । 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ७ : ४९ बजे