राष्ट्रियता जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण : महामन्त्री राणा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । राप्रपाको आन्दोलनमा समेत अवकाशप्राप्त सैनिकहरुको अनुभव, ज्ञान र सीप निर्णायक रहनेमा जोड दिनुभएको छ ।

‘पूर्वसुरक्षाकर्मीहरु देशका खम्बा हुन् । यही यथार्थलाई मनन् गर्दै पार्टीले संचालन गरेको आन्दोलनमा पूर्वसुरक्षाकर्मीहरुको सक्रिय र सिर्जनशील योगदान हामीले आश गरेका छौं । विकृति र विसंगति अन्त्य गरेर देश र समाजलाई सही बाटोमा ल्याउन राप्रपाले आन्दोलन जारी राखेको छ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाव प्रमुख राणाले शनिबार भन्नुभयो ।

‘राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने आन्दोलनमा पूर्वसुरक्षाकर्मीहरुको प्राविधिक ज्ञान र सीप निर्णायक हुनेमा दुइ मत छैन । पात्र र प्रणाली दुवै असफल भएको सन्दर्भमा सेवानिवृत सुरक्षाकर्मीको निष्ठा र इमान्दारीले दुरगामी महत्व राख्नेछ,’ उहाँले भन्नुभयो ।

राप्रपा केन्द्रीय कार्यालयमा राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनद्वारा आयोजित कार्यक्रममा नेपाली सेनाका तीनजना अवकाशप्राप्त मेजरसहित १५ जनाले पार्टी प्रवेश गर्नुभएको थियो ।  राप्रपामा प्रवेश गर्नेहरुमा अप्रा मेजर शंकर श्रेष्ठ, अप्रा मेजर प्रकाश गुरुङ, अप्रा मेजर तारा खत्रीलगायत मोहनबहादुर अधिकारी, कृष्णबहादुर श्रेष्ठ, बालकृष्ण ढकाल, माधव सिग्देल, उपेन्द्र कुँवर, राजाराम थापा, गणेश थापा, पदम क्षेत्री, प्रविण धरेल र कृष्णबहादुर तामाङ रहनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङले देशले परिवर्तन मागेको र यो परिवेशमा पूर्वसुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।

एकपटकको सैनिक सदाका लागि सैनिक हुने बताउँदै राप्रपासम्वद्ध सैनिक संगठन अध्यक्ष प्रकाशजंग कार्कीले राष्ट्र, धर्म र सँस्कृतिको पक्षमा सदैव संघर्षशील रहने बताउनुभयो । ‘सेवामा होस वा सेवा निवृत्त भएको अवस्थामा, सेनाको मुट र मनमा सत्यको बास हुन्छ । यस अर्थमा माटोको रक्षामा हामी सदा लडीरहने छौं,’ उहाँले भन्नुभयो ।
 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : ४५ बजे