दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

डेट लाइन असार २९  : ओलीको ‘पुनरागमन’ , माधवहरुको ‘हरिबिजोग’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार मुलुकको तेस्रो पटक प्रधानमन्त्री बन्न लागिरहेका बेला तीन वर्ष अघि आजैका दिन ओलीको सत्ता ढाल्ने माधव कुमार नेपाललाई धेरैले सम्झिरहेका छन् । 

तीन वर्ष अगाडी २०७८ साल असार १९ गते माधव नेपालकै अगुवाइमा ओली नेतृत्वको सरकार ढालेर काग्रेंस सभापति शेरबहादुर देउवाको नेतृत्वमा परमादेशको सरकार बन्दा नेपाल जति खुसी थिए, तीन वर्षपछि आजैका दिन देउवाकै समर्थनमाओली नेतृत्वको सरकार बनिरहँदा माधव नेपाल त्यति नै बेचैनी र छटपटाहटमा रहेको उहाँ निकट नेताहरु बताउँछन् । 

राजनीतिको चक्र कसरी घुम्दो रहेछ भने दृष्टान्त सम्झाउने तीन वर्ष अघिको असार २९ र अहिलेको असार २९ को ‘डेट लाइन’ नियमित आकस्मिकता मात्र हुन नसक्ने धेरैकाे बुझाई छ  ।

 तीन वर्ष अघि १५ वर्ष एमालेको नेतृत्व गर्नुभएका माधव कुमार नेपालको अगुवाइमा एमालेकै सरकार ढालेर परमादेशमार्फत काग्रेंस नेतृत्वको सरकार बनेको थियो । 

तीन वर्षको यो बिचमा बागमतीमा कति पानी बग्यो होला त्यसको कुनै हिसाब नहोला तर आजैका दिन बालुवाटार छोडेर बालकोट पुग्नुभएका ओली जनादेशमार्फत बालुवाटारमा पुनरागमन हुने निश्चित जत्तिकै छ । 

ओलीको परमादेशको बहिर्गमन त जनादेशमार्फत पुनरागमन भयो तर कुनै समय सबैभन्दा ठुलो कम्युनिष्ट पार्टीका अध्यक्ष बन्नुभएका माधव नेपालको राजनीति भने  सदा सदाका लागि किनारातर्फ धकिलनसक्ने गरी असार २९  पुर्नउदय भएको धेरैको बुझाइ छ । 

माधव र ओलीलाई नजिकबाट बुझ्नेहरू तीन वर्ष अगाडी आजैका दिन अदालतको परमादेशबाट ओली नेतृत्वको सरकार ढाल्न माधव नेपालले षडयन्त्रपूर्ण  भूमिका नखेलेको भए राजनीतिको यत्ति धेरै किनारामा बसेर रोइलो मच्चाउनु पर्ने दिन माधवका लागि कहिल्यै आउन सक्थ्याे भनेर कल्पनासमेत गर्न नसकिने बताउँछन् । 

‘त्यतिखेर पार्टीका अमिल्दा कुरा सहेर बसेकाे मात्र भए पनि माधव नेपाल अहिलेसम्म प्रधानमन्त्री र भविष्यमा राष्ट्रपतिसम्म हुनसक्नुहुन्थ्यो, अब आगामी चुनावमा कहाँबाट उठ्ने र कसरी जित्ने भनेर सोच्नु पर्ने ठाउँमा पुग्नुभयो’, माधवलाई नजिकबाट निहालिरहेकाहरूको विश्लेषण छ ।  

‘पार्टीमा बहस, विवाद भए पनि आफ्नै सरकार ढाल्ने काम माधव नेपालले गर्न हुँदैनथ्यो । तर, माधवले त्यो बेला गर्नुभएको राजनीतिक ‘कू’को जवाफ  बिस्तारै भोग्दै हुनुहुन्छ’, कुनै समय माधव नेपालको निकट रहेर काम गर्नुभएका नेकपा एमालेका एक नेताले भन्नुभयो । ‘उहाँ हाम्रै नेता हुनुहुन्थ्यो, हामीलाई उहाँले त्यसो गर्नुहोला भन्ने लागेकै थिएन, हामी यहाँ छौ भनेर  विरोधीसँग बसेर सडकमा रोइलो गर्नुभयो, आज उहाँ कहाँ हुनुहुन्छ हामीले खोज्ने कुरै भएन नि’उहाँले भन्नुभयो ।  

आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर काग्रेंस सभापति शेरबहादुर देउवालाई  प्रधानमन्त्री बनाउन भूमिका खेल्नु भएका नेपाल अहिले उनै देउवाकै प्रस्तावमा प्रधानमन्त्री हुँदा बेचैनी र छटपटाहटमै रहेको हुनसक्ने उहाँले अनुमान गर्नुभयो । 

‘राजनीति त कुमालेको चक्र जस्तै पो हो, तर उहाँ हामीलाई टच बालेर खोज्ने ठाउँमा पु¥याउछु भनेर भन्नुहुन्थ्यो, आज उहाँ कहाँ हुनुहुन्छ हामीले किन टच बाल्नु पर्‍यो र ?’ हाँस्दै उहाँले जवाफ दिनुभयो । 

हुँदोखाँदाको पार्टी फोडेर, गर्नसम्मको फण्डा गर्नुभयो, नेपाली राजनीतिबाट पुष्पकमल  दाहालको त भविष्य समाप्त हुन बेर छैन, माधवका के कुरा, माधवसँग अब बेचैनी र छटपटाहट बाहेक केही हुन नसक्ने उहाँको बुझाई छ । ‘त्यत्रो उठेको नेता रसातलमा पुगेको छ, के चलेको होला ? कस्तो चलेको होला तपाई आफै अनुमान गर्नुस् न’ ती नेताको पश्न थियो । 

नेपाली राजनीतिको लय समाउन नसक्दा माधव नेपालको ओरालो यात्रा अब नरोकिने नेकपा एसकै नेताहरू बताउँछन् । 

माधव नेपाललाई साथ दिँदा आफूहरूको राजनीति पनि समाप्त भएको नेकपा एसकै असन्तुष्ट कार्यकर्ताहरूको आवाज छ । 

‘माधव नेपालले आफू बाहेक अरूलाई एमालेको नेतृत्व स्वीकार गर्न नसक्दा बिलखबन्दमा पर्नुभएको छ । ‘ओलीलाई टच बालेर खोज्नु पर्ने बनाइदिन्छु भन्दै आवेग पोख्नु हुन्थ्यो अब  माधव स्वयमलाई पो टच बालेर खोज्नु पर्ने भयो’, आफू प्रधानमन्त्री हुने आशामा रहेका माधवलाई अब कुनै दिन काग्रेंस वा माओवादीले अँगालो हाल्लीहाले एक दुई वटा मन्त्रीसम्म पाइएला कि भन्ने आस थियो त्यो पनि ओलीको पुनरागमनले समाप्त भयो’ उहाँले बताउनुभयो ।  

अहिले माधव नेपालको अवस्था कस्तो छ भनेकुरा सांसद् मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले शुक्रवार विश्वासको मत गुमाएपछि संसद्मै राखिसके उहाँले बताउनुभयो ।  ‘काग्रेंसलाई धेरै गाली नगरौँ, कुनै दिन हाम्रा पनि दिन फर्किएलान् भनेर मेटमणीले संसद्मा त भनिसके, त्यो भनेको भाग्न लागेका कार्यकर्ताहरूलाई ललिपप न हो’ उहाँले आक्रोश पोख्नुभयो । 

माधव नेपालकै कारण माओवादी केन्द्र र एमालेबीच दुरी बढेको ती नेताको बुझाई छ । 

‘बजार हल्ला जे सुकै होस्, माधव नेपालले एमालेसँगको गठबन्धन भत्काउन गरेका अनेकौँ प्रयासकै कारण आज माओवादी र हामी सत्ता बाहिर छौँ’उहाँले भन्नुभयो । 

त्यसो त माधव नेपालले प्रचण्डलाई प्रमुख अतिथि बनाएर राष्ट्रियपार्टीसमेत बन्न नसकेको नेकपा एकीकृत समाजवादीको असार  १६ गते निक्कै तामझामका साथ पार्टीको महाधिवेशन उद्घाटन गर्नुभएको थियो ।  पार्टी महाधिवेशनमा पस्किएको राजनीतिक दस्ताबेजमा एमाले नेतृत्वमाथि हुनसम्मको हिजो छ्याप्नु भयो,आज देउवा र ओलीको अकल्पनीय मिलनसँगै माधव नेपाल ज्यूका ओठ मुख सुके’ उहाँले भन्नुभयो । 

पार्टी उद्घाटनका दिन एमालेको सत्तोसराप गरे पनि त्यसको भोलिपल्टै काग्रेंस र एमालेबीच सत्ता साझेदारी भएपछि माधव नेपाललाई त्यतिखेरै नमिठो झापट लागेको उहाँले बताउनुभयो । 

काग्रेंस–एमाले समीकरणले  नेकपा एसको महाधिवेशन नै निराशा जनक बन्न पुगेको उहाँले बताउनुभयो । ‘उद्घाटनको जति चर्चा थियो समापनको कुनै समाचारहरू बने ?’, उहाँले प्रश्न गर्नुभयो । 

‘अध्यक्ष उठ्छु भनेर कसिएका घनश्याम भुसाल महासचिव र झलनाथ खनाललाई सम्मानित नेता बनाउँदै नेपाल अध्यक्ष त हुनुभयो । त्यस लगत्तै काग्रेंस एमाले गठबन्धनले ‘ओल्लो तिर न पल्लो भीर’को अवस्थामा पुगनुभएकाे’, ती नेताले भन्नुभयो ।  

‘आफ्नै पार्टीको सरकार ढालेर विपक्षीलाई प्रधानमन्त्री बनाउने कालो इतिहासको विरासत बोक्नुभएका  नेपालले अघिल्लो निर्वाचनमा ओलीलाई घेराबन्दी गर्न काग्रेंस–माओवादी गठबन्धनमासामेल हुनुभएको थियो । काग्रेंस माओवादी गठबन्धनको सहारामा प्रतिनिधिसभामा मिलेको १० सिटको ‘तर’ कुनदिन फाट्ने हो त्यसकोसमेत स्वंयम नेपाललाई भर छैन । ‘भएका कार्यकर्ताहरूले धमाधम पार्टी छोडिरहेका छन्, अरू त अरू हात समातेर पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पु¥याउने र बागमती किनारामा रहेको पार्टी मुख्यालयको भाडा तिर्दिनेहरूसमेत माधवदेखि तर्किरहेका छन्’, केन्द्रीय सदस्यमा नअँटाएका नेकपा एसका ती नेताले भन्नुभयो । 

‘अब माधवको पार्टी ढिलो चाँडो विघटनको दिशामा छ, सत्ताको ललिपप सकिएसँगै, बचेखुचेका कार्याकर्ता कसरी जोगाउने, पार्टी कार्यालय कसरी चलाउनेभन्नेमा हामी पनि छटपटीमा छौ’ उहाँले भन्नुभयो । केन्द्रदेखि प्रदेशसम्म ‘तर मार्नेहरू’ले त कुनै पनि दिन पार्टी छोड्न सक्छन् । आगामी निर्वाचनसम्म यही समीकरण रहिरहे ‘कन्तबिजोग’ हुने भयो,ओलीको डाहमा माधवको ‘पत्तासाफ’ धेरै टाढा रहेन’उहाँले भन्नुभयो ।  ‘प्रचण्डसँग मिलेर पार्टी नै ‘हाइज्याक’ गर्न खोज्नु भयो सक्नुभएन, विपक्षीसँग मिलेर चुनाव लडेर एमालेलाई देखाउन खोज्नुभयो सक्नुभएन, आज भएका सांसदहरु कसरी जोगाउने भनेर सोच्नुभइरहेको छ त्यो समालिने अवस्था नै छैन, अनि पत्तासाफ नभए के त ?’ती नेताले प्रश्न गर्नुभयो । 

जानकारहरु त झण्डै दुई तिहाईको सरकार ढालेर माधव नेपाल र पुष्पकमल दाहालले त्यतिखेर नेकपा विभाजनका लागि जुन भूमिका खेल्नुभयो त्यस्को मूल्य जीवनभर चुकाउनु पर्ने बताउँछन् । ‘हिजो यता उता अर्को पार्टीको फेरोसमातेर माधव र प्रचण्ड जीले जति सत्तारोहण गर्नुभयो अब केन्द्रदेखि प्रदेशसम्म सबै गुम्ने र अवस्था छ, प्रचण्ड जीले काँध फेर्दै घुमाइरहनुभएकै थियो, तीनवर्षदेखि फेरिरहनुभएको काँधमा बस्न अब एमाले र काग्रेंस कोही तयार छैनन्,आगामी निर्वाचन माओवादी एक्लै लड्नु पर्ने अवस्था आए माओवादीको अवस्था पनि माधव नेपालको भयावह हुन्छ ।’ ती नेताले भन्नुभयो ।  

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  २ : ३८ बजे