दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आफ्नै दाउपेचमा फसेका प्रचण्ड

पर्दा उघारिँदा प्रचण्ड सरकारको पतन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारको प्रक्रियासँगै प्रतिनिधिसभाको विश्वास गुमाउनुभयो ।  २ सय ७५ सङ्ख्या रहेको प्रतिनिधिसभामा दुई तिहाइभन्दा बढी मत उहाँको विपक्षमा पर्‍यो । 

नेपालको इतिहासमा प्रधानमन्त्री चरम अल्पमतमा परेर सत्ता छोड्नु परेको सम्भवतः यो पहिलो घटना हो ।  २०७९ पुस १० गते प्रधानमन्त्री हुनुभएका दाहालले १८ महिने छोटो अवधिमा पाँच पटक विश्वासको मत लिनु परेको दुर्दान्त दृश्य नेपाली जनताले देख्न पाए । विश्वासको मत लिनु अघि प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर एमाले-काँग्रेसको नयाँ समीकरणलाई सहयोग गर्न आग्रहसमेत भएको थियो ।

संसद्का दुई ठुला दल नेकपा एमाले र नेपाली काँग्रेससँग अंकगणितको चतुर खेलमार्फत  १८ महिनादेखि प्रचण्ड सत्तामा सवार हुँदै आउनुभएको थियो । तर, त्यो 'तिलस्मी जादु' काठमाडौंदेखि नयाँदिल्लीसम्म 'एक्सपोज' भएपछि असारे झरीमा प्रचण्ड सत्ता यसरी ढल्यो कि नेपाली राजनीतिमा प्रचण्डको उदय अब फेरि सम्भव नहुन सक्छ । 

गत संसदीय निर्वाचनमा प्रचण्डले काँग्रेससँग गठबन्धन गरेर माओवादी केन्द्रलाई ३२ सिटको बैशाखी दिलाउनु भएको थियो । निर्वाचन सकिएपछि काँग्रेस सभापति शेरबहादुर देउवा स्वभावतः प्रधानमन्त्रीका दाबेदार हुनुहुन्थ्यो । तर, सत्तारोहण नै प्रचण्डको मुख्य ध्येय रहेको सुईँको पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटको बार्दलीमा स्वागत गरेर उहाँलाई प्रधानमन्त्री बनाइदिनुभयो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाइदिँदा प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति आफ्नो पार्टीबाट निर्वाचित हुने देखेपछि एमाले अध्यक्ष ओलीले त्यो बाटो अख्तियार गर्नु राजनीतिको मर्म सम्मत नै थियो । प्रचण्ड प्रधानमन्त्री बनेपछि काँग्रेसले समर्थनको मत समेत दियो ।
  
काँग्रेसको समर्थनलाई देखाएर दाहालले बालकोटमा गरिएको सहमति उलङ्घन गर्नुभयो र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालकोसमेतको सहयोगमा पहिलो वामपन्थी राष्ट्रपति विद्यादेवी भण्डारी पछि दोस्रो पटक वामपन्थी कित्ताबाटै  हुन लागेको राष्ट्रपति पद किस्तीमा राखेर काँग्रेसलाई बुझाउनुभयो ।  परिणामतः एमालेबाट प्रस्तावित संविधानसभाका अध्यक्षसमेत रहनुभएका सुवास नेम्वाङ रामचन्द्र पौडेलसँग पराजित हुनुपर्‍यो । 

एमालेसँग सहकार्य तोडेर काँग्रेससँग मितेरी साइनो गाँस्नुभएका  प्रचण्डलाई फेरि राष्ट्रियसभामा आफ्नो भाइ ल्याउने पर्ने लालसा जाग्यो । दाहालले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा ल्याउन दिएको बचन तोड्दै काँग्रेसलाई सुइँकोसम्म नदिई फेरि एमालेसँग सत्ता साझेदारी गर्न पुग्नुभयो ।
 
कहिले एमाले त कहिले काँग्रेससँग काँध फेर्दै सत्तारोहण भइरहे पनि प्रचण्डका गुप्त क्रियाकलाप दुवै दलका शीर्ष नेताहरू एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाले नियाली रहनु भएको थियो । 

प्रचण्डले प्रधानमन्त्रीका रूपमा काठमाडौंदेखि नयाँ दिल्लीसम्म गरेका कतिपय गतिविधि  दुवै नेतालाई निको लागिरहेको थिएन । सोही कारण ओली र देउवालाई असार १५ मा दही चिउरा खाँदै वार्ता गर्नुपर्ने परिस्थितिमा ल्याइपुर्‍यायो । र, प्रचण्ड सरकार 'बुमराङ' खान पुगेको दृश्य संसद् बैठकमै घाम जत्तिकै छर्लङ्ङ देखियो । 

एमालेसँग फागुन २१ गते सत्ता सहकार्य गरे पनि प्रचण्डले भित्रभित्रै एमाले विरुद्धै खेल खेलिरहनुभएको सूचना ओली निवास बालकोटमा पुगिरहेको थियो । विशेषतः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी  भएर फर्किएपछि  प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवालाई  सत्ता हस्तान्तरण गर्ने सुइँको दिएको र त्यसमा देउवा विश्वस्त हुन नसकेपछि प्रचण्ड सत्ताको पतन सुरु भएको विश्लेषकहरूको मत छ । 
 
हुनत पदमुक्त हुनु अघि संसद् बैठकमा प्रचण्डले अरुजति सबै बेठिक आफू मात्रै ठिक भन्ने आशयको अराजनीतिक टिप्पणी गरे पनि नेपाली राजनीतिमा प्रचण्डको पतनमा उहाँ स्वयम् जिम्मेवार भएको दर्जनौँ दृश्टान्तहरु छन् । 

सत्ताका लागि सम्झौता गर्दै हिँड्ने र त्यसका लागि छेपारोले झैँ रङ्ग फेर्ने प्रवृत्तिको पुनरागमनकै कारण प्रचण्डको सत्ता पतन भएको धेरै टिप्पणी छ । आफ्नै पार्टीका पूर्व सहकर्मीहरूलाई जुधाएर जीवनभर पार्टी अध्यक्ष रही रहनुभएका प्रचण्डले सोही शैलीमा एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवा भिडाएर फाइदा लिन खोज्दा सत्ता विमुख हुनुपरेको सतहमै देखिएको छ ।

पार्टीमा आफ्नो राज कायम गर्न बाबुराम भट्टराई, मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा बादल, नेत्र विक्रम चन्दजस्ता दर्जनौँ नेतालाई टिक्न नदिएको इतिहासका पाना सजिलै भेटिन्छन् । त्यसो त अघिल्लो संसदीय निर्वाचन पछि एमाले र माओवादी बीच एकता भई बनेको नेकपा फुटाउन पनि माधव नेपालको उक्साहटमा प्रचण्डकै भूमिका रहेको थियो ।  

प्रचण्डको छलाङमय उडान

झण्डै संसद्को शतप्रतिशत मत पाएर तेस्रो पटक प्रधानमन्त्री हुनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री भएको १८ महिनापछि दुई तिहाइभन्दा बढी सांसद्को अविश्वासको मतका कारण पद मुक्त हुन परेको छ । 

दाहालको सत्तारोहण जति कष्टकर थियो, बहिर्गमन पनि उस्तै टिठलाग्दो हुन पुगेको छ । दाहाल प्रधानमन्त्री हुँदा निर्वाचनमा गठजोड गरेको सहयात्री दल नेपाली काँग्रेसलाई छोडेर बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुग्नु परेको थियो । निर्वाचनबाट तेस्रो शक्तिकोरुपमा उदाए पनि दाहालले निर्वाचनमा आफैले सहकार्य गरेको गठबन्धनको मुख्य घटक र सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई धोका दिएर एमालेसँग सहकार्य गर्नु भयो ।

३२ सिटको चमत्कारिक नम्बर रहेको उद्घोष गर्दै सधैँ बलिष्ठ बन्ने उहाँको दाउपेचमा भने शुक्रबारको मतदान प्रक्रियाले विराम लगाइदिएको छ । 
 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : ५१ बजे