चुम्बकले खोज्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका बस

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् ।

सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था अझै अज्ञात छ । 

त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ । तर अहिलेसम्म केही पनि फेला पार्न नसकिएको उाँले बताउनुभयो । दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसके पनि बसको अवस्था पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो । पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन । त्यसकारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : ४५ बजे