दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमाले सचिवालयकाे निष्कर्ष : सरकार संविधानको धारा ७६ (२) अनुसार नै

काठमाडौ‌ं । नेकपा (एमाले)ले संविधानको धारा ७६(२) अनुसार नै आगामी नयाँ सरकार बन्ने निष्कर्ष निकालेको छ । 

आज पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६(२) अनुसार स्थिर र बलियो सरकार बनुन्जेलसम्म सोही धाराबाट नै सरकार बन्ने निष्कर्ष निकालेको हो । 

बैठकको निर्णयबारे पत्रकारलाई जानकारी गराउनुहुँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले एउटै धाराबाट पटक पटक सरकार बन्न सक्ने  प्रस्ट पारेको नजिर रहेका भन्नुहुँदै आगामी सरकार पनि संविधानको धारा ७६ (२) अनुसार नै बन्ने बताउनुभयो । 

उहाँले अब बन्ने नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार गठन हुनेमा कुनै पनि संवैधानिक जटिलतासमेत नरहेको स्पष्ट पार्नुभयो ।

२०७८ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विश्वासको मत माग्दा बहुमत नपुगेपछि राजीनामा दिनु परेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘संविधानको धारा ७६ (२) अनुसार बनेको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत माग्नुभयो । तर पुगेन र राजीनामा दिनुभयो । प्रधानमन्त्री ओलीले राजीनामा दिइसकेपछि राष्ट्रपतिले फेरि ७६ (२) अनुसार नै सरकार बनाउन दलहरूलाई आह्वान गर्नु भएको थियो तर दिएको समय सीमाभित्र कसैको माग दाबी नभएपछि ओलीलाई ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । सङ्घीय सरकारमा पनि यो नजिर छ । कोसी सरकारमा पनि सर्वोच्च अदालतले एउटै धाराबाट पनि पटक पटक सरकार बन्न सक्छन् भनेर प्रस्ट पारिसकेको छ ।’ 

उपमहासचिव ज्ञवालीले सुरुमा निर्वाचन भइसकेपछि ती धारा क्रमशः जाने उल्लेख  गर्नुहुँदै संविधानको ७६ (१) बहुमत प्राप्त दलले सरकार बनाउने, ७६(३) मा दुई वा दुई भन्दा बढी दलको बहुमत पुगेमा सरकार बनाउने, ७६ (३) मा प्रतिनिधि सभामा सबभन्दा ठुलो दलले सरकार बनाउने उल्लेख गरिएको बताउनुभयो । 

उहाँले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन सक्नुभएन भने अब नयाँ सरकार ७६(३)मा जान्छ भन्नु संविधानले नै नबुझेको र जानी जानी भ्रम फैलाउने कुरामात्र भएको बताउनुभयो । ‘संविधानको धारा ७६(२) अनुसार बनेको सरकारले ७६ (४) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र विश्वासको मत लिन सकेन भने ७६(३) अनुसार जाने हो । प्रचण्डले विश्वासको मत तीन पटक लिइसक्नुभयो । प्रधानमन्त्री दाहालले ७६ (४) अनुसार विश्वासको मत प्राप्त भएन भने नयाँ सरकार ७६(३) अनुसार बन्छ भन्नु संविधानले नचिनेको कुरा हो’,उहाँले भन्नुभयो । 

संविधान संशोधन आवश्यक

उपमहासचिव ज्ञवालीले संविधान गतिशील दस्ताबेज भएको बताउनुहुँदै संशोधन गर्ने सकिने बताउनुभयो । 

उहाँले नेपाली काँग्रेससँगको सहकार्यमा बन्ने नयाँ गठबन्धन सरकारले संविधान संशोधन त कुन कुन बुँदामा कुरा स्पष्ट नभइसकेको बताउनुभयो । 

उहाँले संविधान जारी भएको १० वर्ष भएको र यो १० वर्षमा संविधान रिभ्यु गर्न आवश्यक रहेको बताउनुभयो । 

नेपालमा पहिलो पटक २०७२ मंसिर र दोस्रो पटक २०७७ सालको जेठ पनि संविधान संशोधन भएको उल्लेख गर्नुहुँदै गरिएका संविधानका संशोधन प्रतिगामी नभएको बताउनुभयो । 

‘रिभ्यु गर्दा संविधानका केही विषय कार्यान्वयन गर्न सकिन्छ भने ती विषयमा पनि हामी जान्छौ । संविधानका कुनै दफाले राजनीतिक स्थायित्व र बलियो र  स्थिर सरकार बनाउनका निम्ति, प्रदेश सरकार सञ्चालन गर्न कहीँ कतै अप्ठ्यारा पारेका छन् भने त्यो रिम्यूमा आधारित भएर संविधान संशोधन गर्छौ’ उहाँले भन्नुभयो, ‘हामीले सुशासन र राजनीतिक स्थायित्वका निम्ति यदि कतै संविधानका प्रावधानमा कतै वाधा छन् भने त्यसमा केन्द्रित भएर संविधान संशोधन गर्दछौ ।’

उहाँले आगामी निर्वाचनमा सबै दल आ–आफ्ना एजेन्डामा एक्ला एक्लै निर्वाचन लड्नुपर्ने र जनताले जसको पक्षमा जनादेश दिन्छन् त्यसैले सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । 

उपमहासचिव ज्ञवालीले अझै पनि सरकारलाई दुई दिन भएकोले भ्रष्टाचारका फाइल खोल्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले एमाले र काँग्रेसले राष्ट्रिय सहमतिको सरकार आउने दललाई हैसियत अनुसार समेट्न सकारात्मक रहेको बताउनुभयो । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ४ : १५ बजे