सुनको मूल्यमा नयाँ कीर्तिमान

कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो

कैलाली । लगातार वर्षाको कारण कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुवानमा परेकाहरुलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ पूर्णागिरीघाट ईलाकामा डुवानमा परेको घरपरिवारका करिब ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेस बडुवाटोलबाट खटिएको सुरक्षा फौजले असार २४ गते सुरक्षित स्थानमा सारेको हो ।

त्यसै गरी सोही जिल्लाको बेदकोट नगरपालिका–७ स्थित सुडा खोलामा पानीको बहाव बढी डुवानमा परेका ३ घरपरिवारलाई नं. ३५ गण कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ । त्यस्तै कञ्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका वडा नं.–११ ब्रमिनी र वडा नं.–१२ ऐरी गाउँ ईलाकामा भुजेल खोलामा पानीको बहाव बढी डुवानमा परेका २० घरपरिवारलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले सुरक्षित स्थानमा सारेको छ ।

यसै गरी कैलाली जिल्लाको कैलाली गाउँपालिका–५ मनिकापुर ईलाकामा कटैनी नदिमा पानीको बहाव बढ्न गई बस्तीमा पस्दा डुवानमा परेका २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारेको हो ।

डुवानमा परेकाहरुको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३४  गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुर र बिओपी छोटिपलीयाको सुरक्षा फौज खटिएको थियो ।  

त्यस्तै सोही जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरी गाउँमा खुटिया नदिमा पानीको बहाव बढी बस्तीमा पस्दा डुवानमा परेका ६ घरपरिवारलाई सामानसहित बिओपी फुलबारीको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी बल नेपालले देशभर विपद् प्रतिकार्यको लागि मनसुन अवधिभर २४सै घण्टा परिचालन हुने गरी ५ सय ४६ इकाईहरुमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति आवश्यक उपकरणसहित तयारी हालतमा राखेको छ ।

त्यस्तै मनसुन अवधिभर सशस्त्र प्रहरीका १ सय १० जना गोताखोर र विपद् उद्धार तालिम प्राप्त जनशक्तिलाई सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरुमा रहेका १ सय २० वटा मोटर बोट तथा र्‍याफ्ट बोटसहित सातै वटा प्रदेशका बाहिनी मुख्यालयहरु तथा उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल तथा देशभरका विपद् व्यवस्थापन बेसहरूमा तयारी हालतमा राखिएको छ ।

बाढी पहिरो तथा डुवानमा परेकाहरुलाई तत्काल उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नं. १११४ मा समेत खबर गर्न सकिने छ ।  

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ०२ बजे