जीवनोपयोगी शिक्षा र सार्थक संस्कृति निर्माण आवश्यक

अहिले नेपाली समाज राजनीतिक व्यथाले आक्रान्त छ । पार्टी पार्टी बीचमा दृष्टिकोणका द्वन्द्व हुनु त स्वाभाविकै हो, एउटै पार्टीभित्रका द्वन्द्व देख्दा मानिसहरूमा यो दलीय व्यवस्थाप्रति नै नकारात्मक सोच जन्मिरहेको छ । यस्तो सोच हलक्क हुर्केर बलशाली हुँदै जाँदा के होला ? कतिपय मानिसहरूका मनमा यी प्रश्न उब्जेका छन् । कतिपयले दलीय व्यवस्थामा यस्तो हुनु स्वाभाविकै हो भनेर आफ्नो मन बुझाइरहेका छन् । अरु कतिपयमा त नेताहरूप्रति तीव्र आक्रोस पैदा भएको छ । हुन सक्छ, यी आमरूपमा यस्तो छ । 

लोकतान्त्रिक व्यवस्थामा पार्टी भिन्न हुने, विचार भिन्न हुने, असमति हुने विषयलाई स्वाभाविक मान्न सकिन्छ । तर, पदीय मर्यादाको ख्याल नगरी जसले, जसलाई, जतिखेर, जे मन लाग्यो त्यही भन्ने, असभ्य, अशिष्ट, अमर्यादित बोलीवचनलाई कुनै राजनीतिक दलले पनि आफ्ना कार्यकर्ता—समर्थक पंक्तिलाई नियन्त्रण गरेको त परै छोडौँ, नियन्त्रण गर्ने प्रयाससम्म भएको पाइएन । बोलीवचन र सामाजिक सञ्जालहरूमा पोखिइरहेको आवेग र उत्तेजना प्रदेश सभामा गोड्से बन्ने हदसम्म पुग्यो । यद्यपि, अहिले त्यो विषयको एक प्रकारले टुंगो लागिसकेको छ तथापि, यतिसम्मको उत्तेजना लोकतन्त्रलाई सुहाउँदो विषय होइन । यति हुँदा पनि हाम्रो राजनीतिक नेतृत्व चेत्दैन भने कहिले चेत्ला ? 

हुनसक्छ, द्वन्द्व र अनमेलबाट लाभ लिन खोज्नेहरूको पनि यसमा सोही अनुसारको भूमिका होला । निरपेक्ष रूपमा भन्दा शान्ति, सद्भाव, मेलमिलाप सबैलाई आवश्यक होला, तर कसैको अशान्ति, दुर्भाव र अनमेलबाट लाभ लिन पर्नेहरूका लागि उस्तै किन हुन्थ्यो र ? यस्तो अवस्थाबाट मुलुकलाई माथि उठाउन अन्य सहायक विषयका अतिरिक्त शिक्षा र संस्कृतिमा जोड दिन आवश्यक देखिन्छ । धार्मिक, सांस्कृतिक पर्वहरू मनोरञ्जनका लागि मात्र सीमित पारिनु हुँदैन । संस्कृतिका अन्तर्वस्तुलाई शिक्षाको माध्यमबाट व्यावहारिक बनाउन सकिएको छैन । सांस्कृतिक पर्वहरूलाई तत्काल गरेर सकिने कर्मकाण्ड वा तात्कालिक आयोजनका रूपमा राखिँदा यसबाट पाउनुपर्ने लाभ पाइँदैन । 

बुद्ध जयन्ती आउँछ, शान्तिका गीत घन्किन्छ । बुद्धले राजसी विलास त्यागेर शान्तिको लागि कठोर तप गरेको कथा भनिन्छ, सुनाइन्छ । बुद्धलाई राष्ट्रिय पहिचान र गौरवको व्यक्तित्व भनिन्छ । उनका उपदेश र शिक्षालाई शान्ति र सद्भावको सर्वोपरि मान्ने संकल्प गरिन्छ र सारा संसारलाई बुद्ध र बुद्धभूमिबाट शिक्षा लिन चुनौतीपूर्ण आह्वान गरिन्छ । सारा नेपाल बुद्धमय हुन्छ । अहिंसा र शान्तिको प्रवचन, शान्तिदीप प्रज्वलन र स्वार्थी विलासी जीवनबाट माथि उठ्ने विषय पत्याउनैपर्ने गरी प्रस्तुत हुन्छ । 

रामनवमी आउँछ, रामकथा चल्छन् । दशरथको प्रतिज्ञा परायणताको बखान हुन्छ । दशरथजस्तो दृढप्रतिज्ञ राज्यनायकको गुणगान र आफ्नो छोरालाई राजपाट माग्ने स्वार्थी कैकेयीलाई सत्तोसराप गरिन्छ । पूरा राजगद्दी पाउँदा पनि रामको खराउलाई साक्षी राखेर निमित्त शासक बनेर १४ वर्ष पर्खेका भरतको कथा भावविभोर भएर सुन्ने सुनाउने काम गरिन्छ । पिताको आज्ञा शिरोपर गरी वन जाने राम र जति नै कष्टमा पनि साथ नछोड्ने सीता एवं पितामाता समान दाजु—भाउजुको सेवाका लागि सुखसयल छोडेर वन जाने लक्ष्मणको प्रशंसा पनि पूर्ण भावुकता साथ वाचन—श्रवण गरिन्छ । रामराज्यको सपना बिउँझाइन्छ । 

शिवरात्रिमा उस्तै । वैभवसम्पन्न पर्वतराजकी छोरी पार्वती र जातकुलको ठहर नै नभएका शिवको विवाह हुनु, संसारको हितको लागि शिवले कालकूट विषपान गरेर नीलकण्ठ हुनु, सिंह, साँढे, मयुर, मुसो र सर्प विपरीत वैरी जातिका वाहनलाई सँगै राख्नु, गर्मी र जंगलमा हुने ती प्राणीहरूलाई हिमालमै अभ्यस्त बनाएको दृश्यांकन गरिएको शिवकथाले उस्तै लठ्ठ पारिन्छ । मेलमिलाप, समन्वय र सहिष्णुताको अनुपम दर्शनको महिमा गायनले पूरा सामाजिक वातावरण शिवमय बनाइन्छ । 

ईदहरू आउँछन् । मोहम्मद पैगम्बरको त्याग र दयालुताको प्रेरणाको सम्मानमा घुँडा टेकेर नमाज पढिन्छ । वहाँको नाममा निर्जल, निराहार बसेर आत्मशुद्धिको अभ्यास गरिन्छ । आफ्नोभन्दा छिमेकी र अपेक्षीको भागमा गतिला उपहार ‘ईदी’ बाँडिन्छ । आपसमा गला मिलाइन्छ र विगतका सबै ‘गीला शिकवा’ बिर्सेको जाहेर गरिन्छ । देशका साना—ठूला सहरका व्यापारिक तथा सेवा स्थलहरूमा नक्कली भए पनि चुच्चे बिरुवा (क्रिसमस ट्री) बनाएर, अनेकौँ रंगीबिरंगी साजसजावट गरेर आफ्ना सहयोगी—अनुयायीहरूको हितका लागि जिउँदै क्रुसमा झुण्ड्याइएका जिससको सम्झना र सम्मानमा कार्यक्रमहरू हुन्छन् । 

अरु पनि कति कति । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, राग, द्वेष, ईष्र्याको अन्धकार हटाउन दीपावली, दीपदान र दीपोत्सव गरिन्छ । जालझेल र कपटको होलिका भष्म गरी सातै रंगले रँगिएर होली मिलन÷फागु मिलन गरिन्छ । प्रकृतिका सारा जीवलाई सम्बोधन गर्ने गरी ल्होसारहरू मनाइन्छ । सम्मान र कृतज्ञका अनकौँ पर्वहरू मनाइन्छ । विश्वकर्मा पूजा गरेर कला र श्रमप्रतिको सम्मानको प्रतिबद्धता व्यक्त गरिन्छ । गुरूपूर्णिमा र श्राद्धहरू महिमामय तिथिहरू मनाइएको हुन्छ । 

भेदभाव उन्मूलन, अधिकार प्राप्ति, स्वास्थ्य, अन्य सचेतना, भ्रष्टाचार अन्त्य, बालबालिका, ज्येष्ठ नागरिक सम्मान, वातावरणीय स्वच्छता आदिका लागि सयौँ राष्ट्रिय, अन्तर्राष्ट्रिय, विश्व दिवसहरू मनाइन्छ । यी सबै हाम्रा संस्कृति विकासका आधार र माध्यम हुन् । तर, के यिनले हाम्रो सामाजिक जीवनलाई त्यस अनुसार बनाएका छन् ? हामी यिनैमा बाँडिन्छौँ, बाँडिएका छौँ । यी सबैलाई वास्तवमा आडम्बरका विषयजस्ता बनाइएका छन् । यिनलाई स्वीकार गरेर, यीप्रति विश्वास गरेर मात्र सांस्कृतिक रूपान्तरण सम्भव छ । जाति, धर्म, वर्ण, वर्ग, लिंग, क्षेत्र, मूल्य—मान्यतालाई सधै वहसको, अविश्वासको विषय बनाउँछौँ । यस्तो विविधता त हाम्रो सामाजिक तथा राष्ट्रिय विशेषता हुन् नि ! हाम्रो आस्था, सम्मान, अभ्यास, संस्कृतिका पक्ष यिनै हुन् । देशबाहिर जाँदा यिनै विविधताको बखान गर्छौँ, भित्र काटोछिँदो गर्दछौँ । एकले अर्कोलाई सके निषेध गर्ने, नसके कमजोर बनाउने ध्याउन्नमा लाग्दछौँ । यो त आफैले आफैलाई ढाँटेको भएन र ? अझ उल्टै परम्परा र संस्कृतिलाई दोष दिन्छौँ । 

राजनीतिक नेता र नेतृत्व जब सत्ता र शक्तिमा हुन्छ, तब ‘सकारात्मक सोच’को माग गर्दछ । उही शक्ति जब विपक्ष—प्रतिपक्षमा हुन्छ, नाकैसामु ठडिएको धरहरा पनि देख्दैन, कचना कवलको ईनारको गँड्यौला देख्न पुग्छ । आपूmले सोचेको मात्र कामलाई उपलब्धि ठान्दछ र अर्काले गरिसकेको काम पनि देख्दैन । यस्तो व्यवहार देखिभोगिरहेको नयाँ पुस्ता कहाँबाट के देखेर प्रेरित हुने होला ? यस्तो राजनीतिक संस्कारले स्वयं राजनीतिप्रति नै मानिसहरूमा वितृष्णा पैदा गर्दछ, र गरिरहेकै छ । 

सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा ध्यान दिनु राम्रो हो । यसबाट जनताले भौतिक सहजता र सुविधा प्राप्त गर्न सकिन्छ । सरकारले कारागारतिर पनि ध्यान दिएको छ । यसबाट कसूर प्रमाणित भएका धेरै कसूरदारहरू कारावासमा जाकिने छन् । कारागारहरूको स्तर तथा क्षमता वृद्धिबाट कैदीबन्दीहरूले मानवोचित बसोवासको सुविधा प्राप्त गरी कैद भुक्तानपछि समाज र राज्यप्रति वफादार रहने विश्वास गर्न सकिन्छ । किसोरी—युवतीहरूमाथि एसिड छ्याप्नेहरूका विरुद्ध कडा सजायको कानुन ल्याउनु राम्रो हो । बलात्कारीहरूलाई हदै सम्मको कडा कार्वाहीको कानुन बनाउनु राम्रो हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउने विषयले भ्रष्टाचारीहरूमाथि कडा कार्वाही हुनेछ । भ्रष्टाचार, व्यभिचार, बलात्कार, एसिड प्रहार नहुने समाज बनाउन यिनै कानुन पर्याप्त छन् कि अरु केही गर्नुपर्ने हो ? जनता मनैदेखि खुसी हुन, कसूरहरू घट्न, अपराधका घटना कम भई कारागारमा कैदीबन्दीहरूको संख्या घट्न, संयमित, नैतिक, सदाचारी नागरिक निर्माण गर्ने विषयमा सरकारले तदनुसारको शिक्षादिक्षामा ध्यान दिन पर्ने हो नि । 

भविष्यका वकिल, म्यानेजर, लेखापरीक्षक, चिकित्सक, नेता, शिक्षक, कूटनीतिज्ञ, व्यापारी, उद्योगी, अन्य पेसा—जीविका गर्न योग्यहरूलाई सहिष्णु, सच्चरित्र, सदाचारी, कर्मनिष्ठ, परोपकारी, दयालु बनाउने केले हो ? लोकतान्त्रिक राजनीतिक व्यवस्था र प्रणाली, संविधान, कानुनहरू, यसका विशिष्ट संस्कृतिबारे बालबालिका, किसोर, युवाहरूलाई शिक्षा दिन पर्ने हो नि ! यसतर्फ पर्याप्त ध्यान दिएको देखिँदैन । मुद्दा लड्न वकिल र वैदेशिक रोजगारीमा बेचिन सक्ने जनशक्ति उत्पादन गरेर देश बन्दैन । 

अहिलेको तीन तहको सरकारको बजेट हेर्ने हो भने निकै ठूलो धनराशि मन्दिर, गुम्बा, मदरसामा लगानी भएको छ । यिनीहरूमा लगानी घटाउन पर्छ भन्ने मनसाय राख्नु हुँदैन । तर, कुनै पनि तहबाट राज्यको अर्थ लगानी हुने यी स्थलहरूबाट भएका लाभको मूल्यांकन गरिनु पर्दछ । यिनीहरूबाट सार्थक सांस्कृतिक जागरण, जातीय विभेद तथा छुवाछूत उन्मूलन, आध्यात्मिक चेतनाको विकास, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, मौलिकता संरक्षण तथा प्रवद्र्धन, शान्ति तथा सहिष्णुता विकास, मठ—मन्दिर, गुम्बा, मदरसा आदिको आवश्यकता अनुकूलको उत्पादन आदिमा प्रोत्साहन दिन र त्यसबाट समाजलाई लाभान्वित गर्न सकिनेतर्फ ध्यान दिन आवश्यक छ । जीवनोपयोगी शिक्षा तथा सार्थक र मौलिक संस्कृतिलाई महत्व दिएर गरिने विकासको परिणाम सुखदायी हुनेछ । 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ४१ बजे