सुनको मूल्यमा नयाँ कीर्तिमान

कञ्चनपुरमा घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता

कञ्चनपुर ।  कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । 

 राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ । 

एक हजार सात सय घर डुबान

दुई दिनदेखिको वर्षाका कारण कञ्चनपुरमा हालसम्म एक हजार सात सय ५० घर डुबानमा परेका छन् । आइतबार रातिदेखि भीमदत्त, वेदकोट, दोधारा चाँदनी र पुर्नवास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आइतबार राति बाढीमा फसेका ३९ जनाको उद्धार गरेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । जिल्लाभर डुबानमा परेकाको उद्धारका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ । “हालसम्म एक हजार सात सय ३८ जनालाई सुरक्षित स्थानमा लगिएको छ”, उहाँले भन्नुभयो। 

कञ्चनपुरका नौवटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन् । भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन् । 

त्यसैगरी आइतबार मध्यरातमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाँसी–दैजी खण्डको सुडा चोकमा बाढीले कल्भर्ट भत्काउँदा यातायात सेवा प्रभावित भएको छ । यहाँ अहिले वैकल्पिक सडक प्रयोग गरेर सवारीसाधन सञ्चालन भइरहेका छन् ।
    
दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकवरलगायत क्षेत्रमा महाकाली र जोडबुढा नदीको बाढी बस्तीमा पसेको छ । बाढी पीडित वडा कार्यालय, विद्यालय र आफन्तकहाँ आश्रय लिइरहेको प्रहरीले जनाएको छ ।

महाकालीको सतह बढेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए 

आइतबार राति महाकालीमा पानीको सतह  चार लाख क्युसेक नाघेको थियो । पानीको सतह अहिले घटेर दुई लाख ८८ हजार क्युसेक पुगेको छ । महाकालीमा पानीको सतह बढेपछि तीन दिनदेखि बनबासास्थित शारदा ब्यारेजका नेपालतर्फका २४ वटै ढोका खोलिएका छन् । महाकालीमा २०७८ कात्तिकमा सबैभन्दा बढी पाँच लाख ४७ हजार क्युसेक पानी मापन गरिएको थियो । यहाँ तीन दिनदेखि पुलमा सवारीसाधन चलाउन रोक लगाइएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  २ : ०१ बजे