साफ यू–१७ च्याम्पियनसिप आजदेखि

इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियनले आगामी महिना कार्यभार सम्हाल्ने

तेहरान । इरानका मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्रको नवौं राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसदसमक्ष शपथ ग्रहण गर्नुहुने  इरानी सञ्चारमाध्यमले आइतबार जानकारी गराएको छ ।

“राष्ट्रपतिको शपथ ग्रहण समारोह अगस्ट ४ वा ५ मा हुनेछ,” संसदीय बोर्डका सदस्य मोजताबा योसेफीलाई उद्धृत गर्दै आधिकारिक इर्ना समाचार एजेन्सीले जनाएको छ । 

“राष्ट्रपतिले आफ्ना प्रस्तावित मन्त्रीहरूलाई विश्वासको मतका लागि संसदमा पेस गर्न १५ दिनको समय प्राप्त गर्नुहुनेछ ।” 

नवनिर्वाचित राष्ट्रपतिले इस्लामिक गणतन्त्रका सर्वोच्च नेताद्वारा आधिकारिक अनुमोदन प्राप्त गरेपछि शपथ ग्रहण कार्यक्रम हुनेछ । 

इरानका राष्ट्रपति राज्यको प्रमुख होइनन् र राज्यको अन्तिम अधिकार सर्वोच्च नेतासँग रहन्छ । इरानका सर्वोच्च नेताको आयातोल्लाह अली खामेनीले विगत ३५ वर्षदेखि पदभार सम्हाल्दै आउनुभएको छ । 

मे महिनामा हेलिकप्टर दुर्घटनामा इब्राहिम रायसीको मृत्यु भएपछि राष्ट्रपति पदका लागि भएको दुई चरणको चुनावमा शुक्रबार पेजेस्कियनले जित हासिल गर्नुभएको हो ।  

इरानी पत्रपत्रिकाले आइतबार पहिलो पृष्ठमा पेजेस्कियनको फोटोहरू प्रकाशित गरेर नवनिर्वाचित राष्ट्रपतिको नेतृत्वमा ऐक्यबद्धता जनाउन आह्वान गरेका छन् । 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : २२ बजे