सुनको मूल्यमा नयाँ कीर्तिमान

तनहुँमा पहिरामा परी तीन बेपत्ता

दमौली।  शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा परेर आज तीनजना बेपत्ता भएका छन् । 

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उहाँले बताउनुभयो । 

ढुङ्गा लागेर एकको मृत्यु

ऋषिङ गाउँपालिका–१ झापुटारमा ढुङ्गा लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ मालिङ्गाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ढुङ्गा खस्दा टाउको र पेटमा चोट लागी घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ८ : ०१ बजे