मधेशमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजीनामा दिन आग्रह गरिएको र राजीनामा दिन नमानेपछि सबैलाई बर्खास्त गरिएको बताउनुभयो ।

मधेश सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री, नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्रीलाई बर्खास्त गरिएको हो ।

केन्द्रमा संसदका दुई ठूला दल कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति भएसँगै प्रदेश सरकारहरुमासमेत त्यसको बाछिटा पर्न थालेको छ । यसअघि एमालेले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  २ : १९ बजे