सुनको मूल्यमा नयाँ कीर्तिमान

मुगु, जुम्ला र हुम्लाकाे हवाई उडान अवरुद्ध 

मुगु । हिमाली जिल्लाहरू  मुगु, जुम्ला र हुम्लामा वर्षाको कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध  हुन पुगेको छ । एक साताअघिदेखि निरन्तर वर्षा भइरहेको  मुगु , जुम्ला र हुम्लामा उडान  अवरुद्ध  हुँदा यात्रुहरू मर्कामा परेका छन् ।

तीन दिनदेखि  हवाईजहाजको प्रतीक्षामा रहनुभएका पत्रकार हरीकृष्ण ऐडी  जहाज नआउने बुझे पछि जोखिम मोलेर भएपनि  गाडीमा  काठमाडौँ  जानु परेको बताउनु हुन्छ ।  

 निरन्तरको वर्षाले चार दिनदेखि नेपालगन्जबाट हवाई उडान नभएको रारा  नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताउनु भयो । उहाँका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगन्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिनु पर्ने अवस्था उत्पन्न भएको छ । शनिवार पनि मौसम बिग्रेका कारण उडान हुने सम्भावना न्यून रहेको  उहाँले बताउनुभयो । मौसम सफा नभएसम्म हवाई उडान हुन नसक्ने  रिजालले जानकारी दिनुभयो । 

हवाई सेवा अवरुद्ध भएपछि यात्रुहरू जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी गराउनुभयाे ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ८ : ५६ बजे