प्रचण्डको ‘दूत’ बनेर माओवादी नेतृ भुसाल दिल्लीमा

काठमाडौँ।  नेपालमा  सरकार परिवर्तनको सरगर्मी चलेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालको दूत बनेर माओवादी नेतृ पम्फा भुसाल नयाँ दिल्ली भ्रमणमा पुग्नु भएको छ। उच्च स्रोतका अनुसार दुई दिन अघि नै उहाँ दिल्ली पुग्नु भएको हो । भुसाल भोलि स्वदेश फर्कने बुझिएको छ। पूर्व मन्त्रीसमेत रहेकी भुसालको साथमा एक विवादास्पद व्यापारीसमेत गएको बताइएको छ। 

नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको एजेन्डासहित एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न प्रधानमन्त्री पुष्पकमल  दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरे पनि दाहालले राजीनामाको सङ्केत दिनुभएको छैन। उहाँ राजीनामा नदिने अडानमा रहनुको पछाडि नेतृ भुसालको दिल्ली भ्रमणलाई  समेत हेरिएको छ। एमाले र काँग्रेसले राजीनामा दिन प्रधानमन्त्री दाहाललाई औपचारिक आग्रह नै गरिसकेका छन् । माओवादी केन्द्रले पनि औपचारिक निर्णय गर्दै राजीनामा नदिने र विश्वासको मतको सामना गर्ने  अडानलाई पनि दिल्ली भ्रमणसँगै जोडिएको छ। 

बुधवार एमालेका मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यो घटना पछि सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका चार मन्त्री राजीनामा दिन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बालुवाटारमा प्रधानमन्त्री दाहालले उप प्रधान तथा गृहमन्त्री रबी लामिछानेसँग मन्त्रणा गरेपछि राजीनामा नगरी रास्वपाको टोली फर्किएको थियो। दिल्ली भ्रमणमा रहनु भएकी नेतृ भुसाल बिभिन्न स्तरको भेटघाटमा व्यस्त रहेको बताइएको छ। 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  २ : ३२ बजे