साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आज बेलायतमा आम निर्वाचन हुँदै, विपक्षी लेबर पार्टी सत्तामा फर्किने आँकलन

काठमाडौं । संयुक्त अधिराज्य बेलायतमा आज आम निर्वाचन हुँदै छ । निर्वाचनमा मुख्यरुपमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने आँकलन गरिएको छ । मतदान बिहान ७ बजेदेखि राति १० बजेसम्म हुनेछ ।

बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किङ्डमका सबै भागहरूमा एकै पटक निर्वाचन हुन लागेको हो । १८ वर्ष भन्दा माथिका नागरिकले सांसद चयन गर्न मतदान गर्न लागेका हुन् । निर्वाचनले ६५० सांसद चयन गर्ने छ । निर्वाचित सांसदको कार्यकाल ५ वर्षको हुनेछ ।

बेलायतको यो निर्वाचनमा जम्मा ३९२ दल दर्ता भएका छन् । तर, मुख्य प्रतिस्पर्धा ऋषि सुनकको कन्जरभेटिभ र प्रमुख विपक्षी नेता केयर स्टारमरको लेबर पार्टीबीच छ । निर्वाचनअघि गरिएको सर्वेक्षणले संसदमा लेबर पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरेको छ । यदि सर्वेक्षण सही साबित भयो भने कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त हुनेछ र बेलायतमा शुक्रबार बिहान १४ वर्षमा पहिलो पटक लेबर पार्टीले देशको जिम्मेवारी लिनेछन् ।

सर्वेक्षण अनुसारको परिणाम आए बेलायतमा १४ वर्षपछि पहिलो पटक लेबर पार्टी नेतृत्वमा फर्किनेछ । बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएको छ । यद्यपि, यी वर्षहरू राजनीतिक र आर्थिक परिप्रेक्ष्यमा उथलपुथलले भरिएका छन् र पछिल्लो आठ वर्षमा बेलायतमा पाँच कन्जरभेटिभ प्रधानमन्त्री बनेका छन् । २०२० मा केयर स्टारर लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए । तर स्टारमर अध्यक्ष बनेपछि पार्टीले ८५ वर्षमा सबैभन्दा नराम्रो हार बेहोरेको थियो । उनले तत्कालै पार्टीलाई पुनः विजयी बनाउने आफ्नो मिशन घोषणा गरे । लेबर पार्टीलाई बेलायती राजनीतिको केन्द्रमा फर्काउने र मतदातालाई फराकिलो अपील गर्ने स्टारमरको प्रयास सफल भएको देखिन्छ । अब चार वर्षपछि ६१ वर्षीय स्टारमरले बेलायतको शीर्ष पदमा कब्जा गर्न सक्ने सर्वेक्षणले देखाएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ९ : ४५ बजे