सुनको मूल्यमा नयाँ कीर्तिमान

रविलाई महामन्त्री ढकालको प्रश्न- बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा सभापति रवि लामिछानेलाई बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन्  । 

सो प्रस्ताव केन्द्रीय समितिमा सभापति लामिछानेले पेश गर्न नदिएको आरोप उनले लगाएका छन् । साथै उनले सभापतिले बोलेका कुराहरुको रेकर्ड राख्न उपसमिति गठन गर्न समेत माग गरेका छन् । उनले सभापतिले बोलेका कुराहरुको अभिलेख राखेर जवाफ माग्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्- 

सभापतिज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिनपर्यो । राजनीतिमा आएपछी बोलेका सबै कुराहरू यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलीहरूको अभिलेखीकरणका लागी । अरूले बोलेका कुराहरू मलाई मतलब छैन, मलाई तपाईंले बोलेका कुराहरू मतलब छन् । हिजो किन बोल्नु भयो ? बोलेका कुराहरू कहिले पूरा गर्नुहन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछि मात्र बोल्नु होला ।

मेरो पक्षमा आज कति जना हुन्छन्, त्यो गौण छ । यो अङ्कको कुरो होइन ? लोकतान्त्रिक मूल्य र मान्यताका कुरा हुन् ? सत्यै र असत्यको कुरा हो । देउवा , ओली र प्रचण्डको पक्षमा पनि शत प्रतिशत मत होला । उनीहरूका गल्ती देखाउनेको पक्षमा ती पार्टीभित्र कोही छैनन् होला तर कति सही छन् त सभापति ज्यू ? प्रश्न आउला, हाम्रा सभापतिलाई देउवा, ओली र प्रचण्डसँग कम्पेयर गर्ने ? कम्पेयर गरेर राम्रा हाम्रै सभापति भनौँला तर सभापतिको ती नेतासँग फोटाहरू निरन्तर आइराखेका छन्, त्यो पनि सँगै । सभापतिलाई देउवा, ओली र प्रचण्डसँग दाँजेर को कति ठिक को कता ठिक भन्ने बेला भइसक्यो ।

मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको , धेरैमाथि हुनपर्छ सभापतिज्यू , दाँजिने तहमा होइन । राजनेता बन्न पर्‍यो सभापतिज्यू, नेता मात्र बनेर पुगेन । तपाईंको गाडीको सिसा कालो भइसक्यो , सभापतिज्यू , समीक्षा गर्नुहोस् । सभापतिज्यू झिँगासँग उडियो भने ‘गू’मा पुगिन्छ । मौरीसँग उड्यो भने ‘मह’मा पुगिन्छ ।

मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको होकि त्यस्तो आभास हुन थालेको छ । मौरीसँग उडौँ, जनतालाई मह खवाऔँ ।

मेरा कुराहरू सुनेर सभापतिज्यू, केन्द्रीय सदस्य ज्यूहरू कोही पनि नरिसाउनु होला । सच्चिऔँ । मैले म चैँ नसच्चिने,तपाईंहरू मात्र सच्चिने भनेकै छैन । मैले खाली सच्चिनु अघि केही गल्तीहरू गरे होला । म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने । किन कि प्रश्न आइसक्यो ? सच्चिने कि …. ? भो अर्को शब्द नबोलौँ होला । फेरी साथीहरूलाई लाग्न सक्छ, सभापति सक्किने भन्ने तँ को हो ? पार्टी सक्किन्छ भन्ने तँ को हो ? मलाई चुप लगाउन सक्नुहोला, तर जनतालाई ? यी प्रश्न मेरा हुन् कि जनताका, आफैँ मूल्याङ्कन गर्नुहोस् न । 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : ५१ बजे