‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राजस्व लक्ष्यमा पुग्न सरकार असफल

काठमाडौं । चालु आर्थिक वर्षको राजस्व लक्ष्य हासिलमा सरकार असफल भएको छ । सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो । त्यसलाई  दुई पटक संशोधन गरेर १२ खर्ब ५३ अर्बमा झारे पनि असार १८ सम्ममा ९ खर्ब ५२ अर्ब रुपैयाँमात्र राजस्व असुली भएकाले संशोधित लक्ष्य पुग्ने सम्भावना कम भएको हो । वर्ष सकिन १२ दिनमात्र बाँकी हुँदा राजस्व असुलीले लक्ष्य भेट्न नसक्ने देखिएको छ । 
गत चार वर्षका तथ्यांक हेर्दा असारका पछिल्ला १५ दिनमा एक खर्ब रुपैयाँ हाराहारीमा राजस्व असुली हुँदै आएको थियो । यही हिसाबअनुसार अबका १२ दिनमा एक खर्ब बढी राजस्व असुली भए पनि ११ खर्बभन्दा बढी राजस्व असुली हुन सक्ने देखिदैन् । 
अर्थ मन्त्रालयका अनुसार आव २०७६–७७ मा असारको अन्तिम १५ दिनमा ९९ अर्ब रुपैयाँ राजस्व उठेको थियो । असार १५ सम्ममा ६ खर्ब ९४ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा असार मसान्तसम्म पुग्दा ७ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको थियो । 
यस्तै आव २०७७–७८ को असारका अन्तिम १५ दिनमा एक खर्ब ४ अर्ब रुपैयाँ राजस्व उठेको थियो भने आव २०७८–७९ मा ९७ अर्ब रुपैयाँ असुली भएको थियो । पछिल्ला चार वर्षमध्ये सबैभन्दा बढी आव २०७९–८० मा एक खर्ब १९ अर्ब रुपैयाँ राजस्व असुली भएको थियो । 
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक हेर्दा असारका पछिल्ला १५ दिनमध्ये पनि २५ असारपछिका ५ दिनमा बढी राजस्व उठेको देखिन्छ । गत आवमा पछिल्ला ५ दिनमा एक खर्ब रुपैयाँ राजस्व उठेको थियो ।
सरकारले चालु वर्षको बजेट ल्याउँदा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व असुली हुने अनुमान गरेको थियो । सरकारले वर्षका १२ महिनामध्ये पुस, चैत र असारमा सबैभन्दा बढी राजस्व संकलनको लक्ष्य राखेको हुन्छ । तर, सबै महिनालाई औसतबाट हेर्दा यो वर्षको लक्ष्य पूरा गर्न प्रतिमहिना एक खर्ब १८ अर्ब ५० करोड रुपैयाँका दरले राजस्व असुली हुनुपर्छ । अहिलेको असुली अवस्था भने निराशाजनक छ । असार १५ सम्ममा प्रतिमहिना राजस्व असुली औषतमा ८२ अर्ब रुपैयाँमात्र छ । अर्कोतिर अर्थ मन्त्रालयले वार्षिक लक्ष्यलाई दुई पटक संशोधन गरेर १२ खर्ब ५३ अर्ब रुपैयाँमा झारेको छ । यो लक्ष्य पुग्न पनि प्रतिमहिना एक खर्ब ४ अर्ब रुपैयाँ संकलन हुनुपर्छ । 
गत वर्ष असार १५ सम्ममा ८ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व असुली भएकोमा यो वर्ष असार १५ मा आइपुग्दा ९ खर्ब ४३ अर्ब पुगेको छ । यो एक खर्ब ५ अर्ब रुपैयाँ धेरै हो । राजस्व असुली यो वर्षमात्र कमजोर बनेको होइन । आव २०७८–७९ मा १० खर्ब ६७ अर्ब रुपैयाँ राजस्व उठेकामा गत आव २०७९–८० मा ९ खर्ब ५७ अर्बमात्र असुली भएको थियो । यो अघिल्लो आवको तुलनामा एक खर्ब १० अर्ब रुपैयाँ कम हो । यसअघिका आवहरुमा पनि क्रमशः ९ खर्ब ३८ अर्ब र ७ खर्ब ९३ अर्ब  रुपैयाँ राजस्व उठेको थियो । 
सरकारले राजस्व लक्ष्यअनुसार उठाउन नसकेपछि यसको सबै क्षेत्रमा प्रभाव परेको छ । अहिले राजस्व आम्दानीले चालु खर्च मात्र धानेको अवस्था छ । पुँजीगत बजेटका लागि सार्वजनिक ऋण लिनुपर्ने बाध्यता अहिले पनि हटेको छैन । 
 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : ४८ बजे