सुनको मूल्यमा नयाँ कीर्तिमान

‘अब पनि  संविधानको धारा ७६को २ अनुसारकै सरकार  बन्छ’

काठमाडौँ, १८ असार । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट हटेपछि नयाँ बन्ने सरकार संविधानको कुन धाराबाट बन्नेबारे चर्चा सुरु भएको छ । 

संविधानको सरकार निर्माण व्यवस्था धारा ७६ को उपधारा १ देखि ४ सम्म रहेको छ ।  प्रचण्ड सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको हो । अव बन्ने सरकार पनि संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै बन्ने संविधान विद् डा. विपिन अधिकारीले जानकारी दिनुभयो । 

“संविधानका सरकार बन्ने स्पष्ट व्यवस्था गरेको छ । जबसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिम बलियो र स्थिर सरकार बन्छ तबसम्म सोही धाराबाट नै नयाँ सरकार गठन हुन्छ” उहाँले भन्नुभयो, “अव बन्ने सरकार पनि संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै हुन्छ ।”

उहाँले नेपाली कांग्रेस पहिलो र नेकपा (एमाले) दोस्रो ठुलो दल भएकोले यी दुई दल बीच बनेको सरकार स्थिर र दीर्घकालीन बन्ने भएकोले संविधानको धारा ७२ को उपधारा दुई अनुसार नै बन्ने बताउनुभयो । 

“संविधानको धारा ७६ (२) अनुसार एक पटक सरकार बनेपछि अर्को पटक सोही धाराको उपधाराबाट सरकार बन्ने वातावरण बन्द हुँदैन” उहाँले भन्नुभयो, “ यदि मुलुकलाई स्थिर र  दीर्घकालीन सरकार गठन गर्ने सम्भावना भयो भने फेरि सोही धारा ७६ (२) अनुसार सरकार गठन हुने छ । संविधानमा सरकार बन्ने व्यवस्था जुन उपधाराबाट बन्दछ सोही उपधारा प्रयोग गर्न पाइन्छ ।”  

संविधानमा रहेको सरकार गठनको व्यवस्था धारा ७६ मा (१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ । (२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

 यस्तै (३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने व्यवस्था छ ।

 यस्तै (४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

काँग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने गए राती  समझदारी भएको छ । 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : १६ बजे