सुनको मूल्यमा नयाँ कीर्तिमान

नयाँ समीकरणबारे बालुवाटारले मुख खोल्यो 

काठमाडौं। उच्चस्तरीय राजनीतिक भेटघाट बाक्लिँदै गएपछि सरकार फेरबदलको आशङ्कालाई लिएर राजनीतिक सरगर्मी बढेको छ । असार १५ गते पूर्व प्रधानमन्त्री तथा  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सपत्नी  आरजु राणा सहित ओली निवास बाल्कोट पुगेपछि वर्तमान सरकारको आयुलाई लिएर अनेक अड्कलबाजी भइरहेका छन् । 

यही मेसोमा सोमबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वान टु वान वार्ता भएको तस्विरनै सार्बजनिक भयो। 

राजनीतिक वृत्तमा एमाले अध्यक्ष ओलीलाई कांग्रेस सभापति देउवाले भावी प्रधानमन्त्रीमा प्रस्ताव गरेको चर्चाकाबीच दाहाल  – ओली भेटवार्ता भएको हो । यसपछि त काठमाडौँको राजनीतिक  बजार यसरी तात्यो कि  एमाले मन्त्रीले आजै राजीनामा दिने सम्मका अड्कलबाजी बजारमा छ्यापछ्याप्ती भए । असारे १५ मा दही चिउरा खाँदै भएको ओली – देउवा भेटले प्रधानमन्त्री दाहाल निकै बेचैन भएको घटनाक्रमले देखाएको छ। यस अघि बालुवाटारमा दुइ नेताबीच हुनेगरेको  वार्ताको दृश्य बालुवाटारले  खासै सार्बजनिक गर्ने गरेको थिएन। तर सोमबार ओली – दाहाल सँगै भएको सन्देश दिनका लागि हुन सक्छ प्रधानमन्त्री दाहालका फोटो पत्रकार प्रदीपराज वान्तको वाइलाइनमा फोटो सार्बजनिक भयो। 

 एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने र दुई तिहाइको बलमा संविधान संशोधन गरी शासकीय स्वरूप र संघीयतका बारेमा समान धारणा बनाउने सम्मका विषयमा काँग्रेसको प्रस्ताव रहेको बुझिएको छ । 

 पार्टी अध्यक्ष ओलीका दुवै भेटप्रति एमालेले आधिकारिक धारणा सार्बजनिक गरेको छैन । यता प्रधानमन्त्री दाहाल  वर्तमान सत्ता साझेदारको प्रमुख घटक एमालेका अध्यक्ष ओलीबीच वर्तमान सरकारलाई नै सुदृढ बनाएर जाने  विषयमा  कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार  गोविन्द आचार्यले चक्रपथलाई बताउनुभयो। ‘वर्तमान सत्ता गठबन्धनलाई बलियो र सुदृढ बनाउने, त्यसका लागि जनमत लगायतका पार्टीलाई सरकारमा सहभागी गराउने, सरकारका कामलाई प्रभावकारी बनाउने, विषयमा छलफल भयो आचार्यले थप भन्नुभयो राष्ट्रिय मुद्धाहरुमा संवाद गरेर त्यसलाई फराकिलो बनाउने विषयमा समेत कुराकानी  भयो’ । 

सल्लाहकार आचार्यले वर्तमान सरकारलाई सुदृढ बनाउने सहमति भएको दाबी गरे पनि घटनाक्रम भने अन्योल छ किन भने सरकारमा जान खुट्टा तयार भएर  बस्नुभएकी   नागरिक उन्मुक्ति  पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलाई हटाएर गङ्गा चौधरीलाई  मङ्गलवार नै संसदीय दलको नेता बनाएको छ भने लालवीर चौधरीलाई प्रमुख सचेतक बनाइएको छ।  

जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जान उपप्रधान तथा परराष्ट्र मन्त्रीको  माग राखेपछि उहाँको शपथ रोकिएको थियो। राउतलाई परराष्ट्र दिँदा माओवादी उपाध्यक्ष तथा वर्तमान  परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको व्यवस्थापन पनि माओवादी भित्रै चुनौती  बनेको छ। 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : ०० बजे