‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैन: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक विधेयक संशोधनमार्फत आयकर ऐन २०५८ को दफा ५७ मा हेरफेर गर्न गरिएको प्रस्तावमा कुनै खोट नरहेको बताएका छन् ।

प्रतिनिधिसभामा दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले साना र स्टार्टअप व्यवसाय प्रवर्द्धनका लागि नयाँ व्यवस्था गरिएको बताएका हुन्। 

गत साता संसद बैठकमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि केही लचिलो नीति प्रस्ताव गरिएकाले लगानीकर्ताको मनोबल गिराउने अभिव्यक्ति नदिन सांसदहरूलाई आग्रह गरे।  

कम्पनीको स्वामित्व ५० प्रतिशत वा सोभन्दा बढीले परिवर्तन भएको अवस्थामा सम्बन्धित कम्पनीले आफ्नो सम्पत्ति तथा दायित्व निःसर्ग वा बिक्री गरेको मानिने उनको भनाइ छ ।

कम्पनीको स्वामित्व ५० प्रतिशतभन्दा बढी परिवर्तन भएको र पुराना सेयरधनी कायमै रहेको अवस्थामा नयाँ लगानीकर्तामार्फत् थप पुँजी लगानी गरी ५० प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तन भए पनि दफा ५७ आकर्षित नहुने व्यवस्था रहेको जानकारी दिए। 

‘आयकर ऐन २०५८ को दफा ५७ मा गरिएको संशोधनबारेमा कम्पनी ऐनको व्यवस्थामा कम्पनीको ५० प्रतिशतभन्दा बढी नियन्त्रण र परिवर्तन हुँदा कम्पनीलाई निःसर्ग अथवा बिक्रीसरह मान्नुपर्ने र सोहीअनुसार कम्पनीको दायित्व र सम्पत्तिको मूल्याङ्कन गरी आय भएमा कर तिर्नुपर्ने र नोक्सानी भएमा सार्न नपाउने व्यवस्था साविकको आयकर ऐन २०५८ को दफा ५७ मा रहेको थियो’, उनले भने, ‘लामो समयदेखि निजी क्षेत्रले यो दफाले लगानी आप्रवाहलाई निरुत्साहित गरेकाले संशोधन गर्नुपर्ने आवाज उठाउँदै आएको अवस्था थियो । चालू आर्थिक वर्षमा समेत निजी क्षेत्रका छाता संगठनबाट यो व्यवस्थामा संशोधन हुनुपर्ने सुझावहरु प्राप्त भए । खासगरी साना स्टार्टअप कम्पनीमा लगानी गर्ने भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डमार्फत आउने पूँजीलाई यसले निरुत्साहित गरेको छ भन्ने गुनासोहरु थिए ।’

सेयरको खरिद बिक्रीलाई नभई कम्पनीको सेयर वृद्धिलाई मात्र सहुलियत दिने उद्देश्यले ल्याइएको व्यवस्थाबारे शंका नगर्न आग्रह गरे। 

‘नयाँ साझेदारमात्र थपिन्छ र पूँजी वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा यो व्यवस्था गरिएको हो’, उनले भने, ‘यसरी शेयर खरिद-बिक्री हुँदैन र नयाँ साझेदार थप्ने पूँजी वृद्धि गर्नेमात्र कुरा हो । यसले खासगरी स्टार्टअपहरुलाई राम्रो गर्छ भन्ने सरकारको धारणा हो र यही स्पिरिटबाटै यो व्यवस्था विधेयकमा प्रस्तुत गरिएको छ ।’

मन्त्री पुनले कम्पनीको पुँजी वृद्धि गर्दा विभिन्न निकायहरूको अनुमति लिनैपर्ने व्यवस्था गरिएको जानकारी दिए।

‘खासगरी शेयर संरचना गर्दा नियामक निकायहरुको स्वीकृति लिनुपर्ने व्यवस्था छ । स्वीकृतिका लागि आन्तरिक राजस्व कार्यालयको राय मागिएको हुन्छ । यो सबै सन्दर्भमा संशोधित व्यवस्था कुनै दुरुपयोग हुने सम्भवना रहँदैन’, मन्त्री पुनले भने, ‘सम्बद्ध नियामक निकायसँग समेत समन्वय गरी आन्तरिक राजस्व कार्यालयको सहमति लिनुपर्ने हुन्छ, मैले यो कुरा सैद्धान्तिक छलफलका क्रममा पनि राखेको छु ।’

उनले विनियोजनसँग सम्बन्धित कानुनहरूलाई वैज्ञानिक, पारदर्शी र लगानीमैत्री बनाउन आर्थिक विधेयकमा केही व्यवस्था थप एवं सामान्य परिवर्तन गर्न प्रस्ताव गरिएको बताए। 

फरक प्रसंगमा मन्त्री पुनले सरकारको पेट्राेलियम पदार्थको खपत कम गरी जलविद्युतसहित नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गरे ।

पेट्रोलियम पदार्थको प्रयोग निरुत्साहित गर्न यसै वर्षदेखि हरित करको सुरुवात गर्ने व्यवस्था गरिएको जानकारी उनले दिए । 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : ०३ बजे