सुनको मूल्यमा नयाँ कीर्तिमान

जबजले रेखाङ्कन गरेको कुराको चर्चा नहुँदा समाजको रूपान्तरणको प्रक्रिया बन्द : महासचिव पोखरेल 

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रलाई लोकतान्त्रिक ढङ्गबाट अगाडि बढाउन नसक्नु आजको सङ्कट भएको बताउनुभएको छ । 

ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज अखिल नेपाल महिला सङ्घले आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र जनताको बहुदलीय जनवाद (जबज) विषयक विचार गोष्ठीमा बोल्नुहुँदै  महासचिव  पोखरेलले वर्तमान सङ्कट लोकतन्त्रलाई लोकतान्त्रिक ढङ्गबाट अगाडि बढाउन नसक्दाको परिणाम भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “आजको सङ्कट लोकतन्त्रलाई लोकतान्त्रिक ढङ्गबाट अगाडि बढाउन नसक्दाको समस्या हो । अहिलेको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका लोकतन्त्रका मूल्यलाई प्रतिनिधित्व गराउन चुकेको छ ।” उहाँले जबजले शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसाथ गरेकोसमेत बताउनुभयो ।  

उहाँले नेपाली क्रान्ति मौलिक चरित्रको रहेको बताउनुभयो । महासचिव पोखरेलले २००७ देखि २०६२÷०६३ सम्म सबै आन्दोलनमा पुँजीपति र श्रमजीवी वर्ग सँगसँगै रहेको उल्लेख गर्दै  दुनियाँमा सम्पन्न भएको राजनीतिक क्रान्तिको चरित्रलाई नेपाली क्रान्तिले आत्मसाथ गरेको बताउनुभयो । 

समाज सामाजिक सञ्जालबाट लोकप्रियता हासिल गरेका मान्छे राजनीतिकमा आएर हामीले राजनीतिकलाई विकल्प दिन्छौ भन्ने भन्ने गलत निष्कर्ष समाजमा स्थापित गर्न खोजिएको भन्दै भन्नुभयो, “ यो दुनियाँमा असफल भइसकेको प्रयोगलाई नेपाली राजनीतिकमा पपुलिजमको नाममा प्रयोग गर्न खोजिँदै छ । त्यसले हाम्रो समाजलाई समस्याग्रस्त बनाएको छ ।”

उहाँले आजको जवज अगाडि सारेका १४ विशेषतामध्ये ९ नम्बरको विशेषता ‘जनवादी व्यवस्थाको सुदृढीकरण’ विषय पढ्न आग्रह गर्दै उक्त विषयले आजको बाटो जबजको के–हो भनेर स्पष्ट पार्ने बताउनुभयो । “राजनीतिक क्रान्ति पछाडि समाजवाद पुग्न लामो समय लाग्न सक्दछ  । समाजवाद पुग्नका लागि विशेष अवधिबाट अगाडि बढ्नुपर्ने छ । हामीले क्रान्तिबाट समाजवाद निर्माण गर्ने कुरा गरेका छैनौ । समाजवाद शान्तिपूर्ण र वैधानिक तरिकाबाट पुग्ने हो” उहाँले भन्नुभयो, “हामी फटाफट समाज बदल्ने बाटोमा जाँदैनौ र जान सक्दैनौ । जाँदा क्रान्ति परिवर्तन र सामाजिक परिवर्तनसँगै जान सकेन भने प्रतिक्रान्ति हुन्छ ।”

महासचिव पोखरेलले जबजले पहिलो देखाएको बाटो पछाडि परेका वर्ग र क्षेत्र पक्षको बाटो रहेको स्पष्ट पार्नुभयो ।  उहाँले जबजले रेखाङ्कन गरेको कुरालाई कम चर्चा गर्दा समाजको रूपान्तरणको प्रक्रिया बन्द भएको उहाँको भनाई रहेको छ । 

“आर्थिक हिसाबले हामीले नयाँ उत्पादनलाई सुदृढ गर्नका लागि आर्थिक, सामाजिक र सांस्कृतिकको रूपमा विकास गर्न सकेनौ भने अहिलेको उत्पादन सम्बन्ध लामो समयसम्म टिक्दैन । त्यसपछि प्रतिगामी हुन्छ । ठिक त्यस्तै नेपाली राजनीतिकमा पनि देखिएको छ । २००७ सालपछि २०१७ साल, २०४६ सालपछि २०५९ सालको रूपमा जुन खालको प्रतिक्रान्ति भयो त्यस्तै खतरा राजनीतिकमा रहिरहन्छ,” उहाँले भन्नुभयो ।  

उहाँले राजनीति परिवर्तनले मात्र हुँदैन परिवर्तनले निर्माण गरेको उत्पादन सम्बन्धलाई बलियो बनाउने काम महत्त्वपूर्ण काम हो भनेर जबजले भन्ने गरेको बताउनुभयो । 

उहाँले नेपाली राजनीतिक दलभित्र बलिया स्पष्ट दिशानिर्देश गर्ने राजनीतिक दल नेपाली समाजका रूपान्तरणका लागि जरुरी रहेको बताउनुभयो । जति धेरै राजनीतिक दल भयो । त्यति धेरै विचलनको जोखिम हुन्छ । अहिले संयुक्त सरकार बनेका छन् । यी सरकार समाज रूपान्तरणका लागि प्रभावकारी हुन सक्दैन ।”

उहाँले जबजले नीतिगत नेतृत्व चयन गर्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै मदन भण्डारी फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जबजले समाजमा रहेका बेतिथिलाई समाधान गर्दै समाजलाई समानतामा आधारित बनाउने भूमिका खेल्ने बताउनुभयो । “जबजले सुखी र समृद्ध समाज बनाउने गर्दछ । तर जबजको बारेमा भ्रमपूर्ण कुरा पनि भइरहेको पाइन्छ  । कतिपय मानिसले जबजलाई लोकतन्त्र अभ्यासमा भएको पुँजीवादीलाई पनि भन्ने गरेका छन् । तर जबजका विभिन्न आयाम छन्, त्यसलाई बुझ्नुपर्दछ,” उहाँले भन्नुभयो । 

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ४२ बजे